आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा निर्वाचन : गठबन्धनमा सहमति गरेको जसपा नेपालले किन उठायो छुट्टै उम्मेदवार ?

आइतबार, २७ पुस २०८२, १८ : ३०
आइतबार, २७ पुस २०८२

जनकपुर । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दलहरूले उम्मेदवारी दर्ता गरिसकेका छन् । उम्मेदवारी फिर्ता लिन चाहनेलाई आइतबारसम्मको समय तोकिएको छ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गरेर चुनाव लड्दैछन् । 

मधेस प्रदेशमा कांग्रेस-एमालेले पार्टी एकताको घोषणा गरिसकेका जसपा नेपाल र लोसपासँग पनि चुनावी तालमेल गरेका छन् । त्यसैअनुसार गठबन्धनबाट लोसपालाई एक सिट दिएर महन्थ ठाकुरलाई उम्मेदवार बनाइएको छ । तर लोसपा पार्टी एकताको घोषणा गरिसकेको जसपा नेपालले आफ्ना तीन उम्मेदवारलाई पनि मनोनयन दर्ता गराउन लगाएको छ । यसले गठबन्धनभित्र संशय पैदा भएको देखिन्छ ।   

राष्ट्रियसभामा आफ्नो पार्टीलाई थप एक सिट बार्गेनिङ गरेर हात पार्ने उद्देश्यले जसपा नेपालले उम्मेदवारी दिएको जनाइएको छ । तर जसपा नेताहरु गठबन्धनविरुद्ध खडा गरिएको उम्मेदवारबारे ठोस कारण बताउँदैनन् ।  

जसपा नेपालका वरिष्ठ नेता लालबाबु राउत उम्मेदवार खडा गर्नुको पछाडि कुनैपनि कारण नरहेको जिकिर गर्छन् । ‘यो सबै राजनीतिक हो, यस्तो भइरहन्छ,’ उनी भन्छन्, ‘यसको पछाडि अरु कुनैपनि ठोस कारण छैन ।‘ 

जसपाबाट उम्मेदवारी परेकै कारण गठबन्धनभित्र कुनै प्रभाव नपर्ने पूर्वमुख्यमन्त्री समेत रहेका राउत दाबी गर्छन् । उनका अनुसार आइतबार जसपा र लोसपाका शीर्ष नेताहरूको छलफलपछि केही निर्णय आउनसक्छ । 

तर लोसपाका वरिष्ठ नेता जितेन्द्र सोनल जसपा नेपालसँग आफ्नो पार्टीको पूर्णरूपमा एकीकरण भइनसकेकाले यो समस्या आएको बताउँछन् । ‘सैद्धान्तिक रुपमा मात्रै पार्टी एकता भएको छ । त्यसैले यो अवस्था आएको हो,’ पूर्वमुख्यमन्त्री समेत रहेका सोनल भन्छन्, ‘सम्भवतः आज (आइतबार) पार्टी सम्पूर्णरूपमा एक हुन्छ, जसपाबाट परेको उम्मेदवारी पनि फिर्ता हुन्छ ।' 

सोनलका अनुसार आइतबार काठमाडौंमा बस्ने दुवै पार्टीका शीर्ष नेताहरूको बैठकमा सहमतिपछि जसपा नेपालको तर्फबाट परेको उम्मेदवारी फिर्ता हुनेछ । 

नेकपा एमालेले भने जसपा नेपालको उम्मेदवारीलाई बार्गेनिङ गर्ने उद्देश्य भएको आरोप लगाएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आफ्नो पार्टीका लागि मधेसमा जसपाले दुई सिट मागेको दाबी गरे । 'जसपाले उम्मेदवारी फिर्ता नलिए मधेसमा तीन दलले गठबन्धन गरेर चुनावमा भाग लिन्छन् र जित्छन् पनि,’ यादवले भने । मधेसमा एमाले, कांग्रेस र लोसपाको मतभार बढी भएकाले जित्न कुनै समस्या नरहेको उनको भनाइ छ । 

नेपाली कांग्रेसले पनि गठबन्धन उम्मेदवारविरुद्ध जसपा नेपालले खडा गरेको उम्मेदवारीप्रति आपत्ति जनाएको छ । कांग्रेसका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्ण यादव राष्ट्रियसभा निर्वाचनमा जसपाले कांग्रेस र एमालेसँग गठबन्धन गरिसकेपछि अर्को उम्मेदवारी दिनु सही नभएको बताउँछन् । 

मधेसमा गठबन्धनबाट एमालेको कोटामा रेखा झा तथा कांग्रेसको कोटाबाट रञ्जित कर्ण र धर्मेन्द्र पासवानलाई उम्मेदवार बनाइएको छ भने जसपा-लोसपाबाट भने महन्थ ठाकुर उम्मेदवार बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप