उच्च व्यावसायिकता र अनुशासनका साथ कार्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनको श्रीवृद्धिका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताए।
- उनले आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नागरिकमैत्री सेवा प्रवाह गर्न आग्रह गरे।
- अपराध नियन्त्रण, तस्करी नियन्त्रण, र फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिन निर्देशन दिए।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनको श्रीवृद्धिका लागि सामूहिक सहकार्य अपरिहार्य रहेको बताउँदै सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता र अनुशासन प्रदर्शन गर्न निर्देशन दिएका छन्। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर नागरिकमैत्री सेवा प्रवाह गर्न आग्रह गरेका हुन्।
समाजमा देखा परेका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रभावकारी रणनीति बनाउनुपर्नेमा जोड दिँदै उनले अपराधविरुद्ध निर्मम भएर आफ्नो जिम्मेवारी वहन गर्न प्रहरी अधिकारीहरूलाई सचेत गराए। महानिरीक्षक कार्कीले अपराध अनुसन्धानलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन, सीमा नाकामा हुने तस्करी नियन्त्रण गर्न, अवैध हातहतियार बरामद गर्न र फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
भिड नियन्त्रणका क्रममा बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ पालना गर्नुपर्ने र सवारी दुर्घटना न्यूनीकरणमा थप क्रियाशील हुनुपर्ने उनको भनाइ छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन स्थानीय तह र सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गरी जवाफदेही प्रहरी सेवा प्रवाह गर्न उनले मातहतका कार्यालयलाई निर्देशन दिए।
प्रहरीको बोली, वचन र व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै महानिरीक्षक कार्कीले नागरिकका गुनासो सम्बोधनमा कुनै कसर बाँकी नराख्न जोड दिएका छन्। सोही अवसरमा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए।
कार्यक्रममा काठमाडौं उपत्यका, सातै प्रदेशका प्रहरी प्रमुखहरू, ट्राफिक व्यवस्थापन र तालिम केन्द्रका प्रतिनिधिहरू सहित विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण