शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वडा नम्बर ३० भित्र २९ वटा अत्याधुनिक सीसीटिभी क्यामरा जडान, प्रहरी वृत्तबाट निगरानी

शुक्रबार, १८ पुस २०८२, ११ : ४५
शुक्रबार, १८ पुस २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका वडाहरूले सीसीटीभी क्यामरा जडान गरी निगरानी कक्ष सञ्चालनमा ल्याएका छन्, जसले अपराध नियन्त्रण र विकासमा सहयोग गर्नेछ।
  • वडा नं. २६ ले ७७ वटा क्यामरा जडान गरी निगरानी कक्ष सञ्चालनमा ल्याएको छ भने अन्य वडामा पनि जडान प्रक्रिया जारी छ।
  • नयाँ प्रणालीले उच्च गुणस्तरको दृश्य प्रदान गर्ने, स्वचालित सूचना पठाउने र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरूले आफ्नो क्षेत्रभित्र अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरेर फाइवर इन्ट्रानेटका माध्यमबाट निगरानी कक्षमा जोडिरहेका छन् । फाइबर इन्ट्रानेटका लागि नेपाल टेलिकमसँगको सहकार्य गरिएको छ ।

यस क्रममा वडा नम्बर २६ ले ७७ वटा क्यामरा जोडेर वडामा स्थापना गरेको निगरानी कक्ष सञ्चालनमा ल्याइसकेको छ । वडा नम्बर ३० ले महानगरीय प्रहरी वृत्त मालीगाउँमा प्रणाली जडान गरेर बिहीबारबाट सञ्चालन प्रारम्भ गरेको छ । वडा नम्बर ३२ को बोलपत्र आव्हान हुने चरणमा छ । वडा नं. १४ को बोलपत्र आव्हान भइसकेको छ । वडा नं. ३ को बोलपत्र आव्हान हुने चरणमा छ ।

महानगरका अनुसार भूमिगत प्राइमरी नेटवर्कबाट प्रणाली चल्ने भएकोले सीसीटिभी बिग्रिने समस्या कम हुनेछ । विग्रको ठाउँ तत्काल पत्ता लाग्नेछ । यसबाट तत्काल मर्मत गर्न सकिनेछ । यी विशेषताका कारण विगतको तुलनामा अहिलेको प्रणाली दिगो र भरपर्दो छ ।

बालाजुमा निगरानी कक्ष

सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु वाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । महानगरका अनुसार यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्रा एचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । तथ्याङ्क र विवरण प्राप्त हुन्छन् । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको नोटिफिकेसन पुग्छ । 

कुनै स्थानमा अपराध भए अपराधीलाई तत्काल पक्राउ गर्न सकिन्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ भन्छन्  ‘विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सीसीटिभी क्यामरामा क्षति गरेको देखिन्छ । एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जोगाउनु पर्छ । यसका लागि काम गर्दैछौँ ।’

महानगरपालिकाभित्र विगतमा तारबाट क्यामराका दृश्य सङ्कलन गर्ने गरिएको थियो । यसले सहरी सुन्दरतामा ह्रास गरेको त थियो नै । यससँगै तार चुँडियो भने प्रणाली नै नचल्ने अवस्थामा पुग्थ्यो । फाइबर सञ्जालमा प्रणाली जोडिएपछि दिगोपनाको स्तर बढ्दै गएको छ । वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की भन्छन् , ‘सडक तथा सार्वजनिक स्थलमा गल्ती गरेर अब कोही उम्किन पाउँदैन । यसले अपराध गर्नेको मात्र होइन । विकासमा दोहोरोपना गर्ने र गलत विकास संरचना बनाउनेको पनि निगरानी गर्नेछ ।’

वडा नम्बर ३० मा एउटा पीटीजेड र २८ वटा बुलेट क्यामरा जडान भएका छन् । वडासचिव देवराज जोशीका अनुसार ६९ लाख ९७ हजार रुपियाँको लागत अनुमान गरिएकोमा ४३ लाख ९३ हजार रुपियाँ कबोल गर्ने बोलपत्रदाता नयाँ किरण अल नेपाल जेभीबाट काम गराइएको हो । आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट २०८२ बैशाख २६ गते बोलपत्र आव्हान गरिएको थियो ।

छनोट भएको बोलपत्रदातालाई ९० दिनको कार्य अवधि दिएर कार्तिक १४ गते कार्यादेश दिइएको थियो । पुस ८ गते जडान कार्य सम्पन्न भएको हो । प्रणाली सञ्चालन अवसरमा बोलपत्रदाताले कार्य सम्पन्न प्रतिवेदन पेस गरेका थिए ।

अहिले जडान भएका क्यामराहरू एआइ प्रविधिमा आधारित ८ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभीआइएफ) प्रोकोकलका हुन् । ८ मेगापिक्सेल र ४ मेगापिक्सेलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरु स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छन् । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छन् । इन्बिल्ट एआई फिचर भएका यी क्यामराले, सवारी साधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारी साधन आवतजावतको गणना गर्न सक्छ । वातावरणको अवस्था देखाउन सक्छ ।

बत्ती गए पनि यी क्यामरा चल्ने व्याकअप पावरको व्यवस्था गरिएको छ । पीटीजेड (स्वचालित रूपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने)’ यी क्यामराबाट प्राप्त हुने तथ्याङ्कलाई भविष्यमा तर्जुमा गरिने स्मार्ट सहरको नीति तथा कार्यक्रम र विनियोजन गरिने बजेटका लागि आधारका रूपमा प्रयोग गर्न सकिन्छ ।

वडा वडाबाट जडान हुने प्रणालीसँगै महानगरपालिकाको गौरव योजना ‘महानगरपालिकाले देख्छ’ कार्यक्रमका ५ वटा प्याकेज मूल्याङ्कन चरणमा छन् । यी क्यामराको विशेषता पनि वडामा जडान गरिए समान हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप