शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

क्षेत्रगत रूपमा फोहर व्यवस्थापन गर्न तथ्याङ्क सङ्कलन गरिँदै

शुक्रबार, २५ पुस २०८२, २० : ०९
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्षेत्रगत रूपमा फोहर व्यवस्थापन गर्न तथ्याङ्क सङ्कलन गरिरहेको छ । कामपाले फोहरलाई थप प्रभावकारी रूपमा व्यवस्थापन गर्न ३२ वटा वडालाई सातवटा क्षेत्रमा विभाजन गरी सुरु गरेको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको हो ।

विभाजन गरिएका क्षेत्रको फोहर उत्पादनको अवस्था, उत्पादनको स्रोत, उत्पादनको मात्रा, फोहर व्यवस्थापनको प्रक्रियालगायत विषयमा तथ्याङ्क लिने काम अन्तिम चरणमा पुगेको कामपाको वातावरण व्यवस्थापन विभागका सिभिल इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सातमध्ये अहिले १, २, ३, ४, ५ र ६ क्षेत्रको तथ्याङ्क लिने काम सकिएको छभने क्षेत्र सातमा पर्ने भित्री वडाहरूको मात्र काम बाँकी छ । सबै वडामा तथ्याङ्क लिने काम सकिएसँगै सोहीअनुसार फोहर व्यवस्थापन गर्न सुरु गरिने नेपालले जानकारी दिए ।

फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको विभागको भनाइ छ । प्रत्येक क्षेत्रमा एक–एकवटा ‘ट्रान्फरस्टेसन’ तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख््याका आधारमा क्षेत्र निर्धारण गरेको इञ्जिनियर नेपालले बताए।

अहिले कामपाको २३ स्थानीय तहमा उत्पादित फोहर ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुका साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थान गर्न लागिएको हो । यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लागाउने तयारीसमेत गरेको छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल वडा नम्बर ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ ।

अन्य वडामा पनि फोहर वर्गीकरण गरेरमात्र व्यवस्थापन गर्ने तयारी कामपाले गरिरहेको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिने कामपाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप