‘हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यास आरोहण हैन’
काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरूले पर्वतारोहण प्रमाणपत्र, हेलिकप्टर प्रयोग र दुर्घटना तथा मृत्युका अवस्थामा प्रमाणपत्र दिने विषय ऐनमा नै स्पष्ट व्यवस्थाका लागि जोड दिएका हुन् ।
बैठकमा हिमाल आरोहणका नाममा हुने हेलिकप्टर दुरुपयोग, झुट्टा उद्धार, तथा चुचुरोमा पुगेर फर्कन नसकेका आरोहीलाई प्रमाणपत्र दिने वा नदिने विषयमा छलफल गरिएको छ ।
समिति सभापति तुलसाकुमारी दाहालले झुट्टा उद्धार रोक्न, उद्धारका लागि हेलिकप्टर/ड्रोन प्रयोगलाई कडाइका साथ नियमन गर्न तथा प्रविधिमैत्री बनाउन स्पष्ट मापदण्डसहितको व्यवस्था ल्याउनुपर्नेमा मन्त्रालयलाई निर्देशन समेत दिइन् ।
हेलिकप्टर चढेर आरोहण सम्पन्न गर्ने अभ्यासले हिमालको गरिमा र साहसिक पर्यटनको मर्ममाथि गम्भीर आघात पुर्याएको संशोधनकर्ता सांसदहरूको धारणा थियो । बैठकमा संशोधनकर्ताहरूले आधार शिविरबाट हिँडेर चुचुरोमा पुगेर पुनः आधार शिविर फर्किएका पर्वतारोहीलाई मात्रै प्रमाणपत्र दिने व्यवस्था हुनुपर्नेमा विशेष जोड दिए ।
छलफलका क्रममा प्रविधि प्रयोग गरेर आरोहण पुष्टि गर्ने विषयमा संशोधनकर्ता र मन्त्रालयबिच समान मत देखिएको छ । संशोधनकर्ताहरूले उद्धारको नाममा हुने दुरुपयोग रोक्न स्पष्ट व्यवस्था राख्नुपर्नेमा जोड दिएका थिए ।
संशोधनकर्ता सोनाम गेल्जेन शेर्पाले हेलिकप्टर प्रयोग गरेर चुचुरो चढ्ने अभ्यासलाई रोक्न स्पष्ट कानुनी प्रावधानको आवश्यकता रहेकाे बताए । उनले यसलाई आरोहण मान्न नहुने भन्दै आधार शिविरबाट पैदल आरोहणलाई मात्रै मान्यता दिनुपर्ने धारणा राखे ।
संशोधनकर्ता डा.बेदुराम भुसालले चुचुरोमा पुगेपछि फर्कने क्रममा दुर्घटना भई मृत्यु भएको अवस्थामा प्रमाणपत्र दिने/नदिने विषय स्पष्ट गर्नुपर्ने बताए । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हाल चुचुरोमा पुगेर फर्किएपछि दाबी भएमा प्रमाणपत्र दिने अभ्यास रहेको तर कानुनमा स्पष्टता नभएको स्वीकार गरे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राजेन्द्र अधिकारीले क्षतिपूर्ति र धरौटीसम्बन्धी भाषागत अस्पष्टता सच्याउनुपर्ने सुझाव प्रस्तुत गरे । समिति सभापति तुलसाकुमारी दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई थप गृहकार्य गरेर स्पष्ट र समयसापेक्ष व्यवस्था ल्याउन निर्देशन दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण