सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
विश्व

हादी हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव !

मङ्गलबार, ०८ पुस २०८२, १७ : १८
मङ्गलबार, ०८ पुस २०८२

काठमाडौँ । बंगलादेशमा १२ डिसेम्बरमा त्यहाँको इन्कलाब मञ्चका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या भयो । उक्त घटनासँगै छिमेकी भारत र बंगलादेशबिच तनाव बढेको छ । हादी हत्या प्रकरणलाई लिएर बंगलादेश र भारतबिच आरोप-प्रत्यारोप चलिरहेको छ । यसले दुई देशको सुरक्षा अवस्थालाई लिएर समेत चिन्ता व्यक्त गर्न थालिएको छ । 

बंगलादेशले भारतमा रहेका आफ्ना नियोगहरुबाट थुप्रै कर्मचारी फिर्ता बोलाइसकेको छ भने केही नियोग बन्द नै गराएको छ । भारतले पनि बंगलादेशमा रहेका आफ्ना केही नियोग बन्द गरेर कर्मचारी कटौती गरेका समाचार भारतीय मिडियाले सार्वजनिक गरिरहेका छन् । भारतले बंगलादेशमा रहेका अल्पसंख्यकहरूमाथि भएको आक्रमणप्रति बारम्बार चिन्ता व्यक्त गरेपनि बंगलादेशले यो आन्तरिक विषय भएको बताउँदै आएको छ । 

द डेली स्टारका अनुसार बंगलादेशमा रहेको भारतीय भिसा आवेदन केन्द्रले पछिल्लो परिस्थितिलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि कामकाज स्थगित गरेको छ । नयाँ दिल्लीस्थित बंगलादेशी उच्च आयोग नजिकै भएको प्रदर्शनलाई लिएर बंगलादेश सरकारले आपत्ति जनाएको छ । 

भारतीय विदेश मन्त्रालयले भने त्यसको खण्डन गरेको छ । बंगलादेशमा युवाहरूको एक समूहले गार्मेन्टका कामदार दीपुचन्द्र दासको हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन भएको थियो । त्यसपछि भारतले बंगलादेशमा रहेका अल्पसंख्यकहरूको सुरक्षाको माग गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

Hadi Bangladesh Tension

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले उक्त घटनालाई लिएर बंगलादेशी मिडियाले भ्रामक प्रचार गरेको टिप्पणी गरेका छन् । भारतको तर्फबाट सुरक्षा स्थिति बिगार्ने काम कहिल्यै नभएको दाबी गरे । 

उता बंगलादेशको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सल्लाहकार तौहिद हुसेनले बंगलादेशी उच्च आयोग रहेको सुरक्षित कूटनीतिक क्षेत्रमा प्रदर्शनकारीहरूलाई प्रवेश गर्दा भारतीय पक्षले नरोकेको दाबी गरेको द डेली स्टारले उल्लेख गरेको छ । उनले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो नियोग, कूटनीतिक क्षेत्रको निकै भित्र छन्, त्यहाँ हतपत प्रदर्शनीकारी जानै सक्दैन । त्यहाँ हिन्दु कट्टरपन्थी संगठनका २५ वा ३० जनाको समूह कसरी भित्र प्रवेश गरे ?’

सल्लाहकार हुसेनले भनेका छन्, ‘एक बंगलादेशी नागरिकको निर्मम हत्या भएको छ, यसलाई यहाँको अल्पसंख्यक सुरक्षा मुद्दासँग जोड्नुको कुनै औचित्य छैन । बंगलादेशी अधिकारीहरूले यसमा तत्काल कारबाही अघि बढाएका छन् ।’ 

इन्कलाब मञ्चका सरिफ उस्मान हादीलाई गोली प्रहार गर्ने व्यक्ति भारत भागेको बंगलादेशले दाबी गरेको छ । १४ डिसेम्बरमा बंगलादेशको विदेश मन्त्रालयले त्यहाँ रहेका भारतीय उच्चायुक्त प्रणय वर्मालाई बोलाएर भारतमा रहेका अवामी लिगका सदस्यहरूद्वारा बंगलादेशविरुद्ध भइरहेका गतिविधिप्रति ध्यानाकर्षण गराएको थियो । 

मन्त्रालयले हादीको हत्यामा संलग्न व्यक्तिहरु भारतीय भूमि प्रवेश गरेको भए तत्काल पक्राउ गरी सुपुर्दगी गर्न आग्रह गरेको छ । तर भारतले बंगलादेशको दाबीलाई अस्वीकार गरेको छ । भारतले बंगलादेशविरुद्ध आफ्नो भूमि कहिल्यै पनि प्रयोग हुन नदिने विदेश मन्त्रालयले जनाएको छ । भारतले यस्तो बताएपनि बंगलादेश आश्वस्त हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप