जेनजी आन्दोलन : आपराधिक गतिविधिमा संलग्नविरुद्ध एमालेले कानुनी कदम चाल्ने
विराटनगर । नेकपा एमाले मोरङले गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूविरुद्ध कानुनी कदम चाल्ने भएको छ ।
एमाले मोरङले क्षतिको विवरणसहित प्रहरीमा उजुरी प्रक्रिया अघि बढाएको हो ।गत कात्तिक १३ गते बसेको जिल्ला कमिटीको बैठकले दिएको म्यान्डेट अनुसार उमाकान्त गौतमको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन शुक्रबार पार्टीलाई बुझाएको छ ।
सो प्रतिवेदनमा करोडौँको क्षति भएको विवरण आए लगत्तै एमालेले शुक्रबार नै जिल्ला प्रहरी कार्यालय मोरङमा संस्थागत जाहेरी दर्ता गराएको छ ।
एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेका अनुसार शुक्रबार घटनाको समग्र अनुसन्धानका लागि संस्थागत जाहेरी दिइएको छ भने आइतबारदेखि घटनामा संलग्नहरूको पहिचान गरी नामै तोकेर ‘किटानी जाहेरी’ दिने तयारी छ ।
इन्चार्ज घिमिरेले भने, ‘पार्टी कार्यालय र नेताका घर जलाउन आउनेहरूको फोटो भिडियो सहित नाम दिन्छौ । अन्य प्रमाणका आधारमा आइतबारदेखि व्यक्ति किटान गरेरै कानुनी दायरामा ल्याउँछौँ ।’
प्रतिवेदन अनुसार सबैभन्दा ठुलो क्षति पथरीशनिश्चरे नगर कमिटीको भवनमा भएको छ । आगजनी र तोडफोडबाट ठुलो क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा १ करोड ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बेलबारी नगर पार्टी कार्यालयमा ८ लाख ५० हजार, पथरीशनिश्चरे नगर पार्टी कार्यालयमा ३ लाख ५० हजार, उर्लाबारी नगर पार्टी कार्यालयमा १ लाख ६० हजार र मिक्लाजुङ गाउँ कमिटीको कार्यालयमा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक भएको छ ।
आन्दोलनकारीले नेताहरूको निजी निवासलाई समेत निशाना बनाएका थिए । प्रतिवेदन अनुसार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको घरमा तोडफोड र लुटपाट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पूर्वमन्त्री भानुभक्त ढकालको घरमा १५ लाखको क्षति पुगेको छ भने ढकालको घरमा डेरा गरी बस्ने रुद्रप्रसाद बास्कोटाको कोठाबाट नगद र सामग्री गरी ४० लाख ९० हजार रुपैयाँ चोरी भएको गम्भीर तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । केन्द्रीय सदस्य युवराज बास्कोटाको घरमा ३ लाख ६० हजारको क्षति भएको छ ।
प्रतिवेदनमा एमाले नेता जीवन घिमिरेको घरमा भएको ७ लाख बराबरको क्षतिको विवरण उल्लेख छ । आन्दोलनकारीले घर घेरेर आक्रामक शैली देखाएपछि घिमिरेले तत्कालै एमाले परित्याग गरेको विज्ञप्ति जारी गरेका थिए ।
तर, केही समयपछि उनी पुनः पार्टीमा सक्रिय भएका छन् । एमाले मोरङको कार्यक्रममा अन्य नेताहरूले सो घटनाबारे कुरा उठाएपछि घिमिरेले भावुक हुँदै रोएर जवाफ दिएका थिए ।
आन्दोलनका क्रममा स्थानीय सरकारका प्रमुखहरूको घरमा समेत आक्रमण भएको थियो । विराटनगर–१ का वडाध्यक्ष काजी बहादुर बस्नेत, सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्बापो र सुनवर्षी नगरपालिकाकी उपप्रमुख मिरादेवी दास लगायतका जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण समितिले प्रशासनलाई बुझाएको छ ।
पार्टी कार्यालय र नेताहरूको घरमा भएको आगजनीमा व्यक्तिगत तथा संस्थागत निवेदन दिने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण