रेशम-रञ्जिता पार्टी मिलन : किन छुट्टिए, किन जोडिए ?
धनगढी । पाँच महिनाअघि श्रीमान् श्रीमतीबिचको राजनीतिक र कानुनी लडाइँ उत्कर्षमा पुगेपछि अलग भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एकै ठाउँमा उभिने भएका छन् । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबिच शनिबार औपचारिक रूपमा एकता हुँदैछ ।
राजनीतिक वृत्त र सर्वसाधारणमा अहिले एउटै प्रश्न छ– ‘जब पाँच महिनामै मिल्नु नै थियो त किन छुट्टिनु ?’
पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष रञ्जिता श्रेष्ठले विगतको विभाजनलाई ‘पार्टी फुटाएको’ अर्थमा बुझ्न नहुने तर्क गरेकी छन् । उनले रेशम चौधरीले रहरले नभई आफ्नो राजनीतिक अस्तित्व रक्षाका लागि बाध्य भएर नयाँ दल खोलेको बताएकी छन् ।
‘उहाँ (रेशम) नागरिक उन्मुक्ति पार्टीबाट छुट्टिएर जानुभएको थिएन, आफ्नो अस्तित्व बचाउनका लागि अर्को पार्टी खोल्नुभएको थियो,’ रञ्जिताले भनिन्, ‘आखिर एउटै पार्टीका साथीहरू भिन्न–भिन्न बाटोमा हिँड्नुभन्दा एक भएर जानु नै राम्रो हुन्छ भन्ने महसुस मलाई पनि लाग्यो र उहाँलाई पनि लाग्यो ।’ विगतको तितो बिर्सेर एक ठाउँमा आउनुको मुख्य कारण संगठन विस्तारमा देखिएको बाधा पनि भएको उनले बताइन् ।
‘नयाँ परिस्थितिमा नागरिक उन्मुक्तिलाई पहाड उकाल्न सकिएन, संगठन विस्तार हुन सकेन,’ उनले भनिन्, ‘त्यसैले पहिलेदेखिकै विचार अनुसार मिलेरै जाऔं भन्ने निष्कर्षमा पुगेका हौँ ।’
२०७८ पुसमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी २०७९ को चुनावमा ४ सिट जित्दै राष्ट्रिय राजनीतिमा उदाएको हो । तर रेशम चौधरी जेलमुक्त भएपछि २०८० पुसमा महाधिवेशनसँगै विवाद सुरु भयो । महाधिवेशनबाट रेशम अध्यक्ष चुनिए तर निर्वाचन आयोगले रञ्जितालाई नै वैधानिकता दियो ।
श्रीमान्–श्रीमतीबिचको यो विवाद उग्र बन्दा सुदूरपश्चिम प्रदेश सरकार निर्माणदेखि केन्द्रसम्म गुटगत राजनीति हाबी भयो । एकले अर्कोलाई कारबाही गर्ने शृङ्खला चल्यो । अन्ततः भदौ २९ गते रेशम चौधरी पार्टीबाट अलग भए र कात्तिक २ गते ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ गठन गरे ।
तर अहिले आएर रञ्जिताले रेशमको नेतृत्व स्वीकार गर्दै एकता गर्ने निर्णय गरेकी हुन् । शनिबार हुने एकतामा पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने र झण्डा तथा चुनाव चिह्न पनि रेशमले दर्ता गरेको नयाँ पार्टीकै कायम हुने बताइएको छ ।
रेशम चौधरी नेतृत्वको पार्टीले यसअघि नै राजेन्द्र महतो र अशोक राईसँग चुनावी गठबन्धन गर्ने सहमति गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण