विश्व बक्सिङ च्याम्पियनसिपमा बक्सर चन्द्रबहादुर थापाको उत्कृष्ट प्रदर्शन
काठमाडौँ । नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। लगातार उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेसँगै उनले नेपालका लागि कम्तीमा कास्य पदक सुरक्षित गरेका हुन्।
प्रतियोगितामा चन्द्रबहादुरले आफ्ना प्रतिद्वन्द्वीहरू माथि एकतर्फी हाबी हुँदै जित हासिल गरे। उनले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई र महत्त्वपूर्ण मानिएको क्वार्टर फाइनल (राउन्ड ८) मा इरानका काजेमी मेहदीलाई समान ५:० को फराकिलो अंकले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्। यो जितसँगै उनले नेपाली बक्सिङ इतिहासमा एउटा सुनौलो अध्याय थपेका छन्।

सेमिफाइनल पुगेर कास्य पदक पक्का गरेसँगै चन्द्रले ७५,००० अमेरिकी डलर (करिब १ करोड नेपाली रुपैयाँ) पुरस्कार राशी सुरक्षित गरेका छन्। अब उनले सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेमा रजत पदकका साथ १,५०,००० अमेरिकी डलर प्राप्त गर्नेछन् भने स्वर्ण पदक जित्न सकेमा ३,००,००० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।
यो ऐतिहासिक सफलता रातारात मिलेको भने होइन। यो उपलब्धि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव टंकलाल घिसिङले जापानमा हुने २०औं एसियाली खेलकुदलाई लक्षित गर्दै ल्याएको ‘मिसन २०२६’ अन्तर्गतको दीर्घकालीन प्रशिक्षणको नतिजा हो। उक्त मिसनले जापान एसियाडमा स्वर्णसहित दोहोरो अंकको पदक जित्ने लक्ष्य राखेको छ।
चन्द्रबहादुर थापा सुरुदेखि नै ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय टोलीमा रही प्रशिक्षण गरिरहेका छन्। उनलाई एसियन मेडलिस्ट तथा आईबीए थ्री-स्टार प्रशिक्षक दीपक महर्जनले नेतृत्व प्रदान गरिरहेका छन्। प्रशिक्षक महर्जनको कडा प्रशिक्षण र रणनीतिक तयारीले नै चन्द्रलाई विश्वस्तरको रिङमा यो सफलता दिलाएको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण