सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएको साहको आरोप
सारांश
- आजपा अध्यक्ष प्रभु साहले वर्तमान सरकारले युवा शहीदको भावनामाथि प्रहार गरेको आरोप लगाए।
- उनले जेन-जी आन्दोलनका हत्यारालाई कानूनी कारबाही गर्न र आन्दोलनकारीलाई पक्राउ नगर्न माग गरे।
- साहले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल जेन-जी आन्दोलनप्रति संवेदनशील नभएको आरोप लगाए।
सर्लाही। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन् ।
उनले वर्तमान सरकारले एकपछि अर्को अनैतिक कुकर्म गरिरहेको गम्भीर आरोप लगाए । जेन–जी युवाहरूको रगत र बलिदानीबाट बनेको सरकारले आज ती युवा शहीदको सपना, मर्म र भावनामाथि प्रहार गरेको भन्दै उनीहरुको हत्यारालाई कानूनी कठघरामा उभ्याउन साहको माग छ ।
सरकारलाई २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउनेमात्रै एकल म्याण्डेट नभएको भन्दै जेन–जी आन्दोनलको क्रममा युवाहरुको छाती र टाउकोमा ताकि ताकि गोली हानेर हत्या गर्नेहरुलाई कानूनी कारबाहीमा उभ्याउनु मुख्य दायित्व भएको उल्लेख गर्दै आजसम्म त्यसतर्फ सरकारले कुनै ठोस कदम नचालेकोमा साहले आक्रोश पोखे ।
आज (शनिबार) सर्लाहीको गोडैतामा आजपा सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनलाई बदनाम गराउन र विद्रुपीकरण गर्नतर्फ सरकार अग्रसर रहेको भन्दै आन्दोलनकारीलाई पक्राउ गर्ने र धरपकड गर्ने कार्य तत्काल रोक्नसमेत चेतावनी दिए ।
आजपा अध्यक्ष साहले भने, ‘जेनजी आन्दोलन के गलत थियो ? गलत हो भने अहिलेका प्रधानमन्त्री सुशीला कार्कीले गलत थियो भनेर भन्नुपर्यो, होईन भने आन्दोलन सही हुने अनि आन्दोलनकारीलाई थुन्ने ? यो कहाँसम्मको निर्लज्जता देखाउनुभएको छ ? जसले युवा तथा विद्यार्थीलाई ताकी ताकी गोली हानेर हत्या गरेका छन्, उनीहरु आज गुण्डागर्दीको शैलीमा सरकारलाई र आन्दोलनकारीलाई धम्काईरहेका छन्, अनि सुशीला सरकार ती हत्याराहरुको गर्जन सुनेर बस्नुपर्ने ? यो निरीहता नदेखाउनुहोस् ।’
उनले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरु र उनीहरुको परिवारजनप्रति संवेदनशील नबनेको आरोप लगाए ।
जेन–जी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको आयोगको म्याद सकिन लाग्दासमेत अहिलेसम्म गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बोलाएर बयानसमेत लिन नसकेको भन्दै आयोगको औचित्यमाथि नै प्रश्न उठाए ।
साहले सुशीला सरकारका मन्त्रीहरुपनि विवादमा मुछिन थालेको भन्दै गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर्न चेतावनी दिए । गैरदलीय सरकारमा बसेर दल खोल्ने अनि मेरो दल होईन भनेर उर्जामन्त्री कुलमान घिसिङले सारा नेपालीलाई ढाँटिरहेको साहको आरोप छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण