शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

बुधबार, १० मङ्सिर २०८२, १२ : ३३
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • विभिन्न जिल्लाहरूमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, जसमा ललितपुर, तनहुँ, र धनुषाका घटनाहरू समावेश छन्।
  • ललितपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ, भने तनहुँ र धनुषामा पनि मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ।
  • नवलपरासी पश्चिम, रुकुम पश्चिम र नुवाकोटमा भएका अन्य दुर्घटनाहरूमा पनि पैदल यात्री र मोटरसाइकल चालकको मृत्यु भएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ललितपुर, तनहुँ, धनुषा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।    

ललितपुरको ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र. ०२–०१९ प ६६८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  दुर्घटनामा काठमाडौँ कीर्तिपुर नगरपालिका–५ भत्केको पाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तनहुँको घिरिङ गाउँपालिका–४ रामकोटस्थित सडकमा लु. ५२ प. १५२ नम्बरको मोटरसाइकल र लु. १ क ३९५४ नम्बरको टिपर एक आपसमा ठक्कर खाई मङ्गलवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भिमाद नगरपालिका–३ माझकोट घर भएका ५५ वर्षीय बुद्धिबहादुर चन्दको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

उता धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २० स्थित सडकमा मुर्ली चोकबाट गंगुलीतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००७ प– ७७०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाकै नगराइन नगरपालिका–५ गंगुली बस्ने ३५ वर्षीय मुकेश झा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ छिवनीस्थित सडकमा प्रदेश ३–०२–००३ प २२०८ नम्बरको बसको ठक्करबाट साइकल यात्री सोही गाउँपालिका–१ वनदेवी बस्ने ६५ वर्षीय जन्त्री चमारको मृत्यु भएको छ । मङ्गलवार साँझ भएको दुर्घटनामा उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

त्यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमबजारस्थित सडकमा लु.१ ज ४५७९ नम्बरको बोलेरो जिपसँग क.प्र.०३–००१ प ०९२० नम्बरको मोटरसाइकल ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका–८ बस्ने ३५ वर्षीय सिताराम चदरा रहेका छन । 

मङ्गलवार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित सडकमा गल्छीबाट बट्टारतर्फ आउँदै गरेको ग.१८ प ६३७० नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ  । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८० वर्षीय लीलानाथ कोइराला रहेका छन् ।

उनको मङ्गलवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको त्रिशूली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप