बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा प्रचण्डको सन्देश

शुक्रबार, ०५ मङ्सिर २०८२, १२ : ००
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • प्रचण्डले विस्तृत शान्ति सम्झौताको मूल मर्मबारे धारणा राखेका छन्, जसमा समानतामूलक गणतन्त्रको स्थापनाको कुरा छ।
  • शान्ति सम्झौताको १९ वर्ष पूरा भएको अवसरमा, प्रचण्डले युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न शासकीय प्रणाली परिमार्जनको कुरा गरे।
  • प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै, बाँकी कार्यभार पूरा गर्न प्रतिबद्धता जनाए।

काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् ।

शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको अवसरमा प्रचण्डले शुक्रबार एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् । अहिले ‘जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेको प्रचण्डको दाबी छ ।  ‘शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकाङ्क्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ’, प्रचण्डको सन्देशमा भनिएको छ ।

शान्ति सम्झौतामा तत्कालीन सरकार प्रमुखका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्ध पक्षधर माओवादीका तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । प्रचण्डले जारी गरेको सन्देशमा शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता मध्येका कोइरालालाई स्मरण र विशेष सम्मान व्यक्त गरेका छन् ।

नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन,आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन’, प्रचण्डको सन्देशमा भनिएको छ, ‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्याउनुहुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’

प्रचण्डले आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपिल गर्दछु’, प्रचण्डले भनेका छन् ।

586338330_1359073095583083_854002613180555168_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप