फर्जी उपाधि प्रयोग गरी पद प्राप्त गरेको आरोपमा चार प्राध्यापकविरुद्ध आरोपपत्र दायर
सारांश
- अख्तियारले फर्जी उपाधि प्रयोग गरेको आरोपमा चार प्राध्यापकविरुद्ध मुद्दा दायर गरेको छ।
- डिल्लीराम प्रसाईंले विद्यावारिधि नलिई पद प्राप्त गरेको आरोप छ ।
- परीक्षामा अनियमितता र झुटो विवरण पेश गरेको आरोप पनि लागेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यावारिधि (पिएचडी) उपाधि नपाइकन झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक बनेको आरोपमा त्रिविअन्तर्गतका चार प्राध्यापकविरुद्ध विशेष अदालत, काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले उपाधि नपाइकन आफूलाई विद्यावारिधिधारीका रूपमा प्रस्तुत गरी पद तथा सुविधा प्राप्त गरेको आयोगको आरोप छ ।
सह–परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्रा डा जया लक्ष्मी प्रधान तथा सदस्य प्रा डा मोतिलाल शर्मा र प्रा डा मेघराज पोख्रेलले प्रसाईंसँग मिलेमतो गरी परीक्षा परिणाम गणनामा अनियमितता गरेको, मापदण्डविपरीत अङ्क प्रदान गरेको र झुटो विवरणका आधारमा नियुक्ति सिफारिस गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
अनुसन्धानका क्रममा प्रसाईंले आवेदन दिने समयमा विद्यावारिधि उपाधि प्राप्त भएको भनी झुटो कागजात पेस गरेको, मौखिक परीक्षा रोकिएको अवस्थामा नै उपाधि प्राप्त भएको दाबी गरेको र सोही आधारमा अतिरिक्त अङ्क पाई अन्तिम नामावलीमा परेको पुष्टि भएको आयोगले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले २०८१ साउन १७ र २२ गते सो पदका लागि सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार तीन सदस्यीय समितिले प्रसाईंलाई विद्यावारिधि शीर्षकको आठ अङ्क प्रदान गरी २०८१ मङ्सिर १९ गतेदेखि लागू हुने गरी नियुक्ति सिफारिस गरे पनि प्रस्तुत कागजातको आधिकारिकता जाँच नगरेको आयोगको निष्कर्ष छ ।
प्रसाईंले नपाएको ‘डा’ उपाधिको प्रयोग विभिन्न कागजात, नेमप्लेट, क्यालेन्डर तथा विदेश सेमिनारसम्बन्धी प्रमाणपत्रमा गरेको पाइएको आयोगले जनाएको छ ।
आयोगले समितिका संयोजक तथा सदस्यहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ तथा १९(२०) बमोजिम र प्रसाईंविरुद्ध दफा १६, १७(१०) र २४ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण