बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

नेकपाले विराटनगरमा एकता सभा गर्दै, १० हजार भन्दा बढी मानिस उतार्ने

शनिबार, १३ मङ्सिर २०८२, १८ : ४९
शनिबार, १३ मङ्सिर २०८२

विराटनगर । नवगठित नेपाली कम्युनिष्ट पार्टीले आउँदो १५ गते सोमबार विराटनगरमा एकता सन्देश सभा गर्ने भएको छ ।

सो पार्टीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको जनाएको हो ।

विराटनगरस्थित पुरानो गुद्रीको खुला मैदानमा सोमबार दिउँसो १२ बजेदेखि सुरु हुने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल र भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाकी नेतृ सरिता थापा खड्काले बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेल सितलकुमारले सभामा कोशी प्रदेशभरबाट १० हजारभन्दा बढी जनसहभागिता रहने अपेक्षा रहेको बताए । सभा भाषण गर्ने थलो मात्र नभएर विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै नयाँ सिराबाट अघि बढ्ने प्रस्थान विन्दु रहेको उनले बताए ।

सभालाई व्यवस्थित बनाउन आर्थिक, प्रचार–प्रसार, स्वयंसेवक, मञ्च व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य र जनपरिचालन लगायतका उपसमितिहरू गठन गरेर काम अन्तिम चरणमा पुर्‍याइएको सो पार्टीले जनाएको छ ।

२०८२ कात्तिक १९ गते १० राजनीतिक दलहरूबिच एकता भई गठन भएको यो पार्टीमा हाल १५ दल आबद्ध भइसकेका छन् ।

विशेषतः ‘जेनजी आन्दोलन’ पछि विकसित नयाँ परिस्थितिमा मुलुकलाई राजनीतिक निकास दिन र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउन यो सभा आयोजना गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप