बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०४ : ३७
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • एिकनारायण अर्याल आजदेखि मुख्यसचिव पदबाट अवकाशमा जाँदै छन्।
  • सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरिएको छ।
  • अर्यालको कार्यकालमा नीतिगत सुधार र सेवा प्रवाहमा जोड दिइयो।

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । 

विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका थिए । मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे ।

उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले बताए । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ । 

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । 
सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ । 

उनको कार्यकालमा अन्तरराष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप