शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै न्युक्यासलविरुद्ध चेल्सीको रोमाञ्चक बराबरी

शनिबार, ०५ पुस २०८२, २० : ५४
शनिबार, ०५ पुस २०८२

सारांश

  • चेल्सी र न्युक्यासल युनाइटेड बीचको खेल २-२ गोलको बराबरीमा सकियो।
  • न्युक्यासलले सुरुमा २-० को अग्रता लिए पनि चेल्सीले पुनरागमन गर्यो।
  • रिस जेम्स र जाओ पेड्रोले चेल्सीका लागि गोल गरे।

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै न्युक्यासल युनाइटेडसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

न्युक्यासलको घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै चेल्सी हार टार्न सफल भएको हो ।

खेलको सुरुवात न्युक्यासलको पक्षमा रह्यो । खेल सुरु भएको चौथो मिनेटमै निक वल्टमेडले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा वल्टमेडले व्यक्तिगत दोस्रो गोल गरेपछि न्युक्यासल २–० ले अघि बढ्दै जिततर्फ उन्मुख देखिएको थियो । 

तर दोस्रो हाफमा चेल्सीले आक्रामक खेल पस्कियो । खेलको ४९औं मिनेटमा कप्तान रिस जेम्सले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । दबाब बढाउँदै लगेको चेल्सीका लागि ६६औं मिनेटमा जाओ पेड्रोले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन ।

खेल निकै प्रतिस्पर्धात्मक र आक्रामक देखिएको थियो । चेल्सीले बल पोजेसनमा ५२ प्रतिशत नियन्त्रण जमाउँदै कुल १४ पटक प्रहार गरेको थियो, जसमध्ये ४ प्रहार टार्गेटमा थिए । अर्कोतर्फ न्युक्यासलले ११ प्रहार गर्दा ५ प्रहार टार्गेटमा राख्न सफल भयो । 

यो बराबरीपछि चेल्सी प्रिमियर लिग तालिकाको चौथो स्थानमा यथावत् छ । यद्यपि चेल्सीको पछिल्लो प्रदर्शन भने केही कमजोर देखिएको छ । टोलीले आफ्ना पछिल्ला पाँच खेलमध्ये मात्र एकमा जित निकाल्न सकेको छ । अर्कोतर्फ न्युक्यासल युनाइटेड तालिकाको ११औँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप