शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

शुक्रबार, २५ पुस २०८२, २० : २१
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन् । उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन् । 

गएको पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको छ ।

यस्तै, विभिन्न जिल्लामा पनि तापक्रम घटिरहेको छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ । जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो ।

जोमसोममा आज माइनस पाँच डिग्री रहेको छ भने दोलखाको जिरीमा माइनस २.१ रहेको छ । आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ ।

यस्तो छ मौसमी अवस्था

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जानकारी दिएको छ ।

आज साँझ जारी बुलेटिनमा कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको जनाइएको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने पनि विभागले जनाएको छ ।

देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन र विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप