पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताएका छन् ।
पार्टीद्वारा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले शाहले मुलुकको एकीकरणमा पुर्याएको योगदानलाई सम्झनुका साथै उहाँको आदर्शबाट पाठ सिकेर देशलाई सुदृढ राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताए।
अध्यक्ष लिङ्देनले सबै नेपालीहरूले आफ्नो इतिहासको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे ।
“देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । शाहको दूरदर्शी सोच र अदम्य साहसबाट सिक्दै सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिलाई थप सुदृढ बनाउन लाग्नुपर्छ,”उनले भने ।
कार्यक्रमका अवसरमा आयोजित चियापानमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको राप्रपाले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण