जेनजी आन्दोलन र निर्वाचनबारे मुख्यमन्त्री र गृहमन्त्रीबिच सवाल–जवाफ
सारांश
- कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुर्खेतमा सम्पन्न भयो, जसमा निर्वाचन र सुरक्षामा केन्द्रित बहस भयो।
- मुख्यमन्त्री कँडेलले निर्वाचनको लागि उपयुक्त वातावरण नभएको र सुरक्षाको अवस्था कमजोर रहेको बताए।
- गृहमन्त्री अर्यालले तोकिएको समयमै निर्वाचन गराउने र सुरक्षा निकायलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
सुर्खेत । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । बुधबार वीरेन्द्रनगरको २०८२ सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटेलमा सम्पन्न भएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा आयोजित एक दिवसीय उक्त सुरक्षा गोष्ठीमा विशेषगरी आगामी फागुनमा हुने निर्वाचन केन्द्रित बहस भयो ।
निर्वाचनको विषयलाई लिएर गृहमन्त्री अर्याल र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबिच सवाल–जवाफ नै भयो । सुरुमा बोलेका मुख्यमन्त्री कँडेलले अहिलेकै अवस्थामा चुनाव हुने वातावरण सरकारले नबनाएको निष्कर्ष निकाले ।
‘हामी लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यासमा छौँ । लोकतन्त्रमा आवधिक निर्वाचन यसको मुटु हो, तर, विडम्बनापूर्ण निर्वाचन नजिकिँदै गर्दा वा सामान्य राजनीतिक गतिविधिमा पनि मतदाता र उम्मेदवारहरू पूर्ण रूपमा ढुक्क हुने अवस्था अझै बनेको छैन,’ कँडेलले भने ।
उनले थपे, ‘लोकतन्त्र भनेको भयरहित वातावरणमा विकल्प छान्ने स्वतन्त्रता हो, यदि मतदाताले त्रासमा भोट हाल्नुपर्यो भने, वा उम्मेदवारले धम्कीका कारण आफ्ना एजेन्डा राख्न सकेन भने, त्यो लोकतन्त्रको उपहास हो ।’
निर्वाचनलाई केवल प्राविधिक प्रक्रिया मात्र नभई, एउटा उत्सवको रूपमा मनाउन सक्ने सुरक्षा वातावरण तयार पार्नु राज्यको दायित्व रहेको उनले बताए । आफू पछिल्लो परिस्थितीकाबिच कर्णालीका विभिन्न जिल्लाहरू स्थलगत पुग्दा शान्ति सुरक्षाको अवस्था खासै राम्रो नरहेको पाइएको कुरा कँडेलले राखे ।
मुलुकका प्रमुख राजनीतिक दल र शीर्ष नेताहरूप्रति घृणायुक्त भावहरू फैलाइएको उनले बताए । ‘जेनजीका नाममा कुनै अमुक व्यक्ति समुहले स्थानीय प्रहरी प्रशासनमाथी दवाव सृजना गरिरहेको छ,’ उनले थपे, ‘सुरक्षा प्रमुखहरूबाट अभिव्यक्त नभएपनि भयरहित अवस्थामा स्वतन्त्र र निर्भय साथ काम गर्ने वातावरण छैन ।’
लुटिएका हतियार र भागेका कैदीहरूले कतिबेला बदलाभाव लिएर कसको हत्या गर्ने हुन भन्ने नागरिकमा त्रास रहेको अवस्थामा निर्वाचन कसरी हुनसक्छ ? भन्दै गृहमन्त्री समक्ष कँडेलले कुरा राखे । गाँउमा राजनीतिक कार्यक्रम लिएर जाँदा कतै असहज भइहाल्यो भने आफ्नै सुरक्षाको कारण प्रहरी प्रशासन पुगिहाल्नेमा संशय नै रहेको पनि उनले बताए ।
आफ्नो पार्टीका अध्यक्षमाथि संकेत गर्दै थपे, ‘मुलुकको प्रमुख दलको पार्टी अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माथी स्थानहद तोकिएको छ, यस्तो अवस्थामा निर्धारित मितिमा निर्वाचनको वातारण कसरी बन्न सक्ला गृहमन्त्रीज्यू ? बाहिर धारणा व्यक्त गरे जस्तो निर्वाचनको सन्र्दभमा सहज अवस्था छैन ।’
निर्वाचनको वातावरण बनाउने काम सरकारको रहेको बताउँदै कर्णालीका कतिपय दुर्गम स्थानमा प्रहरी चौकीहरू पाल टाँगेर चलिरहेका उल्लेख गरे । गृहमन्त्री अर्यालले भने जसरी हुन्छ, तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे ।
‘विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य छ,’ अर्यालले भने ।
बरु देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबिचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए । साथै, उनले वर्तमान सरकारको प्रमुख कार्यभार नै चुनाव गराउनु रहेको पनि प्रस्ट पारे ।
प्रहरीको अवस्थाबारे बोल्दै अर्यालले भने, ‘सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय छन् । सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन मेरो साथ र सहयोग निरन्तर रहने छ ।’
जेनजी आन्दोलनबिच पनि मुख्यमन्त्री र गृहमन्त्रीबिच सवाल–जवाफ जस्तै भयो ।
मुख्यमन्त्री कँडेलले सुरुवातदेखिनै जेनजी आन्दोलनलाई लल्कार्ने खालका टिप्पणी गर्दै आएका छन् । यतिसम्मकि कँडेलले जेनजी युवाहरूलाई ‘तपाईंहरू केटाकेटी नै हो’ भन्नसम्म भ्याएका छन् । उस्तै कुरा सुरक्षा गोष्ठीमा पनि दोहोर्याए ।
तर, गृहमन्त्री अर्यालले ‘जेनजी’ युवाहरूलाई मुल धारको राजनीतिमा ल्याउनुपर्ने कुरा राखे ।
निर्वाचन केन्द्रित प्रहरी प्रमुखको निर्देशन
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी ती चुनौतीहरूको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गरिने बताए ।
प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न तथा आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबिच प्रभावकारी सहकार्य तथा समन्वय गरी कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन नै दिए ।
कर्णालीमा प्रहरीका दुख !
कार्यक्रममा कर्णालीमा सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री कँडेलले नै कमजोर रहेको दलिल पेस गरे ।
सुरक्षाकर्मी साथीहरूको पीडा, अभाव र बाध्यतासँग आफु उत्तिकै जानकार र संवेदनशील रहेको बताउँदै उनले भने, ‘कर्णालीका कतिपय दुर्गम स्थानमा हाम्रा प्रहरी चौकीहरू पाल टाँगेर चलिरहेका छन् ।’
पानी पर्दा चुहिने, हावा चल्दा उडाउने जीर्ण भवनमा बसेर, न्यानो कपडा र पर्याप्त रासनको अभाव झेल्दै, पुराना गाडी वा पैदल गस्ती गरिरहेको उनले बताए । उनले प्रश्न नै उठाए–आफै असुरक्षित, अभाव र तनावमा बाँचिरहेको सुरक्षाकर्र्मीले नागरिकलाई कसरी पूर्ण सुरक्षा र उच्च मनोबलका साथ सेवा दिन सक्छ ?
सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरी चौकीहरूको भौतिक पूर्वाधार निर्माण, अन्य सहयोगका कार्यक्रमहरूमा प्रदेश सरकारले बजेट विनियोजन गरिरहेको पनि उनले बताए । ‘तर त्यो पर्याप्त छैन, कतिपय संघीय कानूनी व्यवस्थाका कारण प्रहरी कार्यालयहरूका पूर्वाधार निर्माण गर्न हामीले चाहेर पनि सकिरहेका छैनौँ,’उनले थपे, ‘सुरक्षाकर्मीलाई सामान्य गाँस, बास र कपासको उचित व्यवस्थापन नभई उच्च नतिजाको अपेक्षा गर्नु अन्याय हुन्छ भन्नेमा म स्पष्ट छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण