शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी

शुक्रबार, १२ असार २०८३, १४ : ४२
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । 

लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन उक्त विभाग स्थापना गर्ने तयारीमा सरकार अघि बढेको स्पष्ट पारे । यसका साथै उनले लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । लागुऔषध नियन्त्रण तथा रोकथामको क्षेत्रमा आबद्ध सबै संस्थाहरूलाई सरकारसँग आबद्ध हुन पनि उनले सचेत गराए ।

कार्यक्रममा गृहसचिव श्रेष्ठले भने, ‘अहिले भएको सङ्गठन संरचना ओएनएम सर्भेमा विभागको स्थापना गर्ने कि भन्ने हिसाबले पहल गरेका छौँ । लागुऔषध नियन्त्रण तथा रोकथाम सम्बन्धी विभागको संरचनाको सोचाई छ, तर त्यो पास भइसकेको अवस्था छैन । तर त्यो स्थापना भइसकेपछि यसको रोकथाम, नियन्त्रण र उपचारात्मक कार्यका लागि सङ्घदेखि प्रदेश र स्थानीय तहसम्मका लागि नीतिगत रूपमा नै यो तर्फ पनि हामीले काम गर्नु पर्दछ भन्ने हिसाबले जागरूक गराउने कुरामा अझै बढी प्रभावकारी हुन्छ कि भन्ने हिसाबमा यो सोचेका छौँ । तर त्यो टुङ्गिसकेको अवस्था छैन, तर हाम्रो सोचाई त्यो छ भन्नेकुरा मैले राख्न चाहेँ ।’

गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप