शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
थाइल्याण्ड-म्यानमारमा अलपत्र नेपाली

थाइल्याण्ड-म्यानमारमा अनलाइन स्क्यामिङ जालोमा नेपाली, हैरान परराष्ट्र

आइतबार, ०६ पुस २०८२, १७ : ००
आइतबार, ०६ पुस २०८२

काठमाडौँ । गेमको नाममा अनलाइन स्क्यामिङका लागि थाइल्याण्ड, म्यानमार पुर्‍याइएका नेपालीहरू अलपत्र परिरहेका छन् । तीमध्ये कतिपयलाई सरकारले उद्धार गरेर ल्याइरहेको छ । 
 
गैरकानुनी ढंगबाट ती देशमा पुर्‍याउने र अनलाइन जुवा र स्क्यामिङको काममा लगाउने गरेको पाइएको छ । थाइल्याण्ड,  म्यानमार, लाओस लगायत मुलुकमा त्यसरी गएका नेपालीहरू अलपत्र परेका घटना आइरहेपनि जाने क्रम रोकिएको छैन । त्यसलाई रोक्न विभिन्न पहल भइरहेको भएपनि कुनै न कुनै बाटोबाट नेपालीहरू गइरहेको पाइएको परराष्ट्र मन्त्रालय बताउँछ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री ट्राभल एड्भाइजरी, सञ्चारमाध्यममा सन्देश तथा समाचार, व्यक्तिगत भेटघाटमा पनि गलत बाटोबाट थाइल्याण्ड तथा म्यानमार नजान आग्रह गरेपनि नरोकिएको बताउँछन् । 

थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिको क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभन दिइएका विज्ञापन देखाएर नेपालीहरूलाई त्यहाँ पुर्‍याउने गरेको पाइएको छ । त्यति मात्र होइन, वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा यूएई लगायत देशमा रहेका नेपालीहरुलाई समेत थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगि जबर्जस्ती अवैध र जोखिमपूर्ण काममा लगाउने गरेको देखिएको प्रवक्ता क्षेत्री बताउँछन् । 

यसमा पढेलेखेका व्यक्तिहरू नै फसिरहेका छन् । कम्प्युटर तथा आईटीमा दक्ष जनशक्ति तथा इन्जिनियरहरु पनि त्यसमा फसेका छन् । अनलाइन गेममा अदक्ष कामदारको कुनै काम नहुने भएकाले दलालहरूले कम्प्युटर र आईटीमा दक्ष व्यक्तिलाई नै लक्षित गर्छन् । 

परराष्ट्रका अनुसार हालका दिनमा मानव बेचविखन तथा अन्य आपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरुले नेपाली नागरिकहरुलाई कम्बोडिया, लाओस र म्यानमारमा लगि जबर्जस्ती अवैध कार्यहरुमा लगाउने गरेको पाइएको छ । त्यहाँ लगेर रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायत समस्याको बारेमा म्यानमारस्थित नेपाली राजदूतावासमा निवेदन दिनेहरूको संख्या बढिरहेको छ । 

अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टोकरेन्सी जस्ता गैरकानुनी काममा लगाउन दलाल तथा विभिन्न आईटी फर्महरूले बैंककका विभिन्न आईटी फर्म तथा बैंकहरुमा रोजगारीको अवसर देखाएर नेपालीहरुलाई झुक्याएर त्यहाँ पुर्‍याउने गरेको पाइएको परराष्ट्रका प्रवक्ता क्षेत्री बताउँछन् । थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल मार्फत हुने गरेको र विभिन्न स्थानका एजेन्टहरूद्वारा उक्त विज्ञापन गरेर ठगी गरेको परराष्ट्र मन्त्रालय बताउँछ । 

यसलाई नियन्त्रण गर्ने विषयमा श्रम मन्त्रालय र अन्य सरोकारवाला निकायबिच छलफल भइरहेको क्षेत्री बताउँछन् । त्यहाँसम्म पुर्‍याउन भिजिट भिसाकै प्रयोग भएको देखिन्छ । त्यसपछि दलालहरुमार्फत म्यानमार पुर्‍याएर गैरकानुनी काममा लगाउने गरेको पाइन्छ । 

थाइल्याण्ड जान भारत, चीन, यूएईको बाटो पनि प्रयोग गर्ने गरेको पाइएको छ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालबाट विभिन्न बाटो प्रयोग गरेर आएका कतिपय नेपालीहरुलाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डका विभिन्न ठाउँमा गैरकानुनी काममा फसेका छन्, खासगरी अनलाइन स्क्याममा उनीहरुलाई लगाएको पाइएको बताए । 

राज्यको खास पहुँच नपुग्ने जंगल क्षेत्रमा यस्ता गैरकानुनी काम हुने गरेको छ । त्यो द्वन्द्वग्रस्त ठाउँ पनि हो । त्यस्तो ठाउँमा कुनै घटना भएमा प्रहरी, प्रशासनले पनि तत्कालै उद्धार गर्न जाँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप