केन्द्रीय परिपत्र लत्याउँदै कांग्रेसका तल्ला तह
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ।
- गण्डकी प्रदेशका ९ जिल्लाबाट उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने निर्णय भएको छ, जसमा मनाङ र मुस्ताङको नाम भने समावेश छैन।
- प्रदेश समितिले मापदण्ड विपरीत सिफारिस भएका नाम हटाउने निर्णय गरेको छ, साथै चुनाव जित्ने व्यक्तिलाई टिकट दिनुपर्ने सुझाव दिएको छ।
पोखरा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अगाडि बढाएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लाबाट उम्मेदवारको सिफारिस प्रदेशमा पठाइएको छ । उक्त सिफारिसलाई काँटछाँट नगरी गण्डकी प्रदेशले सबै नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । आइतबार पोखरामा सम्पन्न प्रदेश कार्यसमिति बैठकले रायसहित सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार बैठकले राय लेखेर केन्द्रमा नाम पठाउने निर्णय गरेको छ । क्षेत्रबाट आएको नाम काट्ने अधिकार विधानतः प्रदेशलाई छैन । उनले थपे, ‘क्षेत्रबाट जिल्ला हुँदै प्रदेशमा प्राप्त भएको औपचारिक सूची आवश्यक राय लेखेर केन्द्रमा पठाउन लागिएको हो ।’
यद्यपि, प्रदेश समिति बैठकले प्रत्येक क्षेत्रबाट ३ जनाको मात्रै राय लेखेर पठाउने निर्णय गरेको छ । ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाट उम्मेदवारको सूची आएको छैन । मनाङ र मुस्ताङले समानुपातिक सूची मात्र प्रदेशमा पठाएका छन् ।
कुन जिल्लाबाट कति जना उम्मेदवार ?
९ जिल्लाका १६ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ १ सय ६३ जनाको नाम सिफारिस भएको छ । मनाङ र मुस्ताङको भने नाम सिफारिस भएको छैन । दुवै जिल्लाले केन्द्रमा नाम पठाउने जानकारी प्रदेश समितिलाई गराएका छन् । सबैभन्दा धेरै क्षेत्र रहेको कास्कीका ३ क्षेत्रमध्ये १ नम्बरबाट १२ जना, २ बाट १२ जना र ३ बाट १२ जनाको नाम सिफारिस भएको छ ।
गोरखाको क्षेत्र नम्बर १ बाट ११ जना, २ बाट ७ जना, तनहुँको १ बाट १० जना र २ बाट ७ जनाको नाम प्रदेशले केन्द्रमा पठाएको छ । स्याङ्जाबाट १ नम्बरमा ११ जना, २ मा १२ जना, नवलपुरको क्षेत्र नम्बर १ मा १३ जना, २ मा ४ जना, बागलुङको क्षेत्र नम्बर १ मा ८ जना, २ मा १० जनाको नाम सिफारिस भएको छ । यस्तै, पर्वतबाट २१ जना, म्याग्दीबाट २ जना र लमजुङबाट ११ जनाको नाम सिफारिस भएको महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
उनका अनुसार समानुपातिकतर्फ पनि १ सय ३७ जना सिफारिस भएका छन् । क्षेत्रबाट १ सय २१ जना र प्रजातन्त्र सेनानी संघबाट १६ जनाको नाम प्रदेशमा पठाइएको थियो । समानुपातिकमा गोरखा १ बाट १३ जना, २ बाट ८ जना, तनहुँ १ बाट १२ जना, २ बाट ३ जना, लमजुङबाट १२ जना, कास्की १ बाट ८ जना, २ बाट ४ जना, ३ बाट १० जनाको नाम सिफारिस भएको छ । बागलुङ १ बाट ७ जना, २ बाट ४ जना, पर्वतबाट १२ जना, म्याग्दीबाट ४ जना, नवलपुर १ बाट १० जना, २ बाट ४ जना, स्याङ्जा १ बाट ४ जना र २ बाट ६ जनाको नाम जिल्लाले प्रदेशमा पठाएको थियो ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि जिल्लाबाट आएकै नामलाई सर्वसम्मत रुपमा पठाइएको हो । बैठकमा निर्णय गर्नुअघि कार्यसमितिका पदाधिकारी र सदस्यहरूबाट सुझाव सङ्कलन गरिएको थियो । राष्ट्रियसभाका लागि गोरखाबाट ४ जना, तनहुँबाट ७ जना, लमजुङबाट ४ जना, कास्कीबाट ६ जना, बागलुङबाट ५ जना, पर्वतबाट १ जना, म्याग्दीबाट २ जना, नवलपुरबाट ६ जना र स्याङ्जाबाट १३ जनाले आकांक्षा देखाएका छन् ।
कसैले पनि टेरेनन् परिपत्र
नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षसहित राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मापदण्ड नै तोकेर उम्मेदवार आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, कसैले पनि मापदण्डबमोजिम नाम सिफारिस गर्न सकेनन् । हरेक निर्वाचन क्षेत्रबाट तोकिएको भन्दा बढी सङ्ख्यामा नाम सिफारिस भएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षमा हरेक क्षेत्रबाट १ महिलासहित ३ जना, समानुपातिकमा पनि संवैधानिक समावेशी सिद्धान्त बमोजिम महिलासहित ३ जना र राष्ट्रिय सभा सदस्यका लागि पनि महिलासहित ३ जनाको नाम मात्रै सिफारिस गर्न भनिएको थियो । तर कुनै पनि क्षेत्रले आकांक्षीको नाममा सहमतिको प्रयास नगरेको महामन्त्री श्रेष्ठले बताए ।
‘विधानको व्यवस्था र केन्द्रको परिपत्र अनुसार नाम आउनुपर्ने हो, त्यसो हुन सकेन । परम्परागत हिसाबले सबै नाम जिल्लाबाट पठाइएको छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा कुनै कसरत भएको छैन । मापदण्डलाई नजरअन्दाज गरिएको छ ।’ प्रदेश समितिले मापदण्डविपरीत सिफारिस भएका नाम भने हटाएर पठाउने निर्णय गरेको छ ।
कार्यसमिति बैठकमा सहभागीहरूले चुनाव जित्न सक्ने व्यक्तिलाई मात्रै टिकट दिनुपर्ने माग राखेका थिए । ‘चुनाव जित्न सक्ने व्यक्तिलाई टिकट दिन रायसहित सिफारिस गरेको छ । पार्टीलाई बलियो बनाउने गरी नै सबैले सुझाव पेस गरेका थिए,’ सभापति शुक्रराज शर्माले भने, ‘जस्तो सिफारिस आएको छ, त्यो नाम प्रदेशले हटाउन सक्दैन । तर, उम्मेदवारको बारेमा राय दिइएको छ ।’
उनले टिकट वितरण गर्दा न्यायको सिद्धान्तमा दिनुपर्ने बताए । ‘कसलाई दिँदा न्याय हुन्छ, त्यही व्यक्तिलाई टिकट दिन भनेका छौँ । १८ वटै क्षेत्रमा जित्ने उम्मेदवार, हामीले राय दिएकै आधारमा टिकट दिए जितिन्छ,’ अघि भने, ‘सन्देश राम्रो जाने खालको निर्णय हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
प्रदेश समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षेत्रले नै केन्द्रीय परिपत्र अनुसार सिफारिस गरेको भए सहज हुने भए पनि प्रदेशमा जस्ताको त्यस्तै नाम सिफारिस गर्दा टिकट वितरणमा समस्या हुन सक्ने बताए ।
‘सबै नाम पठाउँदा कहिलेकाहीँ सोचेको भन्दा फरक निर्णय हुन पनि सक्छ,’ उनले भने, ‘टिकट जसले पाए पनि कांग्रेसलाई जिताउन सबै लाग्नुपर्छ ।’ उनले कांग्रेसबिच एकता भए निर्वाचनमा पराजित गर्ने शक्ति अरू नभएको सुनाए । प्रदेश सरकारले मितव्ययी हुने गरी काम गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण