मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘ई–बुकिङ नेपाल’ आजदेखि सञ्चालनमा, वार्षिक अर्बौँको पुँजी पलायन रोक्ने लक्ष्य

मङ्गलबार, २९ पुस २०८२, १७ : ०५
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • हस्पिटालिटीसम्बद्ध सेवाहरूको लागि ई-बुकिङ नेपाल नामक डिजिटल प्लेटफर्मको सुरुवात भएको छ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रीले उक्त पोर्टलको उद्घाटन गरे, जसले २०२५ देखि पूर्ण रूपमा सेवा दिने लक्ष्य राखेको छ।
  • यस प्लेटफर्मले विदेशी अनलाइन ट्राभल एजेन्सीको एकाधिकारलाई हटाउँदै वार्षिक रूपमा हुने पुँजी पलायन रोक्ने दाबी गरेको छ।

काठमाडौँ । हस्पिटालिटीसम्बद्ध सबै सेवाको बुकिङका लागि नयाँ प्लेटफर्मको सुरुवात भएको छ ।

नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विश्व बजारसँग जोड्ने उद्देश्यका साथ ई–बुकिङ नेपाल नामक डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो । मंगलबार काठमाडौँमा आयोजित एक समारोहबिच सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यस पोर्टलको उद्घाटन गरे । 

नेपाललाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको यस डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीले सन् २०२५ देखि पूर्ण रूपमा सेवा प्रदान गर्ने प्लेटफर्म तयार गरेकोमा म‌ंगलबार यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

वार्षिक अर्बौँको पुँजी पलायन रोकिने दाबी

कार्यक्रममा ई–बुकिङ नेपालका सहसंस्थापक सञ्जय सुवेदीले नेपालको पर्यटन बजारमा विदेशी अनलाइन ट्राभल एजेन्सीको एकाधिकार र त्यसले निम्त्याएको देशलाई आर्थिक नोक्सानीबारे महत्त्वपूर्ण तथ्याङ्क प्रस्तुत गरे । हाल नेपालमा करिब १ लाख ४२ हजार होटलहरू दर्ता रहेका र पर्यटन क्षेत्रले जीडीपीमा ६ देखि ७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थामा बुकिङका लागि विदेशी एपहरूको प्रयोग गर्दा वार्षिक करिब १८ मिलियन डलर (करिब २ अर्ब ३५ करोड रुपैयाँ) कमिसनका रूपमा बाहिरिरहेको अनुमान रहेको उनले बताए । 

सुवेदीका अनुसार विदेशी प्लेटफर्मको प्रयोगका कारण नेपाल सरकारले वार्षिक ३० देखि ५० करोड रुपैयाँ राजस्वसमेत गुमाइरहेको छ । स्वदेशी प्लेटफर्म ई–बुकिङ नेपालको प्रयोगले यो पुँजी पलायन रोक्ने र राज्यको राजस्व अभिवृद्धिमा प्रत्यक्ष टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

पर्यटन क्षेत्र 'डिजिटल हाइवे'मा हिँड्नुपर्छ

कार्यक्रममा मन्त्री जगदीश खरेलले ई–बुकिङ नेपालको सुरुवातलाई 'डिजिटल नेपाल रोडम्याप'तर्फको एउटा महत्त्वपूर्ण पाइला भएको बताए । ‘हामी अब डिजिटल हाइवेमा अगाडि बढ्नुपर्छ । पर्यटन प्रवर्धन राम्रोसँग गरेर मात्रै देश विकासको समृद्धिको आधार तय गर्न सक्छौँ,’ उनले भने, ‘प्रविधि र डिजिटल संसारमा युवाहरूको नेतृत्व अपरिहार्य छ र यस्ता स्वदेशी स्टार्टअपलाई सरकारले सधैँ प्रोत्साहन गर्नेछ ।’ 

मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत नेपालका प्राकृतिक सम्पदाहरूलाई विश्वव्यापी रूपमा अझ प्रभावकारी ढंगले पुर्‍याउन सकिनेमा जोड दिए । उनले नेपालमा रहेका सगरमाथा, रारा ताल, फेवा ताल लगायतका सम्पदा अमूल्य रहेको र खर्बौ खर्च गर्दा पनि बनाउन सक्ने खालको नभएको भन्दै यसलाई सदुपयोग गर्नुपर्ने बताए । 

के छन् ई–बुकिङ नेपालको विशेषता ?

यो प्लेटफर्म हस्पिटालिटी क्षेत्रका सबै सेवाहरू एकीकृत गरिएको 'अल–इन–वनु प्लेटफर्म रहेको कम्पनीको भनाइ छ । यो सेवा अनलाइन पोर्टलका साथै एन्ड्रोइड र आईओएसमा समेत उपलब्ध छ । यो प्लेटफर्मबाट होटल, होमस्टे, रिसोर्ट, गाडी, एयर टिकेटिङ र टुर र ट्राभल प्याकेज बुकिङ गर्न सकिनेछ । 

यसमा अत्याधुनिक 'आर्टिफिसियल इन्टेलिजेन्स' प्रयोग गरिएको भन्दै यसले यात्रुहरूलाई उनीहरूको रुचि र बजेटअनुसारका विकल्पहरू छनोट गर्न सघाउने कम्पनीको भनाइ छ । यो प्लेटफर्मबाट सेवा बुकिङ गर्दा ई–सेवा, खल्ती र आईएमई पे, कनेक्ट आईपीएस माध्यमका साथै मास्टरकार्ड, भिसा र युनियन पेजस्ता अन्तर्राष्ट्रिय कार्डहरूबाट पनि सजिलै भुक्तानी गर्न सकिने जनाइएको छ । यसअनुसार डलर वा नेपाली मुद्रा दुवैमार्फत भुक्तानी गर्न सकिन्छ । 

नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध यो प्लेटफर्मले आफ्नो मर्चेन्ट ग्राहकका लागि चौबीसै घण्टा र सातै दिन सपोर्ट प्रदान गर्ने व्यवस्था गरेको जनाइएको छ । 

कार्यक्रमका ई–बुकिङ नेपालका को–फाउन्डरहरू डा. भूपालमान श्रेष्ठ र विश्वेश्वर रेग्मीले जापानमा रहेर पनि नेपालको डिजिटल भविष्यका लागि लगानी गर्न पाउँदा गर्व लागेको बताए । उनीहरूका अनुसार यो प्लेटफर्म विदेशी एपहरूको विकल्प मात्र नभई नेपाली पर्यटन व्यवसायीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने एउटा बलियो उपकरण पनि हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, नाट्टाका वरिष्ठ उपाध्यक्ष जस्वन्तलाल दास शर्मा, पर्यटन बोर्डका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप