प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
सारांश
- सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनका लागि ५,८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
- मतदाता नामावली सङ्कलन अभियानमा पुरुषको संख्या ३,३९० र महिलाको संख्या २,४२७ रहेको छ।
- फागुन २१ गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।
सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो ।
नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उनको भनाइ थियो ।
कार्यालयको तथ्यांङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिए । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उनले बताए ।
जिल्लाको यस तथ्याङ्क केही थप हुने उनले बताए । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर्नका लागि पनि निवेदन परेको निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्दकुमार झाको भनाइ छ । राष्ट्रिय परिचयपत्रबाट प्राप्त निवेदन अबको केही दिनपछि स्वीकृत गरिने उनले बताए ।
मतदाता नामावलीमा दर्ता भएकामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरुप आयोगले मतदाता नामावली सङ्कलन र विवरण अद्यावधिक गरेको हो ।
फागुन २१ गतेसम्म १८ वर्ष पूरा हुने तथा हाल १६ वर्ष पूरा भएर नागरिकता बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम सङ्कलन गराउन आयोगले आह्वान गरेको थियो । विवरण अद्यावधिकअन्तर्गत त्रुटि सच्याउने, ठाउँसारी गर्ने तथा दोहोरो नामावली हटाउन धेरै निवेदन परेको निर्वाचन कार्यालयले जनाएको छ ।
आफैँले विवरण भरेर समय लिएर आउने सेवाग्राहीले दुई मिनेटदेखि बढीमा ३० मिनेटसम्ममा सेवा पाएका निर्वाचन अधिकारी साहको भनाइ छ । धेरै भीड भएको समयमा काम गर्ने कर्मचारी थोरै हुँदा सेवा प्रवाहमा केही सामान्य कठिनाइ रहे पनि सहभागी सबैले सेवा पाएका कार्यालय प्रमुख साहले दाबी गरे ।
कार्यालयसम्म आउन नसक्नेहरूले सेवा लिन नपाएको गुनासो गरेको भए पनि कार्यालयसम्म पुगेका कसैले त्यसै फर्कनु नपरेको उनको भनाइ छ । तर समय अभाव र अपायक परेका कारण जिल्लाका कुनाकन्दरामा रहेका नागरिकले सेवा दिन नपाएको गुनासो गरेका छन् ।
जिल्लाको चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफूले नाम दर्ता गराउन नपाएको गुनासो गरे । आफूजस्ता वयोवृद्ध नागरिकका लागि सरकारले घरमै पुगेर मतदाता नामावली सङ्कलनको सुविधा दिए आफूहरू पनि लावान्वित हुने उनको अपेक्षा छ । उमेर ढल्दै गएकाले यस जन्ममा आफ्नो मतदान गर्न नपाउने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ थियो ।
हाल पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा चार लाख ९५ हजार ८२१ जना मतदाता पुगेका कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण