मुस्तफिजुर प्रकरणः जब राजनीति ड्रेसिङ रुममा पस्यो
सारांश
- बीसीसीआईले बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई आईपीएल खेल्न प्रतिबन्ध लगायो, जसलाई भारत-बंगलादेश सम्बन्धमा आएको तनावसँग जोडेर हेरिएको छ।
- बंगलादेशले आईपीएल प्रसारणमा रोक लगायो, र आईसीसीले आगामी टी-२० विश्वकपका लागि सुरक्षा सुनिश्चित गर्न प्रतिबद्धता जनायो।
- विश्लेषकहरूका अनुसार, क्रिकेटमा भारतको प्रभुत्वले छिमेकी राष्ट्रहरूमाथि दबाब सिर्जना गरिरहेको छ, जसले खेललाई राजनीतिकरण गरेको छ।
काठमाडौँ । २०२६ जनवरी ३ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को एउटा निर्देशनले बंगलादेशका एक मात्र आईपीएल खेलाडी (सन् २०२६ का लागि) मुस्तफिजुर रहमानको इन्डियन प्रिमियर लिग (आईपीएल) सिजन सुरु हुनुअघि नै अन्त्य गरिदियो ।
रेड चिलिज इन्टरटेन्मेन्टको स्वामित्व रहेको कोलकातामा आधारित आईपीएल खेल्ने एक व्यावसायिक टी–२० फ्रेन्चाइज कोलकाता नाइट राइडर्स (केकेआर) लाई बीसीसीआईले बंगलादेशी फास्ट बलर मुस्तफिजुरलाई रिलिज गर्न निर्देशन दिएको थियो ।
यो निर्णय चोट, प्रदर्शन वा करार विवादका कारण नभई ‘वरिपरिको घटनाक्रम’का कारण गरिएको बताइएको छ । विश्लेषकहरूले यसलाई भारत र बंगलादेशबिच बढ्दो तनावसँग जोडेर हेरेका छन् । सन् २०२४ को अगस्टमा बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा शरण पाएपछि दुई देशबिच सम्बन्ध चिसिएको हो ।
केही दिनमै मुस्तफिजुरले पाकिस्तान सुपर लिग (पीएसएल) सँग सम्झौता गरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले कडा विरोध जनायो, त्यसपछि बंगलादेशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगाइयो र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समेत यो कूटनीतिक विवादमा तानियो ।
दक्षिण एसियामा क्रिकेट लामो समयदेखि ‘सफ्ट पावर’ का रूपमा स्थापित थियो । युद्ध, सीमा बन्द र कूटनीतिक दूरीका बाबजुद यो खेल दुई देशबिचको साझा मोह बनेर टिकिरहेको थियो, तर अहिले यो भाषा फेरिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्व क्रिकेटको आर्थिक र राजनीतिक केन्द्र भारतले खेलमा आफ्नो प्रभुत्व प्रयोग गरेर छिमेकी मुलुकहरू, विशेषगरी पाकिस्तान र बंगलादेशमाथि दण्ड दिने र दबाब सिर्जना गर्ने काम गरिरहेको उनीहरूको भनाइ छ ।
मुस्तफिजुर प्रकरण : जब राजनीति ड्रेसिङ रुममा पस्यो
केकेआरले आईपीएल २०२६ सिजनका लागि रहमानलाई ९.२ मिलियन भारतीय रुपैयाँ (करिब १० लाख अमेरिकी डलर) मा अनुबन्ध गरेको थियो । तर बीसीसीआईले फ्रेन्चाइजलाई उनलाई रिलिज गर्न निर्देशन दियो । यसका लागि अस्पष्ट ‘बाह्य घटनाक्रम’लाई कारण देखाइएको छ, जसलाई भारत–बंगलादेश राजनीतिक तनावसँग जोडेर बुझिएको छ ।
चोटका कारण नभएकाले क्षतिपूर्ति पाउने सम्भावना कम रहेका मुस्तफिजुरले पीएसएलको प्रस्ताव स्वीकार गरे, भारतीय खेल्न नपाउने भएपछि पाकिस्तानी लिग रोज्दै उनी आठ वर्षपछि पीएसएलमा फर्किए ।
जनवरी २१ को ड्राफ्टअघि नै पीएसएलले उनको सहभागिता रहेको पुष्टि गरेको हो । बीसीसीआईको हस्तक्षेपलाई बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले ‘भेदभावपूर्ण र अपमानजनक’ भनेको छ ।
बंगलादेशले यो विषयलाई क्रिकेटभन्दा बाहिर लैजाँदै भारतले आगामी टी–२० विश्वकपका लागि सुरक्षाको कारण देखाउँदै बंगलादेशका खेलहरू श्रीलंकामा सार्न आईसीसीसँग आग्रह गरेको छ । बंगलादेश सरकारले देशभर आईपीएल प्रसारणमा प्रतिबन्ध लगायो, जुन दक्षिण एशियामा क्रिकेट र राजनीति कति गहिरो रूपमा जोडिएको छ भन्ने देखाउने एउटा दुर्लभ कदम थियो ।
जनवरी ७ मा बीसीबीले आईसीसीले बंगलादेशको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा पूर्ण र अवरोधविहीन सहभागिता सुनिश्चित गरेको जनाएको छ । बीसीबीका अनुसार आईसीसीले भारतमा टोलीको सुरक्षा विषयमा उठाइएका चिन्तामा प्रतिक्रिया दिँदै आवश्यक सुरक्षा सुनिश्चित गर्ने र विस्तृत योजना बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
यद्यपि तनाव कायमै रहेकाले बंगलादेशका खेलहरू २०२६ फेब्रुअरी ७ देखि भारतका कोलकाता र मुम्बईमै हुने तय भएको छ ।
यसैबिच भारतीय जनता पार्टी (भाजपा) की नेता नवनीत राणाले बंगलादेशमा हिन्दु र अल्पसंख्यकहरूलाई लक्षित गरिएको आरोप लगाउँदै उनले भारतमा कुनै पनि बंगलादेशी क्रिकेटर वा सेलिब्रेटीलाई स्थान दिन नहुने बताएकी छन् । उता भारतीय कांग्रेस नेता शशि थरूरले मुस्तफिजुरलाई रिलिज गर्ने निर्णयमाथि प्रश्न उठाउँदै खेललाई राजनीतिक बनाउनु र अर्को देशका घटनाका कारण व्यक्तिगत खेलाडीलाई दण्ड दिनु गलत भएको बताएका छन् ।

अपवाद होइन, ढाँचा
मुस्तफिजुर विवाद एउटा मात्र घटना होइन, विश्लेषकहरूका अनुसार सबै क्रिकेट बोर्ड राजनीतिक यथार्थभित्र काम गरे पनि बीसीसीआईको आर्थिक शक्ति अतुलनीय छ । आईपीएल विश्वकै सबैभन्दा धनी फ्रेन्चाइज लिग हो ।
आईसीसीका अध्यक्ष जय शाह भारतका शक्तिशाली गृहमन्त्री अमित शाहका छोरा हुन्, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीपछि भारतका दोस्रो सबैभन्दा प्रभावशाली व्यक्ति मानिन्छ । १.५ अर्ब जनसंख्या भएको भारत विश्व क्रिकेटको सबैभन्दा ठुलो बजार हो र खेलको करिब ८० प्रतिशत आम्दानी भारतबाटै आउँछ ।
यी सबै कारणले भारतलाई प्रतियोगिता तालिका, स्थल र आम्दानी बाँडफाँटमा प्रभाव जमाउने क्षमता दिएको विश्लेषकहरू बताउँछन् । यसले क्रिकेटलाई भारतीय सरकारका लागि रणनीतिक सम्पत्ति बनाएको छ । राजनीतिक सम्बन्ध बिग्रँदा क्रिकेट अब अलग रहँदैन ।
भारत ऐतिहासिक रूपमा शेख हसिनासँग नजिक मानिन्थ्यो । सन् २०२४ मा उनको पदच्युत हुनुअघि भएका जनआन्दोलनलाई सुरक्षा बलले दमन गर्दा करिब १ हजार ४०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको अनुमान छ ।
भारतले हसिनालाई अझै बंगलादेश नफर्काएकोमा बंगलादेश रुष्ट छ । बंगलादेशको अदालतले सन् २०२५ को अन्त्यतिर प्रदर्शनकारीको हत्याको आरोपमा उनलाई मृत्युदण्ड सुनाएको थियो, यसले बंगलादेशमा भारतविरुद्धको भावनालाई थप चर्काएको छ । डिसेम्बरमा एक भारतविरोधी आन्दोलनका नेताको हत्या भएपछि परिस्थिति झनै बिग्रिएको छ ।
यसैबिच अगस्ट २०२४ यता बंगलादेशमा हिन्दु र अन्य धार्मिक अल्पसंख्यकमाथि भएका आक्रमणले भारतमा आक्रोश बढाएको छ । गत महिना एक हिन्दु व्यक्तिको कुटपिटपछि हत्या भएको थियो । यस पृष्ठभूमिमा बीसीसीआईको कदममाथि भारतीय विश्लेषकहरूले पनि आलोचना गरेका छन् । वरिष्ठ पत्रकार वीर संघवीले क्रिकेट बोर्ड ‘आतंकित’ भई साम्प्रदायिक दबाबमा झुकेको र खेललाई कूटनीतिक लज्जामा परिणत गरेको टिप्पणी गरेका छन् ।
‘द हिन्दुकी’ कूटनीतिक सम्पादक सुहासिनी हैदरले सामाजिक सञ्जालमा सरकार सामाजिक सञ्जाल अभियानको दबाबमा कूटनीति कमजोर बनाइरहेको टिप्पणी गरेकी छन् । उनले परराष्ट्रमन्त्री एस जयशंकरले हालै ढाका पुगेर पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा सहभागी भएको स्मरण गराउँदै त्यसपछि पनि बंगलादेशी क्रिकेटरले भारतमा खेल्न किन नपाउने भन्दै प्रश्न उठाएकी छन् ।
क्रिकेट विश्लेषक धर्मेन्द्र जोशीका अनुसार यो घटनाले क्रिकेट अब भारत र छिमेकी देशबचि ‘पुल बन्नेभन्दा विभाजन बढाउने’ माध्यम बन्दै गएको देखाउँछ ।
एसिया कप विवाद
सन् २०२५ को सेप्टेम्बरमा पाकिस्तानमा आयोजना भएको एसिया कप क्षेत्रीय क्रिकेटको उत्सव बन्ने अपेक्षा गरिएको थियो । तर सरकारी सल्लाह देखाउँदै बीसीसीआईले भारत पाकिस्तान नजाने जानकारी आईसीसी र एसियन क्रिकेट काउन्सिल (एसीसी) लाई गरायो । महिनौँको विवादपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा यूएई र पाकिस्तानमा आयोजना गरियो । प्रतियोगिताका क्रममा भारत र पाकिस्तानबिच भएका तीनै खेलमा भारतीय खेलाडीहरूले सार्वजनिक रूपमा हात मिलाउन अस्वीकार गरे, ती तीनवटै खेल भारतले जितेको थियो ।
क्रिकेट विश्लेषक जोशीले अल जजिरालाई भने, ‘क्रिकेटमा हात मिलाउनुपर्ने अनिवार्य नियम छैन । तर खेलाडीहरूले प्रायः एक–अर्कालाई मद्दत गर्छन्, त्यो नै खेलको भावना हो । यदि देशहरू द्वन्द्वमा छन् भने खेलाडीहरू खेल भावना अनुरुप नजाँदा यसले खेलको सौन्दर्य नै खोस्छ ।’

फाइनलपछि पनि विवाद टुंगिएन । भारतले पाकिस्तानलाई हराउँदै उपाधि जित्यो, तर एसीसी अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एवं पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गर्यो । ट्रफी अहिले पनि दुबईस्थित एसीसी मुख्यालयमै छ । बीसीसीआईले ट्रफी भारत पठाउन माग गरेको छ भने नकवीले अस्वीकार गरेका छन् ।
‘पुल’बाट विभाजनतर्फ
पाकिस्तानको तुलनामा बंगलादेशसँग भारतको क्रिकेट सम्बन्ध ऐतिहासिक रूपमा सहज थियो । राजनीतिक मतभेदका बाबजुद द्विपक्षीय शृंखला हुँदै आएका थिए र बंगलादेशी खेलाडीहरू आईपीएलका परिचित अनुहार थिए । तर मुस्तफिजुर प्रकरणले यो अवस्था बदलिएको छ ।
क्रिकेटलाई राजनीतिक दुश्मनी कम गर्न प्रयोग गरिन्थ्यो । यसको सबैभन्दा चर्चित उदाहरण सन् २००४ को भारत–पाकिस्तान मैत्री शृंखला हो, जुन १९९९ को कारगिल युद्धपछि जमेको सम्बन्ध पगाल्न आयोजना गरिएको थियो ।
त्यतिबेला प्रधानमन्त्री अटल बिहारी वाजपेयीले कप्तान सौरव गांगुलीलाई ‘खेल मात्र होइन, दिल पनि जित्नु’ भन्ने सन्देश लेखिएको ब्याट दिएर बिदाइ गरेका थिए ।
सन् २००८ को मुम्बई आक्रमणपछि सम्बन्ध फेरि बिग्रियो । तर सन् २०११ विश्वकप सेमिफाइनलमा भारत–पाकिस्तान भिड्दा प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानी समकक्षी युसुफ रजा गिलानीलाई खेल हेर्न निम्तो दिए, जसलाई ‘क्रिकेट कूटनीति’को उदाहरण मानिन्छ ।
तर अहिले मुस्ताफिजुर प्रकरणजस्तै भू–राजनीतिक तनावसँग फ्रेन्चाइज तहको करार जोडिँदा बीसीसीआईले स्पष्ट सन्देश दिएको विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार भारतीय क्रिकेटमा पहुँच सर्तमा आधारित छ ।
खेल पत्रकार निशान्त कपुरले अल जजिरालाई भने, ‘राजनीतिक कारणले मात्र करारबद्ध खेलाडी रिलिज गर्नु बिल्कुलै गलत हो । यसले क्रिकेट प्रणालीमा अविश्वास बढाउँछ । उनी खेलाडी हुन् । उनले के गल्ती गरेका छन् ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण