शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति

शुक्रबार, १२ असार २०८३, १८ : १८
शुक्रबार, १२ असार २०८३

काठमाडौँ। औषधि व्यवस्था विभागले सेरोफ्लो रोटाक्याप्स २५०  नामक नक्कली औषधि बरामद भएको भनी जारी गरेको सूचनामा व्यवसायीहरूको नाम सार्वजनिक गरेकोप्रति नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँले शुक्रबार गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सङ्घले नक्कली औषधिको उत्पादन, आयात र बिक्रीमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने कुरामा ऐक्यबद्धता जनाए तापनि अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदै वैध आपूर्ति प्रणाली र आधिकारिक बिलका आधारमा व्यवसाय गरिरहेका इजाजतप्राप्त व्यवसायीहरूको पहिचान सार्वजनिक गरिनु प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधान विपरीत भएको ठहर गरेको छ। बजारमा उपलब्ध प्रत्येक औषधिको प्रयोगशाला परीक्षण गरेर मात्र कारोबार गर्नु व्यावहारिक रूपमा असम्भव हुने भन्दै राज्यकै नियामक निकाय र प्रणालीमाथि विश्वास गरेर व्यवसाय गर्नेहरूलाई दोषीका रूपमा प्रस्तुत गर्दा व्यवसायीको प्रतिष्ठामा अपूरणीय क्षति पुग्ने सङ्घका महासचिव शुभ मान श्रेष्ठले बताए ।

सङ्घले अनुसन्धानकै क्रममा व्यवसायीको नाम सार्वजनिक गर्ने अभ्यासले भविष्यमा वैध र कानुनसम्मत कारोबार गर्नेहरूको सुरक्षामा गम्भीर प्रश्न उठाएको बताएको छ। 'दोष प्रमाणित नहुँदासम्म प्रत्येक व्यक्ति वा संस्था निर्दोष मानिन्छ' भन्ने विधिको सर्वमान्य मान्यतालाई कुण्ठित गर्दै चालिएको यस्तो कदमले ग्राहक र सेवाग्राहीमा भ्रम पैदा गर्ने, वर्षौँको लगानी डुब्ने र पछि निर्दोष प्रमाणित भए तापनि त्यसको क्षतिपूर्ति हुन नसक्ने स्थिति सिर्जना गर्ने सङ्घको भनाइ छ। 

नक्कली औषधिविरुद्धको अभियानमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पार्दै सङ्घले दोषी पत्ता लगाउने नाममा निर्दोष व्यवसायीहरूलाई शङ्काको घेरामा राख्ने प्रवृत्तिले नियामक निकाय र व्यवसायी समुदायबिचको विश्वास कमजोर बनाउने चेतावनी समेत दिएको छ।

​उक्त समस्याको समाधानका लागि नेपाल औषधि व्यवसायी सङ्घले औषधि व्यवस्था विभागसमक्ष विभिन्न चार बुँदे मागहरू अघि सारेको छ। सङ्घका महासचिव शुभ मान श्रेष्ठ र अध्यक्ष शङ्कर महर्जनद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत विभागद्वारा प्रकाशित सूचनाको भाषा, संरचना र प्रस्तुतीकरणको तत्काल पुनरावलोकन गर्न तथा सम्बन्धित व्यवसायीहरू दोषी प्रमाणित नभई उनीहरू आपूर्ति शृङ्खलाका बिन्दु मात्र हुन् भन्ने स्पष्ट व्याख्यासहितको संशोधित सूचना जारी गर्न माग गरिएको छ। 

साथै, अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदासम्म व्यवसायीको प्रतिष्ठामा आँच आउने गरी नाम सार्वजनिक गर्ने अभ्यास बन्द गर्न र प्रभावित व्यवसायीहरूको व्यावसायिक साख जोगाउन विभागले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै यथोचित सुधारात्मक कदम चाल्न  माग गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप