सुर्खेत–२ : नेकपाका मल्लद्वारा भेटघाट अभियान सुरु
सुर्खेत । अन्य दलहरूमा उम्मेदवारबारे टुङ्गो नै नलागेको अवस्थामा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले भने अगुवा कार्यकर्ता भेटघाट अभियान सुरु गरिसकेका छन् ।
मल्ल सुर्खेत–२ मा प्रत्यक्षतर्फ एकल सिफारिस भएका थिए । ०७४ यता उम्मेदवार नपाएको साविक माओवादीले यो पटक एकीकृत दलसहित उम्मेदवार पाएको छ ।
सशस्त्र युद्धका लडाकु कमाण्डर मल्लले प्रारम्भिक चरणमा पार्टीका अगुवा तथा कायकर्ताहरूसँग भेटघाट तथा छलफल चलाउन सुरु गरिएको बताए ।
उनले यसअघि वीरेन्द्रनगर नगरपालिकाका १, ३, १४, वडामा भेटघाट कार्यक्रम गरिसकिएको र बुधबार वडा नम्बर ४ मा भेटघाट कार्यक्रम गरिएको बताए । वीरेन्द्रनगरका सबै वडामा अगुवा कार्यकर्ता भेटघाट गरे पश्चात् उक्त क्षेत्र अन्तर्गत पर्ने पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा जाने उनले बताए ।
‘चुनावको मिति तोकिसकिएको छ, हाम्रो पार्टी चुनावमा पनि होमिसकेको छ,’ मल्लले भने, ‘त्यसो हुँदा चुनावी अभियानतर्फ हामी केन्द्रित भइसक्यौँ ।’
यो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट ६ जनाको नाम सिफारिस गरिएको छ । जसमा निवर्तमान सांसद हृदयराम थानीलाई नै सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।
यद्यपि एमालेले भने अहिलेसम्म उम्मेदवारबारे कुनै छलफल गरेको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण