‘गुड अर्थ’ : माटोको सुगन्धमा लुटपुटिएको उपन्यास
सारांश
- यो लेख 'कल्याणी धरती' उपन्यासमा आधारित छ, जसले मानिसको जीवन र माटोसँगको सम्बन्धलाई दर्शाउँछ।
- उपन्यासमा वाङलुङको कथा छ, जो गरिबीबाट धनवान बन्छ तर ओलानलाई बेवास्ता गर्छ, जसले गर्दा ऊ बैगुनी साबित हुन्छ।
- लेखकले सम्पन्नताभन्दा विचार र व्यवहारलाई महत्त्व दिँदै, माटोको महत्त्व र जीवनको गहिराइलाई उजागर गरेका छन्।
संसारमा एउटा यस्तो घगडान दौड प्रतियोगिता छ । त्यो चाहे विचार होस् या वर्ग निर्माणको । म ठोकेरै भन्न सक्छु तपाईं, चाहेर वा नचाहेरै पनि त्यो दौडमा सहभागी हुनुहुनेछ । त्यसका लागि केही प्रावधान छैन । बस् एउटा प्राकृत सर्त तपाईंको अस्तित्वले कुनै मान्छे प्रजातिकै कोखबाट जन्म लिए पुग्छ । एउटा मामुली प्राणीको अस्थित्व यो धरतीमा नअस्ताउन्जेलसम्म उ सर्वश्रेष्ठ मान्छे कहलाउने अविश्रान्त यात्रा ठिक त्यही बिन्दुबाट सुरु हुनेछ ।
भर्खरै ‘गुड अर्थ’ को नेपाली अनुवाद ‘कल्याणी धरती’ उपन्यास पढी सकेर यो आलेख लेख्न बसेको यस मामुली प्राणीलाई एउटा आत्मबोधी प्रश्न छ । यो धरतीको सर्वश्रेष्ठ मान्छे को हो हँ ? जो सँग पैसा छ, जमिन छ ? हो, भौतिक दुनियाँमा सत्य यही हो ।
माथिको वैकल्पिक उत्तरसहितको प्रश्न पढेर यहाँले भन्न सक्नुहुनेछ मुर्दारले कस्तो बकम्फुसे कुरो पो ग¥यो । आखिर कुरो एउटै त हो । जमिन र पैसामा के फरक भयो त ?
तपाईंको कुरो पनि विल्कुल सहि हो । तर प्राप्ति पश्चात् हरेक कुराको मूल्य घट्छ । त्यसैले त्यो केही होइन चाहे जमिन होस् वा पैसा । सयौँ हेक्टर जमिन, प्रशस्त गाडधन अनि माया गर्ने ओलान जस्ती श्रीमती हुँदा पनि वाङलाई दोस्रो श्रीमती र हुदाँहुदै भोगविलासका लागि छोरी समान नासपती फूललाई रखौटी नराखी कहाँ पुगेको थियो र ?
कुरो के भने सम्पन्नता भौतिक सम्पत्ति जोडजम गर्नुमा हुन्छ भने सर्वश्रेष्ठता विचार र व्यवहारमा । त्यसैले म भन्छु यस उपन्यास भित्रको वाङ भन्ने पात्र बैगुनी हो । उ जस्तो बैगुनीबाट सावधान हुनुस् बरु सोझी ओलनप्रति अगाध सहानुभूति दर्शाउनुस् । किनभने त्यही मनासिब होला ।
हुन त मान्छे भन्ने जिनिस हुन्छ नै मुला । आज यो प्रजातिले आफू वरिपरि जे–जति मान्न मिल्ने गौरवशाली सभ्यताको विकास गरेको छ, त्यत्तिकै हिसाबमा गति पनि छाडेको छ ।
मानिलिनुहोस् कुनै दिन यो आकाशबाट सदाका लागि बादल हरायो, समुन्द्रभरिको पानी सुक्यो र धरतीमा एकाएक खडेरी परेर अनाज उत्पादन शून्य भयो भने के हुन्छ ? सुरुमा त यो प्रजातिले वनजंगलका गिट्ठा–भ्याकुर सखाप पार्ने पक्का छ । त्यसपछि जनावर र चराचुरुङ्गीहरू मारेर खान थाल्नेछ ।
त्यसपछि ?
त्यसपछि, आसपासका कमजोर मान्छेलाई पनि मारेर खान छोड्ने छैन । यो प्रजाति यसरी पनि आफ्नो अस्थित्व जोगाउन तल्लीन रहनेछ । भोलि यस किसिमको सङ्कटबाट नगुज्रिएला भन्न सकिँदैन ठानेरै हुनसक्छ, उसले आफूलाई घनघोर मांसाहारी बनाएको छ ।
यस बानीले उसलाई एकदिन जरुर एक्लो बनाउनेछ । त्यतिबेला के आफूले आफैलाई खान सम्भव छ ? निःसन्देह सम्भव छैन । त्यसपछि उसले जरुर माटो खान थाल्नेछ । र, माटोले उसलाई बचाउने छ । त्यसैले केही नभएका वा भएर सबथोक गुमाएका प्रत्येकले त्यस क्षण आफू उभिएको दुई पाइला जमिनमुनि हेर्नु र खोस्रिएर एक मुठ्ठी माटो हातमा लिनु ।
त्यसमा धड्किरहेको जरुर आफ्नै प्राण भेटिने छ । म ठोकुवा गरेर भन्छु हातमा लिएको एक मुठ्ठी आलोमाटोसँग जसको मुटु धड्किन्छ, उसको जीवनको जरा पनि जमिनसँग जोडिएको हुन्छ । नत्र जमिनको सहारा बिना वाङ्लुङको मृत्यु कल्पना गरेको जस्तो सम्भव थिएन ।
हामीले कल्याणी धरतीमा भेट्ने माटोसँग जोडिएको जीवन दर्शन यत्ति हो ।
नोबेल पुरस्कारबाट पुरस्कृत लेखक पर्ल बक लिखत उपन्यासको कथा सन् १९३० तिरको चिनियाँ समाज हो । जसमा बुढो बाबु र किसान वाङलुङको परिवार आफ्नो गुजारा चलाउन सङ्घर्षरत छ । ओलान, सहरको एक सम्पन्न ह्वाङ परिवारको घरमा काम गर्न बसेकी कथित ‘कमारी’ हो । उसलाई थाहा भएसम्म चरम अनिकालमा उसको बुबाले ह्वाङलाई केही सिक्कामा बेचेको हो ।
सुरुवाती उपन्यासको सुखद पक्ष के हो भने वाङलुङको जीवनको घाम ओलानसँगै उदाउँछ । पेटभरि खान मिल्ने उब्जाउन मिल्ने जमिन जोड्नु, साथमा माया गर्ने श्रीमती हुनु र सन्तानले डाँडाकाँडा ढाक्नु, यसरी जीवन ठिकठाक चलिरहनु नै देहातको समाजमा यो भन्दा आनन्दको कुरो अरू के होला र ।
ठिकठाक चलिरहेको उसको पारिवारिक जीवनमा कल्पना पनि गर्न नसकिने परिस्थिति आउँछ । गाउँमा अनिकालको हाहाकार मच्चिन्छ । सम्पन्न हुँदै गरेको वाङको भकारी रित्तिन्छ । नाङ्गो जमिनले रातदिन आकाश हेरेर बादल पर्खिरहेको हुन्छ । जग्गा जमिन नछोड्ने सङ्कल्प गरेको वाङलुङले जब सहरका जनावरहरू जति खाइसकेको हल्ला सुन्छ ।
अन्त्यमा प्राण राख्न ओलानले बच्चाहरुलाई खेतको कमलो माटोको माड घोलेर खुवाउँछे । आफ्नै जोत्ने गोरु पनि मारेर खाइसकेपछि एकदिन हतोत्साहित वाङलुङलाई बुढो बाबुले भन्छन्, ‘यो भन्दा अझ डरलाग्दा दिन बितेका छन् । एकपल्ट मैले लोग्नेले स्वास्नी र स्वास्नीमान्छेहरुले आफ्ना नानीहरू मारेर खाएको पनि देखेको छु । पहिले पनि यस्तो अनिकालमा दक्षिण तिर आएकै हो, चिन्ता नगर सब ठिक हुन्छ ।’
त्यसपछि सम्पूर्ण परिवार आफ्नो झिटी–गुन्टा समेटेर दक्षिण तिरको सहरमा पलायन हुन्छ । वाङलुङ सहरमा रिक्सा कुदाउँछ । सार्वजनिक भोजनालयको लाइनमा खाना पर्खिन्छ । छोराछोरीलाई भिख माग्न लगाउँछ । वाङ जस्तो महत्वकांक्षाले भरिपूर्ण मान्छेको जीवनमा यो भन्दा संकट अरू के हुनसक्ला र ? प्रगतिपथोन्मुख वाङलुङको जिवनमा यो संकट नै उपन्यासमा पाठकका लागि कथामा त्यसपछि के होला ? भन्ने उत्कर्ष हो ।
जब सहरमा सामन्तहरू विरुद्ध सर्वहाराहरूले जङ्ग सुरु गर्छन् । आलिसान घरको पर्खाल भत्किन्छ । त्यहाँको धन आन्दोलनकारीको हातमा पर्छ । यसको सबैभन्दा मुनाफा दयनीय दिन गुजारिरहेको वाङलुङ परिवारलाई मिल्छ । त्यसपछि वाङलुङ परिवार बिउँ बिजन खेतीपातीको सर–सामानसँगै साथमा बलियो गोरुको पनि जोडजम गरेर गाउँ फर्किन्छ ।
प्रशस्त जमिन जोड्छ । तर त्यतिले उसको मन अघाउँदैन । भोगविलासका लागि खर्च गर्न सहरका चिया घर धाउँछ र दोस्रो श्रीमती भित्र्याउँछ । पहिले भन्दा उसको रवाफ बदलिन्छ । आखिर बदलिनु मान्छेको वर्गीय चरित्र हो । खासमा प्रगतिशील समाजको चिन्तन पनि यही हो ।
उसले जे–जति कुराहरू हासिल गर्छ । अहोरात्र जमिनमा खटिने ओलानको साथले गर्छ । तर जीवनभर ओलान प्रेमको भोकी, वाङलुङ सम्पत्तिको । उसको मन त्यतिले भरिँदैन मनग्गे सम्पत्ति जोरजम पारेपछि ओलानलाई बेवास्ता गर्छ । यसर्थ वाङलुङ बैगुनी छ ।
रेष्टुराकी रङ्गिन पिँजडा भित्र सजिएकी सुकुलखुट्टे चरी जस्ती प्रियसीलाई सम्झेर ओलानलाई वाङ भन्छ, ‘माटो जस्ती कालीले मोती किन लाउन परो ? मोती त गोरी राम्री आइमाईले लाउने हो । त्यो मोती मलाई देऊ, चाहिएको छ ।’
यसरी उसले ओलानबाट मोती खोसेर प्रियसीलाई दिन्छ । यो कुरा ओलानको मनमा खिल बनेर गाडिन्छ । जब कुनै दिन ओलानले आफ्नी लाटी छोरीलाई आफु नराम्री भएकाले श्रीमानको माया पाउन नसकेको कुरा भन्छे । यो कुरा वाङले सुन्छ र उसलाई ग्लानी हुन थाल्छ ।
आखिर बाहिरी रुपरङ्ग जस्तोसुकै होस तर मान्छे जीवनभर आत्मसम्मान चाहान्छ ।
यो कुरा कुनैबेला ह्वाङको घरमा सँगै रखौटी बसेकी सखीलाई लक्षित गर्दै भन्छ, ‘हो म नराम्री भए पनि मैले छोरा जन्माएँ । म कमारी भए पनि मेरो घरमा छोरो छ ।’ रूपले जतिसुकै राम्रो देखिने भएपनि गरिबले हुनेखानेकै घरमा नोकर बस्नुपर्ने हुन्छ । समाजमा गरिब हुनु र त्यसमाथि रुपरंगले हेपिएकाहरुको घरजम हुनु नै ठुलो कुरो लाग्छ स्वाभिमानी ओलानलाई ।
ओलानले माटोसँग पसिना साटेर फलाएको मोती माग्दा उसको जीवन बदल्ने माटोलाई बिर्सेर माटो जस्ती काली भन्दै खिसिउटी गरेर माटोको गुन भुल्ने वाङलुङ पात्र उपन्यासमा मुख्य नायकत्वको हिसाबले जतिसुकै मेहनत र इमान्दार होला तर लैङ्गिक दृष्टिविन्दुबाट घोर ‘बैगुनी’ पात्र हो ।
मान्छेले जति नै भूँई छोडोस् तर जमिनले कहिल्यै आकाश छुँदैन । कसैलाई भेदभाव नगरी आफ्नो धर्म निभाइ रहन्छ । कहिले काहीँ हामीले आफ्नो सिमापार गर्दा आउने विपत्ति प्राकृतिक कुरो हो ।
उपन्यासमा प्राचीन समयको परिवेश र विकासशील समाजमा एउटा उदीयमान शासक पारिवरको सामाजिक, राजनीतिक र सामाजिक सम्बन्धहरूको आयामलाई बिस्तारमा केलाइएको छ । भोग विलास र आकाङ्क्षाले वाङ परिवार पनि सहर पस्छ । तर पनि सहरले वाङलुङलाई चैनको मृत्यु दिँदैन ।
सहर केन्द्रीत परिवेशबाट उ अन्तिममा गाँउ नै फर्किन्छ । आफ्नो चिहान पनि पुर्खा गाडिएकै माटो नजिक रोज्छ । छोराहरूलाई जमिन नबेच्न आग्रह गर्छ । आखिर जतिसुकै मान्छेले देशदेशावर घुमोस् तर पुरिनलाई आफ्नै माटो खोज्छ प्राणले । र, आफ्नै माटो खोज्ने उपन्यासको कथ्यले हुरुक्कै बनाउँछ ।
जीवन र मृत्युसम्मको कुशल संरक्षक यो घर्ती नै हो । ‘गुड अर्थ’ भन्नुस् वा नेपालीमा अनूदित ‘कल्याणी धरती’ यो माटोको कथा हो । जीवनको कथा हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण