आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सडक विस्तारसँगै सौन्दर्य बढ्यो धनगढी सहरको

९६ प्रतिशत काम सम्पन्न, अब रङरोगन र फिनिसिङमात्र बाँकी
बिहीबार, ०३ पुस २०८२, ०६ : ५२
बिहीबार, ०३ पुस २०८२

सारांश

  • धनगढीको मुख्य बजारको सडक विस्तार भएसँगै शहरको सौन्दर्य बढेको छ, जसमा २.३५ किलोमिटर सडक खण्डमा कालोपत्रेको काम सकिएको छ।
  • सडक निर्माणको भौतिक प्रगति ९६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ९४ प्रतिशत पुगेको छ, जसले गर्दा निर्माण व्यवसायीले तोकिएको समयभन्दा अगाडि नै काम सक्ने देखिएको छ।
  • सडक निर्माणमा सुरुमा बजेट अभाव र स्थानीय अवरोध आए पनि मेयरको पहलमा स्थानीयको सहयोगले सडक फराकिलो बनाउने काम सम्पन्न भएको छ।

धनगढी । कुनै समय साँघुरो सडक, अव्यवस्थित पार्किङ र धुलो–धुवाँले निसासिने धनगढीको मुख्य बजारको स्वरूप अहिले फेरिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुटु मानिने मुख्य सडक चौडा बनेसँगै सहरको सौन्दर्य पनि बढ्दै गएको छ ।

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको करिब २.३५ किलोमिटर सडक खण्डमा अहिले कालोपत्रे गर्ने काम सकिएको छ । सडकको दायाँ–बायाँ टलक्क टल्किने साइकल लेन, फराकिलो फुटपाथ र चार लेनको चिल्लो सडक देख्दा स्थानीयबासी खुसी छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको यो आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ । सो कार्यालयका प्रमुख दीपक नेगीले आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको बताए ।

‘सडकको मुख्य काम मानिने कालोपत्रे गर्ने काम सकिएको छ । हालसम्मको भौतिक प्रगति हेर्दा करिब ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब मुख्य काम भनेको रोड मार्किङ गर्ने, रङरोगन गर्ने र रेलिङ राख्नेजस्ता फिनिसिङका काममात्र बाँकी छन्,’ उनले भने ।

7-e43304ed-d66a-4d9c-9357-8b23fe9fa147

कार्यालय प्रमुख नेगीका अनुसार हालसम्मको वित्तीय प्रगति करिब ९४ प्रतिशत पुगेको छ । आयोजनाको कुल सम्झौता रकम ५३ करोड ८२ लाख ८३ हजार ९४ रुपैयाँ (भ्याट र भेरिएसन सहित) रहेकोमा हालसम्म ५० करोड ६० लाख ६८ हजार ८० रुपैयाँ खर्च भइसकेको छ ।

‘अब हामीले गर्नुपर्ने भनेको ट्राफिक सेफ्टी मेजरका काम, ड्रेन सफाइ र केही फुटकर काममात्र बाँकी छन्,’ नेगीले थपे, ‘म्याद थप भएर २०८२ फागुनसम्म पुगेको भए पनि निर्माण व्यवसायीले तोकिएको समयभन्दा अगाडि नै काम सक्ने गरी गति बढाएको देखिन्छ ।’

2-521cf84b-b6db-4c9f-a707-77450b4a9625

सुरुवाती चरणमा बजेट अभाव र प्राविधिक कारणले काममा केही सुस्तता देखिए पनि पछिल्लो समय निर्माण कम्पनी केएस कन्स्ट्रक्सन प्रालिले कामलाई तीव्रता दिएको थियो । २०८० वैशाख २७ गते (१० मे २०२३) मा सम्झौता भएको यो आयोजनाको काम बिचमा केही समय बजेट सुनिश्चितता नहुँदा अलमलमा परेको थियो ।

यो सडक आधुनिक सहरी मापदण्ड अनुसार ‘स्मार्ट सडक’ को रूपमा विकास गरिएको छ । ‘यो फोर लेनको सडक हो, जसमा प्रत्येक लेन साढे ३ मिटरको छ । पैदल यात्रीका लागि ३.८३ मिटरको फराकिलो फुटपाथ छ भने साइकल यात्रीका लागि २.५ मिटरको छुट्टै साइकल लेन निर्माण गरिएको छ । ढल निकासका लागि १.५ मिटरको ड्रेन बनाइएको छ,’ नेगीले भने ।

6-104805f4-d627-4792-8567-5f0a84bff8db

यसबाहेक, सडकलाई आधुनिक बनाउन ‘युटिलिटी कोरिडोर’ को अवधारणा लागु गरिएको छ । यो अवधारणा अन्तर्गत खानेपानीको पाइप, बिजुली र टेलिफोनका तारहरू भूमिगत रूपमा बिछ्याइएका छन्, जसले सहरको आकाश तारले जेलिएको कुरूप देखिँदैन ।

निर्माणको जिम्मा पाएको केएस कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुरेन्द्र पालले अब सडकमा रङरोगनको काममात्र बाँकी रहेको जनाए । ‘यो सडक बनाउन एक पटकमात्रै म्याद थप भएको हो । बिचमा बजेट नआउँदा केही समस्या भएर म्याद थप गर्नुपर्‍यो । अहिले कालोपत्रे सकिएको छ । अब पेन्टिङ र सरसफाइ गरेर सडक हस्तान्तरण गर्ने तयारीमा छौँ,’ उनले भने ।

सडकमा बत्ती जडान, हरियाली प्रवर्द्धन र ट्राफिक चिह्नहरू राखिएको छ ।

3-782aa742-9d1f-4e52-9063-872e14e2f234

२०७० सालदेखि नै हुलाकी सडक परियोजना अन्तर्गत यो सडक बनाउने चर्चा चले पनि स्थानीयको अवरोधले काम अघि बढ्न सकेको थिएन ।

२०७९ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ‘ट्राफिक जाम हटाउने’ र ‘धनगढीलाई नमुना सहर बनाउने’ बाचा गरेका थिए । निर्वाचित भएलगत्तै उनले सडकको मध्यभागबाट दायाँ–बायाँ १५–१५ मिटर खाली गराउने अभियान सुरु गरे ।

5-425c4ec3-701c-4f74-a737-8328d49ef0a9

सुरुमा ४२८ वटा घर तथा संरचना भत्काउनुपर्ने चुनौती थियो । विरोधका स्वरहरू पनि सुनिए, तर मेयर हमाल आफैँ घरदैलोमा पुगेर ‘आज बाटो फराकिलो बनाउनु भोलिको पुस्ताका लागि हो’ भन्दै स्थानीयलाई बुझाउन थालेपछि माहोल बदलियो ।

धनगढीबासीले विकासका लागि स्वतःस्फूर्त रूपमा आफ्ना घरका संरचना भत्काएर सडकलाई जग्गा दिए । विकास गर्न एकजुट हुनुपर्छ भनेर आफूहरूले घर भत्काउन गाह्रो नमानेका स्थानीयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप