शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोकियोको माछा बजारमा ब्लूफिन टुनाले तोड्यो नीलामीको कीर्तिमान, करिब ४६ करोड रुपैयाँमा बिक्री

मङ्गलबार, २२ पुस २०८२, ०० : १९
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • जापानको टोयोसु माछा बजारमा नयाँ वर्षको पहिलो लिलामीमा २८.८ करोड रुपैयाँमा टुना माछा बिक्री भयो।
  • २४३ किलोको ब्लूफिन टुना माछा 'सुशी–जानमाई' सञ्चालन गर्ने कियोमुरा कर्पोरेसनले किन्यो।
  • कम्पनीका अध्यक्ष कियोशी किमुराले यसअघि २०१२ र २०१३ मा पनि रेकर्ड मूल्यमा टुना किनेका थिए।

टोक्यो । जापानको चर्चित टोयोसु माछा बजार सोमबार बिहान असाधारण उत्साहले भरियो। नयाँ वर्षको पहिलो नीलामीमै एक विशालकाय ब्लूफिन टुना माछाले सबैको ध्यान तान्दै इतिहास रच्यो । २४३ किलोग्राम तौलको यो टुना ३.२ मिलियन अमेरिकी डलर, अर्थात् करिब ४६ करोड रुपैयाँमा बिक्री भयो, जुन हालसम्मकै उच्च मूल्य मानिएको छ।

यो ऐतिहासिक बोली लोकप्रिय सुशी चेन ‘सुशी–जानमाई’ सञ्चालन गर्ने कियोमुरा कर्पोरेसन ले जित्यो। कम्पनीका अध्यक्ष कियोशी किमुरा, जसलाई जापानमा ‘टुना किङ’ भनेर चिनिन्छ, फेरि एकपटक सबैभन्दा महँगो टुना किन्न सफल भए ।

नीलामीपछि सञ्चारकर्मीसँग कुरा गर्दै किमुराले भने, “नयाँ वर्षको पहिलो टुना शुभ मानिन्छ। हामी अलि सस्तोमा पाउँछौँ कि भन्ने लागेको थियो, तर मूल्य एकाएक आकासियो ।”

किमुराका लागि यो पहिलो कीर्तिमान भने होइन। उनले यसअघि २०१२ र २०१३ मा पनि रेकर्ड मूल्यमा ब्लूफिन टुना किनेका थिए । सन् २०१९ मा उनले २.१ मिलियन डलर तिरेर अर्को विशाल टुना खरिद गरेका थिए ।

टोयोसु बजारमा हरेक वर्ष हुने नयाँ वर्षको पहिलो नीलामी विशेष महत्वका साथ हेरिन्छ । परम्परागत रूपमा यस दिन माछाहरू अत्यन्तै उच्च मूल्यमा बिक्री हुने गर्छन् । बिहानैदेखि हुने यो नीलामीको जोशिलो माहोल हेर्न पर्यटकहरू समेत ठुलो सङ्ख्यामा पुग्ने गर्छन् ।

करोडौं रुपैयाँमा बिक्री भएको यो टुना नीलामी सकिनासाथ किमुराका सुशी रेस्टुरेन्टहरूमा पुर्‍याइयो। त्यहाँ ग्राहकहरूका लागि विशेष सुशीको व्यवस्था गरिएको थियाे ।

रेस्टुरेन्टमा उपस्थित एक ग्राहकले एएफपीसँग भने, “नयाँ वर्षको सुरुवातमै यति शुभ भोजन गर्न पाउँदा लाग्छ, यो वर्ष मेरो लागि राम्रो रहनेछ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप