रूपान्तरणको यात्रामा कांग्रेस : देउवा रोकिँदा रोकिएनन् कार्यकर्ता
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन शेरबहादुर देउवा र शेखर कोइराला समूहको बहिस्कारका बिच सुरु भयो।
- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंमा विशेष महाधिवेशन उद्घाटन गरियो, जहाँ अधिकांश पदाधिकारी अनुपस्थित थिए।
- पुष्पा भुसालले कांग्रेसलाई गुटबाट मुक्त गर्न र बीपीको विचारबाट खडा भएको कांग्रेस बनाउनुपर्ने धारणा राखिन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारकाबिच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ ।
बदलिँदो परिस्थितिमा पार्टीको नीति, नेतृत्व र कार्यशैली बदल्नुपर्छ भन्ने मान्यताका साथ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन गरिएको हो ।
कांग्रेसको हाल कायम रहेका १४ पदाधिकारीमा तीन पदाधिकारीबाहेक सबैले विशेष महाधिवेशन बहिस्कार गरे । मञ्चमा दुई महामन्त्रीबाहेक सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिए ।
देउवासहित कार्यवाहकको जिम्मेवारी पाएका उपसभापति पूर्णबहादुर खड्का, अर्का उपसभापति धनराज गुरुङ सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, बद्री पाण्डे, जीवन परियार, भिष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव तथा कोषाध्यक्ष उमेश श्रेष्ठ सहभागी नभए पनि महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखियो ।
२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए । महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराएका जानकारी दिए । महाधिवेशन प्रतिनिधि मात्रै होइन, १४ औँ महाधिवेशनमा देउवा सभापतिमा उम्मेदवार हुँदा देउवाकै प्यानलबाट उम्मेदवार बन्दै जितेका ३० जना केन्द्रीय सदस्य पनि महाधिवेशनको मञ्चमा देखिए । ती ३० जना सदस्यको तर्फबाट धारणा व्यक्त गर्दै पुष्पा भुसालले कांग्रेसलाई गुटबाट मुक्त गर्न आफूहरू विशेष महाधिवेशनको मञ्चमा आउनुपरेको बताइन् ।
‘कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ । हामी गुट चिन्दैनौँ, कृपा मान्दैनौँ,’ भुसालले नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै भनिन्, ‘दुई महामन्त्रीले नेतृत्व गरिरहनुभएको छ । अब कांग्रेस बीपीको विचारबाट खडा भएको कांग्रेस बनोस् ।’
भुसालले सुधारिएको कांग्रेस बन्ने आशासहित आफूहरू उपस्थित भएको भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि ३० जना केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूका घरघरमा गएर सम्झाउने प्रयास गर्दा नसम्झिएपछि आफूहरू निराश भएर फर्कनु परेको उल्लेख गरिन् ।
‘विधानतः ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेपछि हामी नेताको घरघरमा गयौँ । बुझाउन खोज्यौँ । विशेष महाधिवेशन आह्वान होस् भन्यौँ । तर हामी निराश भएर फर्किनुपर्यो,’ भुसालले भनिन्, ‘त्यसैले हामी यो उद्घाटन कार्यक्रममा ५४ प्रतिशत हस्ताक्षरलाई सम्बोधन गर्न यहाँ उपस्थित भएका हौँ ।’ उनले कांग्रेसको विधानको धारा १७ (२) लाई प्रतिबद्धता जनाउँदै विधानभन्दा माथि कोही नेता कार्यकर्ता हुनै नसक्ने बताइन् ।
हालका सभापति देउवाले विगतमा नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि मञ्चमा मात्रै देखिएनन्, धारणा व्यक्त गर्दै पार्टी सञ्चालनमा कसैले हठ नगरी विधि र विधान अनुसार चल्नुपर्ने र विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । उनको भनाइले विशेष महाधिवेशन विधानसम्मत भएको सङ्केत गरेको थियो ।
उद्घाटन सत्रको यो दृश्यलाई हेर्ने र सत्यलाई ढाकछोप नगर्ने हो भने लोकतान्त्रिक पार्टीको पहिचान बनाएको कांग्रेसमा संस्थापन केन्द्रीय समिति, प्रदेशका समितिका नेतृत्व र जिल्ला समितिका नेतृत्वमा भए पनि अधिकांश कांग्रेस कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा उभिएको बुझ्न सकिन्थ्यो ।
अर्थात् वर्तमान नेतृत्वले गरिरहेको कामको विरोध र कांग्रेस रूपान्तरण हुन हुनुपर्छ भन्ने बहुमत कार्यकर्ता महाधिवेशनको पक्षमा सहभागी बनेका छन् ।
कांग्रेसले अहिलेसम्म राणा शासनको अन्त्य, पञ्चायतको अन्त्य, राजतन्त्रको अन्त्य, प्रजातन्त्रको स्थापना, लोकतन्त्र र गणतन्त्रको स्थापनार्थ भएका आन्दोलनको नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । त्यतिमात्र होइन तत्कालीन माओवादीको दश वर्षे सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका निभाएको कांग्रेसको त्यही भूमिकाका कारण तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई, विश्वले नै चिनेको थियो ।
संविधानसभाबाट संविधान जारी गर्ने कामको नेतृत्व गरेर चर्चा कमाएको कांग्रेस अहिले घर झगडाले ग्रसित छ । प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने दिन आउन १० दिन मात्रै बाँकी रहँदा कांग्रेस दुई चिरा भएको छ । पार्टी नेतृत्वले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकबाट गरेको छ ।
कांग्रेसको संस्थापन पुरानै पुरानै शैलीबाट चल्न चाहिरहेको छ भने महामन्त्रीसहितका महाधिवेशन प्रतिनिधिहरू नेतृत्व परिवर्तन चाहिरहेका छन् । त्यो उद्घाटन सत्रमा बोल्ने नेताहरूले स्पष्ट रूपमा बताएका छन् ।
उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले लामो समयदेखि जाम भएर बसेको शैली परिवर्तन भएको बताए । ‘महाधिवेशन प्रतिनिधिहरूले नीति र नेता परिवर्तन माग्नुभएको छ । म त अतिथि मात्रै हुँ,’ तपाईँहरूले जे निर्णय गर्नुहुन्छ मैले त्यो निर्णय मान्नुपर्छ,’ महामन्त्री थापाले भने ।
अहिले कांग्रेस संस्थापन र महामन्त्रीद्वय आफूलाई शक्तिशाली साबित गर्न दिलोज्यान दिएर लागेका छन् । दुई पक्षमा कुनै एउटा समूह अलिकति पनि चिप्लियो भने कांग्रेस फुटबाट जोगिन सक्ने अवस्था देखिन्न ।
अब कांग्रेसलाई एक र सुदृढ बनाउन संस्थापन पक्ष बढी जिम्मेवार बन्नुपर्ने अवस्था आएको छ । त्यो भएन भने पार्टीमा विग्रह आउने प्रस्ट सङ्केत भृकुटीमण्डपमा देखिएको मासले बताइसकेको छ ।
कांग्रेसमा विद्यमान असहज वातावरणको अन्त्य र निकासका लागि सभापति देउवाले अग्रसरता देखाएमा पार्टी एक ढिक्का रहन सक्छ । त्यतिमात्र होइन सम्मानजनक बहिर्गमनको पथ पनि निर्माण हुन्छ । जुन विषय विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरूले पनि बताएका छन् ।
विशेष महाधिवेशन माग गर्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरेले सभापति देउवा, कार्यवाहक सभापति खड्कासहितका पदाधिकारीलाई विशेष महाधिवेशनमा आएर महाधिवेशनमा उपस्थित भएर उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्न आग्रह गरे ।
उनले विशेष महाधिवेशनलाई नजर अन्दाज गरिए परिस्थिति के हुन्छ भन्न नसकिने बताए । ‘विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्नुस् । फागुन २१ को निर्वाचनमा दिग्विजय बनाउने उत्सवको रूपमा लिन आग्रह गर्दछु । नभए परिस्थिति जे हुन पनि सक्छ,’ घिमिरेले भने ।
विरोधीका कुरा सुन्ने विरोधीलाई ठाउँ दिने सहनशील पार्टीलाई यस्तो ठाउँमा पुर्याएको भन्दै सभापति देउवासहितका पदाधिकारीको आलोचना गर्दै घिमिरेले थपे, ‘हामीमाथि पत्थर फ्याँक्नु भएको छ हामी फूल फालेर भन्न चाहन्छौँ । हामी एकताबद्ध र बलियो कांग्रेस चाहन्छौँ ।’
अर्का नेता पूर्वअर्थमन्त्री महेश आचार्यले देउवासहितका पदाधिकारी हिजोका कांग्रेस भएको र गगन विश्व भोलिको कांग्रेस भएको बताए । ‘दुई होनहार महामन्त्रीलाई शुभकामना छ । उहाँहरू भोलिको कांग्रेस हो । शेरबहादुरजी उहाँका साथीहरूको पुस्ता हिजोको कांग्रेस हो,’ आचार्यले भने, ‘हिजोका कांग्रेसलाई सम्मान छ । तर भोलिका कांग्रेसलाई स्वागत गर्न मेची, महाकालीका साथीहरू आज विशेष महाधिवेशनमा उपस्थिति हुनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण