बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

उद्धार र खेलकुदमा राम्रो कार्य गर्ने सशस्त्र प्रहरीका ५ जनाले पाए यूएन मिसनमा जाने अवसर

बिहीबार, ०३ पुस २०८२, ०८ : ३७
बिहीबार, ०३ पुस २०८२

सारांश

  • सशस्त्र प्रहरीका ५ जना कर्मचारीले यूएन मिसनमा जाने अवसर पाएका छन्, जसले उद्धार र खेलकुदमा राम्रो काम गरेका थिए।
  • विभिन्न विपद्मा उद्धार गर्ने र खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई छनोट गरिएको हो।
  • यसअघि पहुँचका आधारमा हुने मिसन छनोटको परिपाटीलाई अन्त्य गर्दै यसपटक उत्कृष्ट कार्य गर्नेहरूलाई अवसर दिइएको छ।

काठमाडौँ । उद्धार र खेलकुदमा राम्रो कार्य गर्ने ५ जना सशस्त्र प्रहरी कर्मचारीले सिधै यूएन मिसनमा जाने अवसर पाएका छन् । 

  सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिई उद्धार गर्ने  सशस्त्र प्रहरी कर्मचारी, २०८१ सालमा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत सो अवसर दिइएको सशस्त्र प्रहरीका प्रवक्ता मनिष थापाले जानकारी दिए । 

उनका अनुसार सहभागी हुनेहरूमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटक सम्म खटिई १० जनाको सकुशल उद्धार गर्नुकासाथै ११ वटा शव निकालेका थिए भने २ जना  पर्यटकको समेत जिवितै उद्धार गर्न सफल भएका थिए । यसैगरि सशस्त्र प्रहरी सहायक हवलदार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जना मध्ये ५ जनाको रोप रेस्क्यु विधिद्वारा सकुशल उद्धार गर्नुकासाथै विभिन्न घटनामा २० पटक खटिई १५ जनाको शव निकालेका थिए ।

त्यसैगरी सशस्त्र प्रहरी सहायक हवलदार मेख बहादुर गुरुङले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरुमा उत्कृष्ट प्रशिक्षकको रूपमा समेत निरन्तर खटिँदै आएको तथा विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुका साथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका थिए  । आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल भई सशस्त्र प्रहरी सहायक हवलदार किरण बहादुर भण्डारी गतवर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए । उनलाई पनि संगठनको नीति अनुसार मिशनको अवसर दिइएको छ। 

त्यसैगरी सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लवका आवद्ध रहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरी ८ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए । उनलाई पनि मिशनको अवसर प्रदान गरिएको हो । 

विगत लामो समयदेखि सशस्त्र प्रहरी बल नेपालको सुरक्षा फौज संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट   (एफ.पी.यू.)मा तैनाथ हुँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

सशस्त्र प्रहरीमा उत्कृष्ट कार्य गर्ने कोटामा भिआइपी कोटा भनी पहुँचका आधारमा मिसन जाने परिपाटीको अन्त्य भई यस पटक उत्कृष्ट कार्य गरेका सशस्त्र प्रहरी कर्मचारीहरू मध्यमा विपद् उद्धार र खेलकुदतर्फ उत्कृष्ट प्रदर्शन गरेकाहरु छनौटमा परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप