विश्वप्रकाश, चन्द्र भण्डारी र सुनील शर्मा एकसाथ विशेष महाधिवेशनस्थलमा पुगे, कसले के भने ?
सारांश
- नेपाली कांग्रेसका नेताहरू विशेष महाधिवेशनको तयारी स्थल भृकुटीमण्डपमा पुगेका छन्।
- महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार प्रक्रिया पूरा भए महाधिवेशनले वैधानिकता पाउने बताए।
- डा. चन्द्र भण्डारीले पार्टी एकताको सन्देश दिन र युवाको अभियान सकारात्मक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मासहित प्रभावशाली नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनील शर्मा एकसाथ महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन् ।
संस्थापन पक्षको असहमतिकाबिच पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशनको तयारीको अवलोकन गर्न शुक्रबार यी तीनै जना नेताहरू भृकुटीमण्डप पुगेका हुन् ।
विशेष महाधिवेशनको तयारी भइरहेको स्थलमा पुगेर महामन्त्री शर्माले पार्टीको विधानबमोजिम प्रक्रिया पूरा भएपछि विशेष महाधिवेशनले वैधानिकता पाउने धारणा राखे ।
उनले आफू कुनै गुट वा संस्थापन/इतर भन्नुभन्दा पनि पार्टीको महामन्त्रीको हैसियतले विधि र विधानको पालना भए–नभएको हेर्न आएको स्पष्ट पारे ।
शर्माले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण हुने र सोही अनुसार महाधिवेशनले गर्नुपर्ने आवश्यक विषयहरूमा प्रवेश गर्ने बताए ।
उनले पार्टीका सबै नेताहरूप्रति आफ्नो श्रद्धा रहेको भन्दै कसैलाई होच्याउने वा अनादर गर्ने पक्षमा आफू नरहेको तर विधानको व्यवस्था अनुसार काम हुनुपर्नेमा जोड दिए ।
पुस २७ गते नै विशेष महाधिवेशन तोकिएको सन्दर्भमा उनले लोकतन्त्रमा एउटै मितिमा धेरै गतिविधि हुन सक्ने भन्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले आयोजक साथीहरूले उठाएको ‘विनम्र तर बुलन्द’ भन्ने नाराको प्रशंसा गर्दै प्राविधिक र राजनीतिक दुवै पक्ष मिलेर जानुपर्ने सुझाव दिए ।
महामन्त्री शर्मापछि बोलेका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन र एकताको सन्देश दिन आफूहरू एउटै गाडीमा आएको बताए ।
उनले पार्टीभित्र देखिएको निराशा र डिप्रेसनजस्तो अवस्थालाई चिर्न युवाहरूको यो अभियान सकारात्मक रहेको टिप्पणी गरे । भण्डारीले विश्वप्रकाश शर्मा र गगन थापा पार्टीको वर्तमान र भविष्य दुवै भएको उल्लेख गर्दै अरूभन्दा उनीहरूको काँधमा धेरै जिम्मेवारी रहेको बताए ।
पार्टीलाई एकताबद्ध बनाउन र विधिमा चलाउन आफूहरू निरन्तर लागिरहेको भन्दै उनले विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । उनले यो भेलालाई पार्टी मिलाउने अभियानका रूपमा बुझ्न आग्रह गर्दै ७७ वटै जिल्लाका साथीहरूको भावनाको कदर हुनुपर्ने बताए ।
यसैगरी डा. सुनील शर्माले भने संस्थापन पक्षले पेलेर जाने नीति लिएका कारण विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता आइपरेको बताए ।
उनले विशेष महाधिवेशनका लागि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुटिसकेको दाबी गरे । सुरुमा २३–२४ जिल्लाबाट हस्ताक्षर आएकोमा पछिल्लो समय २५० भन्दा बढी साथीहरू थपिएको र यो संख्या अझै बढ्ने उनको भनाइ थियो ।
उनले पार्टीमा टिकट वितरणमा अन्याय भएको र ४० प्रतिशतको मागलाई बेवास्ता गरिएको गुनासो गरे । विधानअनुसार विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि साथीहरू स्वतःस्फूर्त रूपमा यो अभियानमा होमिएको उनले स्पष्ट पारे ।
उनले विश्वप्रकाश र गगनजीहरूकै राजनीतिक भविष्य यस पार्टीमा रहेकाले उहाँहरूले नै निकास दिनुपर्ने धारणा राखे ।
भृकुटीमण्डपमा मञ्च र टेन्ट निर्माणको काम धमाधम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण