खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय
काठमाडौँ । विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाइएको हो ।
न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश भएको थियो ।
तेजनारायण सिंहले ६ जनालाई दोषी ठहर गर्ने रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नं. ४ का वडा अध्यक्ष भिम बहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई दोषी ठहर भएका हुन् ।
अदालतले दोषी ठहरिएका ६ जनालाई नै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा गाउँपालिका अध्यक्षसहित ५ जनालाई र सोही ऐनको दफा २२ बमोजिम मतियारको रूपमा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई समान सजाय सुनाइएको हो ।
प्रतिवादीहरूले बहसका क्रममा “भुलवश“ कागजात तयार भएको र पछि सच्याइएकाले भ्रष्टाचारको नियत नभएको दाबी गरेका थिए ।
तर, विशेष अदालतले “विभिन्न तहगत प्रक्रियाबाट योजना नै नभएको ठाउँमा सम्झौता गर्ने, अनुगमन प्रतिवेदन बनाउने र चेक काट्नेसम्मको कार्य हुनुलाई भुलवश मान्न नसकिने“ ठहर गरेको छ । फैसलामा भनिएको छ, “बहु व्यक्तिहरूको संलग्नतामा तहगत रूपले भएको कार्यलाई भुलवश भएको भन्न मिल्ने अवस्था देखिएन ।“ यस मुद्दामा अर्का एक प्रतिवादी मदनराज जोशीले भने सफाइ पाएका छन् ।
जिल्ला बझाङ, खप्तडडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणको काम आर्थिक वर्ष २०७६/०७७ मै सम्पन्न भइसकेको थियो । तर, सोही कामलाई आव २०७७/०७८ को नयाँ योजना भनी नक्कली उपभोक्ता समिति गठन, लागत अनुमान, सम्झौता, र कार्य सम्पन्न प्रतिवेदन समेतका झुटा कागजात तयार पारिएको थियो ।
ती झुटा कागजातका आधारमा १४ लाख ८ हजार ८१७ रुपैयाँ भुक्तानीका लागि चेक समेत जारी गरिएको थियो । यद्यपि, भुक्तानी हुनु अगावै अनियमितताको कुरा बाहिर आएपछि बैंकलाई पत्राचार गरी उक्त चेक रद्द गरिएको थियो ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण