किर्ते नागरिकता र नामसारी प्रकरणमा वडाध्यक्षसहित सात जना दोषी ठहर
सारांश
- मकवानपुर जिल्ला अदालतले किर्ते नागरिकता र जग्गा नामसारी मुद्दामा वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ।
- अदालतले वडाध्यक्ष राजन दंगाल र अन्यलाई दुई वर्ष कैद र जरिवाना तथा पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद सजाय सुनाएको छ।
- पूर्णबहादुर भ्लोनले आमाको पहिचान लुकाएर जग्गा नामसारी गरेको र अदालतले वास्तविक आमा पत्ता लगाएको थियो।
हेटौँडा । किर्ते नागरिकता प्रमाणपत्र तयार गरी झुटा विवरणका आधारमा जग्गा नामसारी गरिएको घटनामा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ ।
जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
त्यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद र एक लाख ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवप्रसाद कौशिकका अनुसार दोषी ठहर भएकामाथि नागरिकता सम्बन्धी कसुरतर्फ पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण सम्बन्धी कसुरतर्फ तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
अदालतको ठहर अनुसार पूर्णबहादुर भ्लोनले आफ्नी आमाको वास्तविक पहिचान लुकाएर उमादेवी गुरुङलाई आमा उल्लेख गर्दै वडा कार्यालयमा सिफारिस मागेका थिए । त्यसपछि वडा कार्यालयले २०८० मङ्सिर १८ गते सर्जमिन मुचुल्का तयार गर्दा रामबहादुर न्यासुरलगायत व्यक्तिहरूले उमादेवी नै पूर्णबहादुरकी आमा भएको भनी झुटो सर्जमिन गरेका थिए ।
सोही सर्जमिन र सिफारिसका आधारमा उमादेवीको नाममा रहेको जग्गा पूर्णबहादुरको नाममा नामसारी गरिएको थियो। तर, मुद्दाको सुनुवाइका क्रममा अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा पूर्णबहादुरकी वास्तविक आमा कान्छीमाया भ्लोन रहेको ठहर गरेको हो ।
अदालतको फैसलापछि दोषी ठहर भई कैद सजाय तोकिएका वडाध्यक्ष राजन दंगाल, पूर्णबहादुर भ्लोन, रामबहादुर न्यासुर र जमानसिंह भ्लोन हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण