सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

मङ्गलबार, १६ मङ्सिर २०८२, १६ : १३
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • टर्कीको समुद्री प्राधिकरणले कृष्ण सागरमा रूसी ट्याङ्करमाथि आक्रमण भएको पुष्टि गरेको छ।
  • टर्कीका राष्ट्रपति एर्दोगानले युक्रेनी ड्रोन आक्रमणको आलोचना गर्दै चेतावनी दिए।
  • विश्लेषकहरूले यो आक्रमणले द्वन्द्व दक्षिणतर्फ फैलिन सक्ने संकेत गरेको बताए।

काठमाडौँ । रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ । 

केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्याङ्करलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो ।

टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्याङ्कर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी गरिने जनाएको छ ।

यसअघि सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले रूसी जहाज काइरोस र विराटमा भएको युक्रेनी ड्रोन आक्रमणको कडा आलोचना गर्दै यस्तो कार्यले क्षेत्रीय द्वन्द्व ‘चिन्ताजनक रूपमा तीव्र’ भएको चेतावनी दिने भनी टिप्पणी गरेका थिए । उनले भने, “हाम्रा विशेष समुद्री क्षेत्रमा नेभिगेसन सुरक्षा, मानवजीवन र वातावरणलाई जोखिममा पार्ने यस्ता आक्रमण हामीले कदापि स्वीकार गर्न सक्दैनौँ । हामीले सबै पक्षलाई आवश्यक चेतावनीहरू दिइरहेका छौँ ।”

काइरोस र विराट माथिका आक्रमणहरू टर्कीको विशेष आर्थिक क्षेत्रभित्रै भएका थिए र दुवै जहाजका चालक दल सुरक्षित रहेको बताइएको छ । ओपनसेन्क्सन नामक प्रतिबन्ध निगरानी डाटाबेसअनुसार यी जहाजहरू सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्ध चर्किँदै जाँदा तीबाट बच्न प्रयोग गरिने ‘छाया फ्लीट’ को हिस्सा मानिन्छन् ।

युक्रेनले युद्धकालमा रूसी लक्ष्यहरूविरुद्ध विशेष रूपमा विस्फोटक पदार्थले भरिएका समुद्री ड्रोन प्रयोग गर्दै धेरै सफल नौसैनिक आक्रमण गरिसकेको छ । यद्यपि ती प्रायः उत्तरी कृष्ण सागरकै क्षेत्रमा सीमित रहने गरेका थिए । पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने सङ्केत दिएको विश्लेषकहरूको आकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप