भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा ढिलासुस्तीले व्यापारी निराश
सारांश
- भिट्ठामोडमा निर्माणाधीन सुक्खा बन्दरगाहको प्रगति सुस्त छ, जग्गा अधिग्रहण हुन सकेको छैन।
- भारतीय पक्षले पर्खाल लगाउने काम सकेर शिलान्यासको तयारी गरिरहेको छ, तर नेपालमा बजेटको अभाव छ।
- स्थानीय व्यापारीहरू सुक्खा बन्दरगाह निर्माणमा सरकारको उदासीनता र ढिलासुस्तीप्रति चिन्तित छन्।
जनकपुरधाम । भिट्ठामोड नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको प्रगति सन्तोषजनक हुन सकेको छैन । भिट्ठामोड नाकालाई विस्तार गर्नुका साथै सुक्खा बन्दरगाह निर्माण गर्न संघ सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटदेखि नै योजना अघि सारे पनि प्रगति सुस्त देखिएको हो ।
भारतीय पक्षले बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाइसक्दा नेपालले भने जग्गा अधिग्रहणको प्रक्रियासमेत अघि बढाउन सकेको छैन । जबकि भारतीय पक्षले सोही बन्दरगाहका लागि आफ्नोतर्फ जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको छ ।
अधिग्रहण गरिएको जग्गामा भारतीय पक्षले पर्खाल लगाउने कार्य सम्पन्न गरिसकेको छ । भारतीय पक्षका अनुसार चाँडै नै भारतका गृहमन्त्री अमित शाहले सुक्खा बन्दरगाह निर्माणको भारततर्फ शिलान्यास गर्ने कार्यक्रम छ । एक भारतीय अधिकारीले भने ‘पहिले नै शिलान्यास गर्ने कार्यक्रम थियो, तर बिहार विधान सभा निर्वाचन परेकाले सो कार्यक्रम पछाडि धकेलिएको हो ।’
बन्दरगाह निर्माणका लागि सरकारी स्वामित्वको इन्टरमोडेल नेपाल यातायात विकास समिति चोभारले कन्सल्टेन्ट हायर गरेर दुईपटक सर्भे समेत गरिसकेको छ । तर, बन्दरगाह निर्माणमा लाग्ने खर्च, जग्गा अधिग्रहण गर्दा लाग्ने बजेटको सुनिश्चितता, जग्गाको मूल्य निर्धारणसहितका कार्य अझै हुन सकेको छैन ।
भारतले रामायण सर्किटको परियोजना र सुक्खा बन्दरगाहकै लागि बिहारको सीतामढीबाट भिट्ठामोडसम्म रेल लाइन पुर्याउन सर्भेसमेत गरिसकेको भारतीय स्थानीय बताउँछन् । बन्दरगाह निर्माणका लागि नेपालतर्फ भिट्ठामोड मूल नाकादेखि दक्षिणतर्फ ६० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ ।
उचित मुआब्जा पाएमा जग्गा दिन जग्गाधनीहरू पनि तयार छन्, तर नेपाल सरकारकै उदासीनताका कारण बन्दरगाह निर्माण कार्य सुस्त भएको जलेश्वरका व्यापारीहरूको आरोप छ ।
अर्थ मन्त्रालयले जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गरेपछि मात्रै थप काम अगाडि बढ्छ । सुक्खा बन्दरगाह निर्माणका लागि बजेट नाम मात्रको छुट्ट्याइने गरेको जलेश्वर भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतले गुनासो गरे । उनले भने, ‘म भन्सार कार्यालयको प्रमुख भएर आएकै २ वर्ष भयो, तर सुक्खा बन्दरगाह निर्माणका विषयमा अझैसम्म खासै जानकारी छैन ।’
बजेट नै थोरै विनियोजन भएकाले जग्गा अधिग्रहणको काम गर्न पनि गाह्रो भएको उनको भनाइ छ ।
मधेसकै बिच भागमा पर्ने भिट्ठामोडमा सुक्खा बन्दगाह निर्माण भएपछि प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने व्यापारीहरूको भनाइ छ । भिट्ठामोड सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि कोलकाता बन्दरगाह, विशाखापटनम बन्दरगाहसहितबाट कम खर्चमा सामान ढुवानी हुने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।
उनले भने, ‘सुक्खा बन्दरगाह निर्माण हुने घोषणा भएसँगै यहाँका व्यापारीमा केही आशा पलाएको थियो । सुक्खा बन्दरगाह निर्माण कार्य कागजमै सीमित भएको देखेर यहाँका व्यापारी निराश देखिएका छन् ।’
सम्बन्धित निकाय समक्ष सुक्खा बन्दरगाह निर्माणका लागि पटक–पटक ध्यानाकर्षण पत्र बुझाइसके पनि कुनै फाइदा नभएको चौधरीले सुनाए ।
भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माण भए यो भेगमै औद्योगिक प्रतिष्ठानहरूको संख्यामा वृद्धि हुने जनकपुरधाम क्षेत्रका व्यापारी बताउँछन् । यसले शिथिल हुँदै गइरहेको जलेश्वर बजारमात्र नभई जनकपुरधामको बजारलाई पनि कायापलट गर्ने विश्वास जनकपुरधामका व्यापारीहरूको छ ।
सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि कोलकाताबाट भिट्ठामोडको बाटो नजिक पर्ने र ढुवानीमा खर्च कम लाग्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्मल चौधरीले बताए । उनले भने, ‘संघीय सरकारले धनुषालाई औद्योगिक क्षेत्र घोषणा गरी चाँडै यो बन्दरगाह बनाउनुपर्छ ।’
धनुषामा उद्योग स्थापनाको प्रचुर सम्भावना रहेकाले बन्दरगाह सञ्चालनमा आएपछि यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने उनको भनाइ छ । अहिले यो नाका हुँदै भारतबाट खुला ट्रकमा विभिन्न सामान भित्रिने गरेकाले खर्चिलो हुने गरेको उनले बताए ।
अहिले मधेस प्रदेशमा वीरगन्ज नाकामा मात्र सुक्खा बन्दरगाह छ । भारतका विभिन्न बन्दरगाहबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहमा सामान ल्याउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण