बसपार्क घटना : लण्ड्री पसलबाट पत्ता लाग्यो महिलाको शव बेरेको तन्नाको विवरण
सारांश
- नयाँ बसपार्कमा सरसफाइको क्रममा एक महिलाको शव फेला परेको थियो।
- प्रहरी अनुसन्धानबाट १८ वर्षीया माया मगरको हत्या भएको पुष्टि भयो, जसलाई होटलका कुकले मारेका थिए।
- कुकले पैसाको विवादमा हत्या गरेको र शवलाई लुकाएर फालेको सीसीटीभी फुटेजबाट पुष्टि भएको छ।
काठमाडौँ । नयाँ बसपार्क क्षेत्रमा शनिबार प्रायः सरसफाइको कार्यक्रम गरिन्छ । मंसिर ६ मा स्थानीयहरू सरसफाइमा जुट्दा झाडीमा तन्नाको पोको भेटियो ।
फोहर पोको पारेको तन्ना भनेर हटाउन खोज्दा गह्रौँ महसुस भएपछि सरसफाइकर्मीले खोलेर हेरे । त्यहाँ फोहर होइन, महिलाको शव भेटियो । प्रहरी पनि सरसफाइ कार्यक्रममा सँगै थिए । त्यसपछि प्रहरीले शवबारे अनुसन्धान थाल्यो ।
प्रहरी वृत्त महाराजगञ्जका डीएसपी निरञ्जन थापा आफ्नो टिमसहित घटना पत्ता लगाउन खटिए । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँबाट पनि अनुसन्धान अधिकृतहरू मृतक महिलाको शव पहिचान गर्न र आरोपितको खोजीमा जुटे । मृतक महिला रुकुम घर भएकी १८ वर्षीय माया मगर भन्ने आयुषा मगर रहेको पुष्टि भएको छ ।
आयुषा नयाँ बसपार्क क्षेत्रमा मदिरा सेवन गरेर हिँड्ने र लागुऔषध प्रयोगकर्ता पनि हुन् । कात्तिक २३ मा मध्यराति साढे ११ बजेतिर आयुषा र डोल्मा बोम्जन नयाँ बसपार्कस्थित होटल रोयल कुण्डलामा पुगेका थिए । डोल्मा र आयुषा साथी हुन् । डोल्मा सो होटलको माथिल्लो तलामा गएर सुतिन् । आयुषाचाहिँ होटलका कुक सूर्य थापा मगरसँग स्टाफ रुममा गएर कुरा गर्न थालिन् । कुराकानीको क्रममा उनले भनिन्, ‘मलाई ५ सय देऊ न, ब्राउन सुगर किनेर आउँछु ।’
लागुऔषध (ब्राउन सुगर) किनेर फर्केपछि सूर्यले ५ सय रुपैयाँ फिर्ता माग्छन् । आयुषाले भन्छिन्, ‘तेरो पैसा दिन्नँ ।’
दुई जनाबिच विवाद हुँदा सूर्यले जुत्ताको तुनाले घाँटी कसेर भुइँमा लडाउँदै मुक्काले हिर्काएर हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
घाँटी कसेर दुई मुक्का हानेपछि आयुषाको मृत्यु भयो । त्यसपछि सूर्यले शवलाई ४ दिन बेडमुनि लुकाएर राखे । कात्तिक २६ गते राति १ बजेर ५२ मिनेटमा सूर्यले मृतकको शव तन्नामा बाँधेर बोकेर फाल्न हिँडेको सीसीटीभी फुजेटमा देखिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।
शवको गन्ध रोक्न सुरुमा फोहर फाल्ने कालो प्लाष्टिकमा हाल्छन् र त्यसबाहिर तन्नाले बाँधेर लैजान्छन् । त्यसपछि उनले सडकमा लगेर शव फालेको अनुसन्धानबाट थाहा भएको छ ।
शव आयुषाको भनेर मृतकसँगै होटलमा गएकी डोल्मा बोम्जन र मृतकको कान्छी आमा कल्पना शेर्पालीले सनाखत गरेका छन् ।
- लण्ड्री पसलबाट खुल्यो रहस्य
आयुषा मगरको शव बेरेको तन्नामा १४५५ नम्बरको ट्याग थियो । अनुसन्धान अधिकृतहरूले सो तन्ना गेष्ट हाउसको हुनसक्ने आकलन गरे । त्यसपछि अनुसन्धान बसपार्क क्षेत्रको लण्ड्री (लुगा धुने पसल)मा केन्द्रित गरिएको थियो ।
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार लण्ड्री पसल सञ्चालकले भने, ‘यो तन्ना रोयल कुण्डलाको हुनसक्छ ।’
प्रहरी रोयल कुण्डलामा पुगेर सर्च गर्दा तन्नाको रङसँग मिल्ने तकियाको खोलमा लेखिएको थियो– १४५५ ।
तकिया होटलका कुकले प्रयोग गर्थे । त्यसपछि अनुसन्धान अधिकृतहरूले सो होटलका कुकको खोजी गरे । उदयपुर घर भएका कुक सूर्य मगर ७ महिनादेखि सो होटलमा कार्यरत थिए । अनुसन्धान अधिकृतहरू उनलाई पक्राउ गर्न जाँदा मगर बसपार्क नजिकै मिलनटोलस्थित खाजा पसलमा मदिरा पिउँदै थिए ।
एसपी पवन भट्टराईले भने, ‘मिलनटोलको खाजा पसलबाट हामीले उनलाई पक्राउ गरेका हौँ ।’
२४ वर्षीय सूर्य थापा मगरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रहरी वृत्त महाराजगञ्जले उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा शनिबार भेटिएको आयुषाको शव सुरुमा तेस्रोलिङ्गीको भएको आकलन गरिएको थियो, तर परीक्षण गर्दा शव महिलाको भन्ने पुष्टि भएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले शवको पोष्टमार्टम गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण