शेखरले भने– निर्वाचन नजिकिएकोले संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न सकिएन
सारांश
- डा. शेखर कोइरालाले समय अभावका कारण निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने प्रस्ताव स्वीकार गरे।
- उनले महाधिवेशन सार्ने पक्षमा नभए पनि निर्वाचनअघि सम्भव नदेखेको बताए।
- कांग्रेस कार्यसम्पादन समितिले वैशाख २८ गतेदेखि महाधिवेशन गर्ने प्रस्ताव पारित गर्यो।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समय अभावको कारण निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न नसकिएको बताएका छन् । आज आफू पक्षका नेताहरूसँगको छलफलको क्रममा उनले वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावको बचाउ गर्दै यस्तो बताएका हुन् ।
आफू महाधिवेशन पछि सार्ने पक्षमा नभए पनि समय अभावका कारण निर्वाचनअघि महाधिवेशन गर्ने सम्भव नदेखेको उनको भनाइ थियो । कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले महाधिवेशन र निर्वाचनको काम सँगसँगै अघि लानुपर्ने प्रस्ताव राखे पनि अधिकांश नेताले समय अभावका कारण त्यो सम्भव नरहेको बताएपछि खड्काको प्रस्तावमा सहमति जनाएको बताएका थिए ।
संस्थापन पक्षको प्रस्ताव विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्र विशेष महाधिवेशन गर्ने अडान लिएपछि कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका हुन् ।
छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँ, कालीबहादुर सहकारी, भूपेन्द्रबहादुर शाही, रञ्जित कर्ण, दीपक भट्टराई, लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु मुस्कान भुसालसहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए ।
छलफलमा सहभागी अधिकांश नेताहरू विशेष महाधिवेशनको विपक्षमा उभिएको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिए ।

शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैशाख २८ गतेदेखि पार्टी महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो उक्त प्रस्तावमा महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका थिए ।
विशेष महाधिवेशन पक्षधरले भने–कम्प्रोमाइज गर्न तयार छौँ
सो छलफलमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका नेताहरू पनि सहभागी थिए । उनीहरुले विशेष परिस्थितिमा आफूहरू कम्प्रोमाइज गर्न तयार रहेको सन्देश कोइरालालाई दिएका थिए ।
विशेष महाधिवेशन हस्ताक्षरकर्ताको नेतृत्व गर्दै आएका देवराज चालिसे, उज्ज्वल बराल र दिक्पालबहादुर शाही छलफलमा सहभागी भएका हुन् । उनीहरुले विशेष महाधिवेशन पक्षधरको भेलामा उपस्थित भएर विषयवस्तु राख्न कोइरालालाई सुझाव दिएका थिए । पार्टी नै संकटमा पर्छ भने विशेष महाधिवेशनको मागबाट पछि हट्न आफूहरू तयार रहेको सन्देश कोइरालालाई दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण