बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
सुनसरीमा रास्वपाभित्र विवाद

अदालतमा मुद्दा विचाराधीन रहेका लालविक्रम थापाको एकल नाम सिफारिस गर्न दबाब

शुक्रबार, ०२ माघ २०८२, ०७ : ३५
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सुनसरीमा उम्मेदवार छनोटलाई लिएर विवाद बढेको छ।
  • महामन्त्री लालविक्रम थापाले सिन्डिकेट लादेको र आर्थिक अनियमितता गरेको आरोप लागेको छ, जसको पार्टीभित्रै विरोध भइरहेको छ।
  • इटहरी उपमहानगर र देवानगंज गाउँपालिकाले एकल नाम सिफारिस गरेकोमा क्षेत्रीय समितिले आपत्ति जनाएको छ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई लिएर सुनसरीमा तीव्र विवाद देखिएको छ ।

सुनसरी क्षेत्र नम्बर २ र ३ मा उम्मेदवार सिफारिस गर्ने क्रममा प्रदेशका महामन्त्री लालविक्रम थापाले सिन्डिकेट लादेको र आर्थिक अनियमिततामा जोडिएका व्यक्तिलाई संरक्षण गरिएको भन्दै पार्टीभित्रै विरोध सुरु भएको हो ।

सुनसरीका रास्वपा नेता देवराज अधिकारीले कोशी प्रदेश महामन्त्री लालविक्रम थापाले पार्टीको खुला उम्मेदवारी नीति विपरीत सिन्डिकेट चलाएको आरोप लगाए । सुनसरी क्षेत्र नम्बर २ र ३ मा एकल नाम सिफारिस गर्न थापाले दबाब दिएर स्थानीय कमिटीहरूमा सिण्डिकेट चलाएको अधिकारीको आरोप छ ।

सुनसरी क्षेत्र नम्बर २ बाट अशोक कुमार चौधरी, यादव नेपाल र लालविक्रम थापाको उम्मेदवारी परेको थियो, तर थापाले इटहरी र देवागन्ज पालिकालाई प्रयोग गरेर आफ्नो नाममात्रै एकल रूपमा सिफारिस गर्न लगाएको अधिकारीको भनाइ छ ।

त्यसैगरी, क्षेत्र नम्बर ३ मा पनि निरज कटुवाल, मनमाया ढकाल, आनन्द कुमार हलुवाई र राजाराम मेहता आकाङ्क्षी रहे पनि थापाकै दबाबमा इटहरी उपमहानगरपालिकाले राजाराम मेहताको नाममात्र एकल सिफारिस गरेको अधिकारीले बताए । उनले मेहतालाई ‘थापाको खल्तीको मान्छे’ संज्ञा दिँदै पार्टीको लोकतान्त्रिक पद्धति मिचिएको गुनासो गरे ।

पुस ३० गते रास्वपाको इटहरी उप–महानगर समिति र देवानगंज गाउँपालिका समितिले सुनसरी क्षेत्र नम्बर २ र ३ का लागि उम्मेदवारहरूको नाम सिफारिस गरेका थिए ।

इटहरी समितिले एकलौटी नाम पठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय निर्वाचन समितिले माघ १ गते कडा आपत्ति जनाउँदै पत्र काटेको छ । क्षेत्रीय संयोजक यादव कोइरालाद्वारा हस्ताक्षरित पत्रमा इटहरी समितिले पार्टीको स्थापित प्रक्रिया र अधिकार क्षेत्र मिचेर गम्भीर हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

इटहरी समितिका सचिव दीपक बस्नेत र सभापति महेश थापाद्वारा हस्ताक्षरित पत्रमा सुनसरी क्षेत्र नम्बर २ का लागि लालविक्रम थापालाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरिएको छ । पत्रमा थापालाई उम्मेदवार नबनाए संगठनले ठुलो क्षति बेहोर्नुपर्ने र अपेक्षित नतिजा आउन नसक्ने दाबी गरिएको छ ।

सोही क्षेत्रका अर्का आकाङ्क्षी अशोक कुमार चौधरीको आवेदन परे पनि समितिले थापाकै पक्षमा उभिने निर्णय गरेको थियो ।

त्यस्तै, देवानगंज गाउँपालिका समितिका ७ वटै वडाका सभापतिले सामूहिक हस्ताक्षर गर्दै क्षेत्र नम्बर २ मा थापालाई नै समर्थन गरेका छन् । उता, क्षेत्र नम्बर ३ को हकमा इटहरी समितिले बहुमतको आधारमा राजाराम कुमार मेहतालाई सिफारिस गरेको पत्रमा उल्लेख छ ।

इटहरी समितिले एकलौटी नाम पठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय निर्वाचन समितिले माघ १ गते कडा आपत्ति जनाउँदै पत्र काटेको छ । क्षेत्रीय संयोजक यादव कोइरालाद्वारा हस्ताक्षरित पत्रमा इटहरी समितिले पार्टीको स्थापित प्रक्रिया र अधिकार क्षेत्र मिचेर गम्भीर हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

‘इटहरी उप–महानगर समितिबाट जारी गरिएका एकल सिफारिस पत्रहरू पूर्णतः प्रक्रियागत रूपमा अमान्य छन् । यसको कुनै संस्थागत हैसियत छैन र क्षेत्रीय निर्वाचन समिति त्यसलाई स्वीकार गर्दैन,’ कोइरालाको पत्रमा भनिएको छ ।

क्षेत्रीय समितिले यसलाई मेरिट–आधारित छनोट प्रणाली र आन्तरिक लोकतन्त्र उल्लंघन भएको दाबी गरेको छ ।

थापामाथि अदालत र अख्तियारमा मुद्दा

नेता अधिकारीले महामन्त्री थापामाथि आर्थिक अनियमितताको मुद्दा पनि उठाएका छन् । इटहरीस्थित जनता स्कुलको २ कट्ठा जग्गा भाडामा लिएर थापाले विद्यालयलाई करिब ८५ लाख देखि १ करोड रुपैयाँसम्म तिर्न बाँकी रहेको अधिकारीको दाबी छ ।

लालविक्रम थापाले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । उनले पार्टीको विधि र विधान अनुसार नै उम्मेदवार छनोट प्रक्रिया अघि बढेको दाबी गरे । थापाका अनुसार डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको उम्मेदवार छनोट समितिले यसबारे काम गरिरहेको छ ।

‘२०७५ सालदेखि जग्गा लिजमा लिएर उनले विद्यालयलाई पैसा तिरेका छैनन् । अहिले त्यो रकम १ करोडको हाराहारी पुगिसक्यो,’ अधिकारीले भने, ‘मुकुल ढकाल महामन्त्री हुँदा उनलाई यही कारणले निलम्बन गरिएको थियो, तर पछि फुकुवा गरियो । अहिले त उनले विद्यालयको पैसा नतिरी आफ्नो सन्मन प्लाजाको सेयर आफन्तको नाममा पास गरेर बेइमानी गरेका छन् ।’

यो विषय अहिले अख्तियार र अदालतमा समेत पुगेको अधिकारीको दाबी छ ।

यता, लालविक्रम थापाले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । उनले पार्टीको विधि र विधान अनुसार नै उम्मेदवार छनोट प्रक्रिया अघि बढेको दाबी गरे ।

थापाका अनुसार डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको उम्मेदवार छनोट समितिले यसबारे काम गरिरहेको छ । उनले भने, ‘सबै आकाङ्क्षीको नाम केन्द्रमा पठाइएको छ । कसैको एकल नाम पठाइएको छैन । केन्द्रले नै यसबारे अन्तिम निर्णय गर्नेछ ।’

पालिकाहरूले सुझावका रूपमा नाम पठाएको हुन सक्ने तर आफूले दबाब नदिएको उनको तर्क छ ।

विद्यालयको जग्गा विवादबारे सोधिएको प्रश्नमा थापाले यो मुद्दा अदालतमा विचाराधीन रहेको बताए । ‘त्यो समयमा मैले सपोर्टमात्र गरेको हो, म अहिले त्यो समितिमा छैन,’ थापाले भने, ‘अदालतमा मुद्दा छ, त्यहीँबाट निरुपण होला ।’

उम्मेदवार छनोटको विवाद र आर्थिक मुद्दालाई लिएर सुनसरीका रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्लेलाई समेत पत्र पठाएका छन् । स्थानीयस्तरमा विवाद बढ्दै जाँदा केन्द्रले कस्तो निर्णय लिन्छ र विवादित छविका व्यक्तिलाई उम्मेदवार बनाउँछ कि बनाउँदैन भन्नेबारे स्थानीयवासी चासो राखिरहेका छन् ।

sssWhatsApp Image 2026-01-15 at 5.15.54 PM (2)WhatsApp Image 2026-01-15 at 5.15.54 PM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप