नेकपाको केन्द्रीय संयोजन समितिमा को–को हुँदैछन् सदस्य ?
सारांश
- नेकपाको केन्द्रीय कार्य संयोजन समिति सहमतिका आधारमा चयन हुने, जसमा पूर्व पदाधिकारीलाई राख्ने तयारी छ।
- समितिको आकार ३५ देखि ३९ सदस्यको हुने र जसपा (JSP) सँग एकता घोषणा भएपछि सबै समितिलाई पूर्णता दिइनेछ।
- प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपामा माओवादी र एकीकृत समाजवादीका नेताहरूको सहभागिता रहनेछ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समिति सहमतिका आधारमा चयन गरिने भएको छ । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम घटक मिलेर नेकपा गठन भएको थियो ।
त्यतिबेला संयुक्त राष्ट्रिय भेलाबाट संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल निर्वाचित भएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा एक सय ३८ जना केन्द्रीय कार्य समिति सदस्य मात्रको सूची पठाएको थियो । त्यसयता सबै समितिलाई पूर्णता दिन कार्यदल स्तरमा छलफल भइरहेको भएपनि निष्कर्षमा नपुगेको कार्यदल सदस्य रेखा शर्माले जानकारी दिइन् । जनता समाजवादी पार्टी (जसपा)सँग एकता घोषणा भएपछि सबै समितिलाई पूर्णता दिने शर्माले बताइन् ।
‘कार्यदलस्तरमा सबै समितिलाई पूर्णता दिने सम्बन्धमा छलफल भइरहेको छ । जसपासँग एकता घोषणा भएपछि पूर्णता दिनेछौँ । अहिले कुनै निष्कर्षमा पुगेको छैन । केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, सचिवालय र केन्द्रीय संयोजन समिति सदस्यबारे विभिन्न मोडेलमा छलफल भइरहेको छ’, रातोपाटीसँग उनले भनिन्, ‘दैनिक कार्य सम्पादनका लागि केन्द्रीय कार्य संयोजन समिति सानो बनाउने भन्ने छ । सहमतिका आधारमा पूर्वपदाधिकारीलाई राख्ने भनिएको छ । तर क–कसलाई राख्ने भन्ने विषयमा छलफलकै प्रक्रियामा छ ।’
कार्यदलका अर्का सदस्य प्रकाश ज्वालाले केन्द्रीय कार्य संयोजन समिति ३५ देखि ३९ सदस्य सम्मको हुन सक्ने जानकारी दिए । यस समितिमा संयोजक, सहसंयोजक र आपसी सहमतिका आधारमा पूर्वपदाधिकारी मात्र सदस्य रहने उनले बताए ।
ज्वालाले भने, ‘नेकपाको विधान अनुसार केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समिति रहनेछ । केन्द्रीय कार्य समिति ६०१ सदस्यीय रहने विधानमै व्यवस्था छ । केन्द्रीय संयोजन समिति आपसी सहमतिको आधारमा ३५ देखि ३९ सदस्यीय रहन सक्छ । पूर्वपदाधिकारीबाट क–कसलाई राख्ने भन्ने सम्बन्धमा निष्कर्षमा पुगेको छैन ।’
नेकपाको ‘अन्तरिम विधान, २०८२’ को धारा–४१ मा केन्द्रीय कार्य संयोजन समितिको व्यवस्था गरिएको छ । उपधारा–१ मा केन्द्रीय कार्य समिति अन्तर्गत केन्द्रीय एक कार्य संयोजन समिति रहनेछ भनिएको छ । उपधारा–२ मा केन्द्रीय कार्य संयोजन समितिमा संयोजक तथा सहसंयोजकसहित आवश्यक सङ्ख्यामा सदस्यहरू रहने भनिएको छ ।
उपधारा–३ मा केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूको चयन सहमतिका आधारमा गरिने उल्लेख छ । उपधारा–४ मा केन्द्रीय कार्य संयोजन समिति केन्द्रीय कार्य समितिप्रति उत्तरदायी हुने भनिएको छ ।
स्रोतका अनुसार केन्द्रीय कार्य संयोजन समितिमा साबिक माओवादीका सबै पदाधिकारी, एकीकृत समाजवादीबाट १५ जना समेट्ने तयारी भएको छ । एकीकृत समाजवादीको पदाधिकारी माओवादीको भन्दा ठुलो भएकाले सबै केन्द्रीय कार्य संयोजन समितिमा नअट्ने स्रोतले बतायो । बाँकी भीम रावल, महिन्द्र राय यादव र जसपा एक जना रहन सक्नेछन् ।
‘कम्तीमा ३५ र बढीमा ३९ सदस्यीय केन्द्रीय संयोजन समिति बन्नेछ । सहमतिको आधारमा पूर्वपदाधिकारी राखिने भनिएको छ । माओवादीबाट सबै पदाधिकारी रहनेछन् । एकीकृत समाजवादीको पदाधिकारी ठुलो भएकाले क–कसलाई समेट्ने भन्ने सम्बन्धमा टुङ्गो लागेको छैन । यद्यपि १५ जनासम्म पर्न सक्छन् । बाँकी भीम रावल, महिन्द्र राय यादवजी र जसपाबाट एक जना रहन सक्छन्’, स्रोतले भन्यो ।
नेकपाको संयोजक अहिले प्रचण्ड रहेका छन् । माओवादीबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दबहादुर पुन रहनेछन् । पूर्वमहासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव सदस्य रहनेछन् ।
पूर्वसचिवहरूमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र गङ्गानारायण श्रेष्ठ गरी २० जना रहनेछन् ।
यस्तै एकीकृत समाजवादीबाट पूर्वपदाधिकारीबाट उपमहासचिव तहसम्म केन्द्रीय कार्य संयोजन समिति सदस्य रहने सम्भावना रहेको छ । सह–संयोजक माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, प्रमेश हमाल सदस्य रहनेछन् । यस्तै पूर्ववरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे उपाध्यक्षहरू धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी सदस्य रहनेछन् । पूर्वउपमहासचिवहरू राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई सदस्य रहनेछन् ।
सचिवको हकमा के गर्ने भन्ने विषयमा छलफलकै क्रममा रहेकाले टुङ्गो लागेको छैन । एकीकृत समाजवादीबाट पूर्वसचिव सावित्राकुमारी भुसाल, गणेशबहादुर विश्वकर्मा, चन्द्रबहादुर शाही, बलदेव चौधरी, श्रीनाथ बराल, सोमप्रसाद पाण्डेय, शेरबहादुर कुँवर एकता प्रक्रियामा जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण