बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘राजा वीरेन्द्रले खम्पा विद्रोह समाधान नगरेको भए नेपालमा ठूलो दुर्घटना हुन सक्थ्यो’

नेतृत्वमा भूराजनीतिक र कूटनीतिक समझ हुनु जरुरी छ : राजेन्द्र कुँवर
शनिबार, ०५ पुस २०८२, १८ : ००
शनिबार, ०५ पुस २०८२

सारांश

  • लेखक राजेन्द्र कुँवरले 'नेपाली दृष्टिकोणमा खम्पा विद्रोह' पुस्तक लेखेका छन्, जसमा खम्पा विद्रोह र त्यससँग जोडिएका पात्रहरूको अनुभव समेटिएको छ।
  • पुस्तकमा खम्पा विद्रोहको पृष्ठभूमि, अमेरिकी हतियारको प्रयोग, र नेपाली सेनाको भूमिकाबारे विस्तृत जानकारी दिइएको छ।
  • लेखकले पुस्तकका लागि विभिन्न व्यक्तिहरूसँग अन्तर्वार्ता लिएका छन्, जसमा खम्पा पीडित, सैनिक, र प्रत्यक्षदर्शीहरू समावेश छन्।

दार्चुलाका राजेन्द्र कुँवर वृत्तचित्र निर्माता हुँदै लेखक बने । रेडियो नेपाल, रेडियो सगरमाथा र टाइम्स एफएममा काम गरिसकेका उनी कुनै समय सगरमाथा टिभी र नेपाल वनमा पनि आबद्ध भए । डकुमेन्ट्री बनाउँदै देश डुल्ने क्रममा उनी सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म पुगे ।

स्वतन्त्र तिब्बतको माग गर्दै नेपालको उत्तरी क्षेत्र मुस्ताङबाट भएको सशस्त्र विद्रोह हो– खम्पा विद्रोह । २०२० सालमा खम्पा विद्रोहका नाममा नेपालमा अमेरिकी सेना, हतियार र युद्धक विमान आएका थिए । भियतनामको युद्धमा प्रयोग भएका अत्याधुनिक हतियारहरू अमेरिकीको गुप्तचर संस्था सेन्ट्रल इन्भेस्टिगेशन एजेन्सी (सीआईए) ले खम्पासम्म पुर्‍याएको थियो ।

नेपालको सीमाबाट चिनियाँ सेनामाथि लुकेर आक्रमण गर्ने तथा तिब्बतबाट चिनियाँ जनमुक्ति सेनालाई लखेटेर स्वतन्त्र तिब्बत बनाउने अभियानकै नाम हो खम्पा विद्रोह । त्यो विद्रोहलाई नजिकबाट देखेका अझै केही पात्रहरू जीवित नै छन् । कुँवरले कयौं यस्ता पात्रहरू भेटे, जो खम्पाहरूबाट पीडित थिए ।

कोही भने तत्कालीन शाही नेपाल सेनाको अनुरोधमा उत्तरी जिल्लाका विभिन्न नाकामा बाटो देखाउन हिँडेका थिए । तिनै ऐतिहासिक पात्रहरूसँगको अन्तरंग कुराकानी र १६ वर्षको निरन्तर मिहिनेतपछि कुँवरले पुस्तक लेखे– ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ । खम्पा विद्रोह र यसै पुस्तकको वरपर रहेर रातोपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानीको सम्पादित अंश ।

  • लामो समयदेखि डकुमेन्ट्रीमा रमाइरहेको व्यक्ति अचानक किताबको दुनियाँमा आउनु भयो खासमा ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तक कसरी जन्मियो ?

दार्चुलाको सौका समुदायमाथि हामीले एउटा डकुमेन्ट्री बनाउँदै थियौं । ०६५ सालतिर ‘माइग्रेट टु हिमालय’ डकुमेन्ट्री बनाउने क्रममा तीन पटक दार्चुलाको लिपुलेकमा पुग्यौँ । त्यहाँ पुग्दा ‘थ्री नट थ्री’ बन्दुकको गोलीको खोका भेटियो । त्यो खम्पा विद्रोहीहरूका कमान्डर गे वाङ्दी मारिएको ठाउँ थियो ।

हाम्रो टोलीमा मिसिएका बहादुरसिंह तिंकरीले खम्पा विद्रोहीहरू मारिएको त्यो घटना फिल्मी शैलीमा सुनाए । उनले वाङ्दीको लास आफ्नै आँखाले देखेका रहेछन् । उनले यो कथा सुनाई रहँदा लिपुलेकमा हिउँ पर्दै थियो । अनकन्टार ठाउँ छ । बादल लागेको छ । हावाको चिसो सिरेटोले मुटु छेड्दैछ । बहादुर सिंहले सुनाउँदै गए– वाङ्दीको ज्यान अजंगको थियो, डर लाग्दो । मैले सुनिरहेँ ।

लिपुलेकबाट फर्केपछि दार्चुलामै हामीले जितसिंह बोहोरालाई भेट्यौँ । खम्पा विद्रोहीहरू लिपुलेकबाट भागेर भारततर्फ प्रस्थान गर्दैछन् भन्ने सुँइको पाएपछि शाही नेपाली सेनाको टोली लिपुलेकतर्फ खटिएको थियो । ०३१ सालमा जितसिंह शाही नेपाली सेनालाई बाटो देखाउँदै लिपुलेक पुगेका थिए । हाँसखुम स्वभावका उनको अहिले छाङ्ग्रुको गागामा होटेल छ ।

गोरो वर्णका, टाठो लाग्ने जितसिंहले ८० केजीको तोप बोकेर नेपाली सेनासँग लिपुलेक पुग्दाका कयौं घटनाहरू सुनाए । यस्तै शाही नेपाली सेनाको सहयोगी भएर लिपुलेक पुगेका अर्का व्यक्ति भेट्यौं– शोभनसिंह तिंकरी । उनले पनि लिपुलेक पुग्दाका अनुभव सुनाए । ती अनुभवहरू मैले ०६६ सालमा दृष्टि साप्ताहिकमा लेखें । तैपनि यस विषयप्रति मेरो भोक मरेको थिएन ।

  • तत्कालीन शाही नेपाली सेनाको ‘खम्पा निःशस्त्रीकरण’ कारबाहीमा प्रत्यक्ष, अप्रत्यक्ष जोडिएका पात्रहरूसँग भेटिएपछि किताब लेख्ने भोक चढेको हो ?

हो । दार्चुलामा मात्र होइन अन्य ठाउँ पुग्दा पनि मैले केही ऐतिहासिक पात्रहरू भेटें । ०७८ सालमा डकुमेन्ट्री बनाउने क्रममा मनास्लु पुगें । सानागाउँ र लो पुग्दा थप जानकारी बटुल्ने मौका पाइयो । स्यालामा खम्पाको क्याम्प थियो । स्थानीयवासीहरूले त्यस बेलाका अनेकौं प्रसङ्गहरू सुनाए । मलाई यति रोचक लाग्यो कि, म चार दिन बढी बसें । ‘खम्पा निःशस्त्रीकरण’ बारे एकदमै खुल्दुली भयो । त्यहाँ मैले दुई–तीन जनासँग कुराकानी गरेँ ।

यति मात्र होइन मुस्ताङको लोमान्थाङ, कोरला, कैसाङ क्याम्प पनि पुग्ने मौका मिल्यो । अहिले कैसाङ क्याम्पमा नेपाली सेना छ । कुनै बेला त्यहाँ खम्पाको मुख्यालय थियो । खम्पा विद्रोह, शाही नेपाली सेनाको कारबाहीलगायत सबै कुरा आफ्नै आँखाले देखेका प्रत्यक्षदर्शीहरूसँग भेट भयो । खम्पाले मारेका परिवार, छोराछोरी, बुहारीहरूसँग पनि कुराकानी गरियो ।

पोखरा फर्केपछि खम्पा पीडित पनि भेटिए । अहिले तनहुँको दुलेगौंडामा खम्पाको क्याम्प छ । अहिले वृद्धाश्रम जस्तै बनेको त्यो क्याम्पमा वाङ्दीका सेना भेटिए । उनीहरू भन्थे– देश फर्किन मन छ, तर सक्दैनौं ।

khampa

  • खम्पा विद्रोह र शाही नेपाली सेनाको खम्पा निःशस्त्रीकरणबारे थप के–के थाहा पाउनु भयो त ?

चिनियाँ जनमुक्ति सेनाको गोली लागेर १५ असार, ०१७ मा नेपाली सेनाका सुवेदार बमप्रसाद बाँस्कोटा मारिए । खम्पाहरू चीनमा हमला गर्दै मुस्ताङमा लुकेर बसेका थिए । खम्पा ठानेर, झुक्किएर चिनियाँ सेनाको गोलीबाट नेपाली सैनिक मारिएका थिए । प्रतिपक्षी दलका नेता भरत शमशेरले त्यो घटनालाई लिएर संसदमा आवाज उठाए ।

बीपी कोइरालाले पनि चिनियाँ हमलाको कडा विरोध गरे । ०१६ सालमा चीनको राजकीय भ्रमण गरेर प्रधानमन्त्री बीपी कोइराला फर्किएका थिए । त्यसको एक वर्ष पनि नपुग्दै मुस्ताङमा दुःखद घटना भएको थियो । त्यसपछि चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाईलाई उनले पत्राचार गरे । चिनियाँ पक्षले झुक्किएर गोली लागेको भन्दै क्षमा याचनासहित मृतकका परिवारलाई ५० हजार रुपैंयाँ क्षतिपूर्ति पठायो ।

०१७ सालमा नेपाली सेनाका सुवेदार बमप्रसाद बाँस्कोटाको विवाह भएको एक वर्ष मात्रै भएको थियो । उनकी पत्नीको गर्भमा बच्चा थियो । अहिले त उनकी छोरी ६८ वर्ष पुगिन् । मैले दुवै आमा, छोरीलाई इनरुवा पुगेर भेटेँ । पुस्तक लेख्ने क्रममा मैले थुप्रै सेनाका जवान, लप्टन, क्याप्टेन, कूटनीतिज्ञ, इतिहासकार, खम्पा विद्रोही, सरकारी कर्मचारीहरू भेटें । रोचक अनुभवहरू थुप्रै छन् ।

त्यस्तै अमेरिकीहरूले खम्पा विद्रोहीलाई भियतनाम युद्धमा प्रयोग गरिएका अत्याधुनिक हातहतियार दिएका थिए । यता नेपाली सेनासँग भने ‘थ्री नट थ्री राइफल’ मात्रै थियो । तैपनि नेपाली सेनाले डटेर त्यसको मुकाबिला गर्‍यो ।

अर्को रोचक लागेको कुरा चाहिँ, खम्पाहरूको व्यवस्थापन गरेपछिको प्रसंग हो । खम्पा एकदमै मिहिनेती जाति हो । उनीहरू आफै काम गर्थे । नेपालका क्याम्पमा बस्दा उनीहरूले गलैंचा र थाङ्का बनाउने काम गरे । नेपाल सरकारले त्यसलाई युरोप, अमेरिका पुर्‍याएर बजारीकरण गर्‍यो । त्यो समय नेपालको गलैंचा विश्व बजारमा प्रख्यात थियो ।

  • ‘खम्पा विद्रोह’ मा भारत, अमेरिका प्रत्यक्ष रूपमा जोडिएका थिए । नेपाल त्यसको मारमा परेको थियो भनिन्छ यदि खम्पा विद्रोह समाधान नभएको भए के हुन्थ्यो होला ?

यो बडो महत्वपूर्ण प्रश्न हो । सायद त्यसबेला राजा वीरेन्द्रले खम्पा विद्रोह समाधान नगरेका भए अवस्था एकदमै जटिल हुन सक्थ्यो । हाम्रो देश कहिल्यै पनि उपनिवेश भएन । हामी स्वतन्त्र देशका नागरिक हौँ । तर, अहिले पनि हामी कतै न कतैबाट प्रताडित छौँ । नेपालबाट खम्पा विद्रोहको समाधान नभएको भए सायद नेपाल नरहन पनि सक्थ्यो । यो सफलता शाही नेपाली सेनाको गौरवमय इतिहास हो । खम्पा विद्रोहको समाधान नेपालका लागि महत्वपूर्ण पानीढलो हो ।

राजा वीरेन्द्र चीन भ्रमणमा जाँदा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाईसँग यस विषयमा जिज्ञासा राखे । वीरेन्द्रले गम्भीरतापूर्वक अग्रसरता लिएर खम्पा विद्रोहको समाधान गरे । यसमा राजा वीरेन्द्रको ठूलो योगदान छ । चीन अमेरिका सम्बन्ध राम्रो भएको मौकामा उनले यो समस्याको समाधान गरे । नत्र समस्या बल्झिँदै जान्थ्यो ।

  • आजका दिनमा राजनीतिज्ञहरूले खम्पा विद्रोह र त्यसको भूराजनीतिक सम्बन्धहरू बुझ्नु कत्तिको महत्त्वपूर्ण देख्नुहुन्छ ?

राजनीति भनेको देशको आन्तरिक उतार–चढाव मात्रै होइन यो कूटनीति, भूराजनीति र इतिहासको ज्ञानसँग पनि जोडिएको हुन्छ । यतिबेला हाम्रा कूटनीतिक पाइलाहरू कमजोर छन् । त्यसैले पनि नेतृत्वमा भूराजनीतिक र कूटनीतिक समझ हुनु जरुरी छ ।

कहिले काहीँ हत्तपत्त प्रतिक्रिया दिनाले काम बिग्रिन्छ । आ–आफ्नो राष्ट्रिय स्वार्थका मामिलामा भारत र चीनका सबै राजनीतिक शक्तिहरू एकै ठाउँमा उभिन्छन् तर हामी भने विभाजित हुन्छौँ । हाम्रो कमजोरी भनेकै कूटनीतिक विफलता हो । त्यसैले मलाई के लाग्छ भने राजनीतिज्ञहरूले मात्रै होइन जेनजी पुस्ताले पनि किताब पढ्नु पर्‍यो । राष्ट्रियताका विषय, इतिहासको अध्ययन एकदमै जरुरी छ ।

  • पुस्तक लेख्ने क्रममा के कस्ता जटिलताहरू आइलागे ?

पुस्तक लेख्छु भनेर लेखेकै होइन । संकलन गर्दै जाँदा पुस्तक बन्न पुग्यो । यो फ्रेस पुस्तक हो । कतैबाट साभार गरिएको छैन । यो लेख्ने क्रममा भारतीय पुस्तकालय, गोरखापत्र संस्थान, गृह, परराष्ट्र, पुरातत्व विभागलगायत धेरैजसो ठाउँ पुगेँ । भैरव रिसाल, हिमालय शमशेर जबरा, सत्यमोहन जोशी, डायमण्ड शमशेर राणालगायत व्यक्तित्वसँग भेटे । अध्ययन, अनुसन्धानका लागि डोल्पा, मुगु, मनाङ, दार्चुला उत्तरी गोरखा, रसुवा, ताप्लेजुङ, बाग्लुङ लगायतका जिल्लाहरू पुगेँ । त्यस्तो जटिलता महसुस भएन ।

पुस्तक लेख्ने क्रममा अन्य धेरै देशी, विदेशी लेखकका पुस्तकहरू छिचोल्नु भयो होला । अरू पुस्तकमा नसमेटिएको त्यस्तो कुन विषय यसमा समेट्नु भएको छ ?

यसमा खम्पा विद्रोहसँग कतै न कतै जोडिएका जीवित पात्रहरूसँग कुराकानी गरिएको छ । पुस्तकमा समेटिएका फोटोहरू ताजा छन् । अन्य पुस्तकहरूमा खम्पा विद्रोहबारे नेपाली दृष्टिकोणलाई गहिराइमा पुगेर समेटिएको थिएन । यस पुस्तकमा त्यसको नालीबेली नै छ ।

आफ्नै पैसाले किताब छाप्ने जोखिम लिनु भयो । किताब बेचेर पैसा उठ्ला भन्ने सोच्नु भएको थियो ?

सुरुमा कुनै प्रकाशकले मेरो पुस्तक छापेनन् किनकि म नयाँ थिएँ, लेखनको दुनियाँमा । सुरुमा पैसाको अभावमा छाप्न सकिएन, कतिले सहयोग गर्छु भने तर पछि गरेनन् । पछि आफैले डकुमेन्ट्री बनाउँन जम्मा गरेको पैसाले तीन हजारप्रति पुस्तक छापें । बिना प्रचार–प्रसार एक महिनामै १५ सयप्रति बिक्री भइसकेको छ । प्रतिक्रिया पनि राम्रै पाइरहेको छु । काठमाडौंका ४५ वटा वितरक र स्टेशनरीहरूमा आफै झोलामा किताब राखेर पुगें । पक्कै पनि म निराश हुने छैन भन्ने विश्वास छ ।

  • यस पुस्तकको भाग– २ पनि आउँछ कि ?

आउँदैन । आठ पटक डमी तयार पार्दा पनि कतै न कतै गल्तीहरू भेटिए । केही परिमार्जन, सम्पादनसहित नयाँ संस्करण चाहिँ आउँछ तर भाग–२ भने आउँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप