बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस विवाद

गगन र विश्वप्रकाशले स्वीकारेनन् पुसमा महाधिवेशन कार्यतालिका ल्याउने प्रस्ताव

बिहीबार, ०४ मङ्सिर २०८२, १३ : ५२
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि बुझाइएका हस्ताक्षर थाँती राखेर पुस मसान्तमा पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्य अनिल रुँगटामार्फत् पुस मसान्तसम्ममा नियमित महाधिवेशन गर्नेगरी सहमतिको कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने प्रस्ताव महामन्त्रीलाई पठाएका थिए । 

त्यो प्रस्तावमा प्रतिक्रिया नदिएर सल्लाह गर्ने प्रतिक्रिया दिएका महामन्त्रीद्वय थापा र शर्मासँग त्यही प्रस्तावबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छलफल गरेका थिए । खड्कासँगको छलफलमा प्रस्तावभित्र तालिका मात्रै ल्याउने तर महाधिवेशन नगराउने नियत देखिएको भन्दै अस्वीकार गर्ने बताएको स्रोतले जानकारी दियो । 

संस्थापन पक्षले गत कात्तिक १९ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पेस गरेको पुस १६ देखि १९ गतेसम्मको तालिकालाई केही परिमार्जन गर्ने दोस्रो विकल्प पनि प्रस्तुत गरेको थियो । त्यो पनि उनीहरूले अस्वीकार गरेको स्रोत बताउँछ ।   

कार्यवाहक सभापति खड्कासँग बुधबार दिउँसो भएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन हुन नसक्ने भन्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको माग बमोजिम विशेष महाधिवेशनको निर्णय लिनुपर्ने बताएका थिए । 

कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सहमतिका लागि समय अभाव देखिएकाले बैठक सारिएको जानकारी दिए । ‘पार्टीमा महाधिवेशन कहिले गर्ने भन्नेमा मतैक्यता छैन । सहमति जुटाउने प्रयास भइरहेको छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘आज (बिहीबार) बैठक बस्दा समय अभाव हुने भयो । थप अनौपचारिक छलफलको आवश्यकता देखिएकाले सारिएको हो ।’

पुस मसान्तमा नियमित महाधिवेशन गर्ने कार्यवाहक सभापतिको प्रस्ताव महामन्त्रीद्वयले मान्नुभएन भन्ने कुरा आएको छ नि भन्ने रातोपार्टीको प्रश्नमा विश्वकर्माले भने, ‘पुसको १६ देखि १९ गतेसम्म महाधिवेशनको कार्यतालिका त महामन्त्रीज्यूले केन्द्रीय समिति बैठकमै प्रस्तुत गर्नुभएको छ । दुई-चार दिन तलमाथि त नमान्ने भन्ने कुरै हुन्न नि ।’
‘उहाँहरूको कुरा त्यही आयो’ भन्ने थप प्रश्नमा विश्वकर्माले भने, ‘त्यो त अनौठो भयो ।’

यता महामन्त्रीहरूको पक्षले भने विभिन्न सर्त राखेर कार्यतालिका ल्याउने प्रस्ताव गर्नु महाधिवेशन गराउने नियत नभएको बताएको छ । महामन्त्री निकट स्रोतका अनुसार संस्थापनले पुस मसान्तमा सकिनेगरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउँदा विशेष महाधिवेशनका लागि दर्ता भएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन फिर्ता लिनुपर्ने, निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन गर्न बन्ने समितिको संयोजक र बहुमत सदस्यहरू संस्थापन पक्षबाट हुनुपर्ने, क्रियाशील सदस्यता वितरण समितिमा सदस्य थप्नुपर्ने सर्त राखेको छ । 

महामन्त्री थापा निकट केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गरिने तर त्यो मितिमा नियमित महाधिवेशन भएन भने विशेष गर्नुपर्ने आफूहरूको धारणा रहेको बताए । विशेष महाधिवेशनका लागि भन्दै बुझाइएका हस्ताक्षर फिर्ता लिन नसकिने उनको भनाइ छ । 

‘पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सकिन्छ । तर त्यो मितिमा नियमित महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,’ रसाइलीले रातोपाटीसँग भने, ‘विशेष महाधिवेशनका लागि भन्दै गरिएका हस्ताक्षर फिर्ता लिन सकिँदैन । उहाँहरू (संस्थापन) ले फिर्ता लिनुपर्छ भनेपछि कुरा नमिलेको हो । मिलाउने प्रयास जारी छ ।’

रसाइलीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग विधानले तोकेको समयमै पूरा गर्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको र त्यसलाई तलमाथि गर्ने प्रस्ताव मान्न नसकिने उनले बताए । 

२०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिर मसान्तभित्र सकिँदैछ । कार्यकाल सकिने मितिभित्र महाधिवेशन गर्ने कि केन्द्रीय कार्यसमितिले म्याद थपेर महाधिवेशन पछि सार्ने भन्ने विवादले गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक निष्कर्षविहीन बन्दै आएको छ । त्यति मात्र होइन, कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा जाने कि नजाने भन्ने संस्थागत निर्णय पनि केन्द्रीय कार्यसमिति बैठकबाट गरेको छैन । 

केन्द्रीय कार्यसमितिको बैठकमा कात्तिक २७ गते सदस्य र पदाधिकारीले बोल्ने समय सकिएको थियो । तर महाधिवेशन कहिले गर्ने भन्ने विवादले त्यसपछि चार पटक सूचना टाँसेर स्थगित गरिएको छ । एक सातासम्म भएको प्रयासले समाधान निकाल्न नसकेपछि बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शनिबारसम्म सारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप