पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता
म्याग्दी । मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिम तल्लो गाउँ पहिलो, पन्थोक राजदाङ दोस्रो र चिउरीबोट तेस्रो भएको नेपाल मगर संघ मालिकाका अध्यक्ष ओमकार रोकाले जानकारी दिए ।
उनका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने कलाकार समूहलाई क्रमशः रु। ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्षहरू पथबहादुर रोका, उदयबहादुर रोका लगायतले पुरस्कार वितरण गरेका थिए ।
“मगर समुदायको जन्म, मृत्यु, विवाह, छेवारमा अनिवार्य प्रस्तुत गर्नुपर्ने पुर्ख्यौली नाच संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने उद्देश्यले मालिकामा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो,” उनले भने “अग्रज र नयाँ पुस्ताका कलाकार सँगै पुर्ख्यौली प्रतियोगितामा सहभागी भएर पुस्तान्तरणको वातावरण बनेको छ ।”
पुर्ख्यौलीमा माया प्रेम, प्रकृति र सामाजिक घटनाहरूलाई सोरठी, यानीमाया, खेली, ठाडो खेली, दरखेली, भालै भाका, चुड्के खेली, लस्के खेलीको भाकामा गीत गाउने गरिन्छ । गीत मार्फत प्रकृति र देवी देवताको सम्मान गर्दा सरस्वती जागेर शरीर काम्ने यो नाचको अनौठो विशेषता रहेको मालिका गाउँपालिका–२ रुमका कलाकार तविलाल पुनले बताए ।
“पुर्ख्यौली गीत, नृत्यले देवी देवताहरुको सम्मान गर्छ,” उनले भने “लोककथाका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै पुर्ख्यौलीको प्रमुख विशेषता हो ।” दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेहरूबिच मादलको ताल मिल्नुपर्छ । पुर्ख्यौली सात रात सात दिनसम्म पनि गाएर/ नाचेर नसकिने मान्यता छ ।
पुर्ख्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् ।
विशेष गरी यो नाच सुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासि काम्ने गर्छन् । वैदेशिक रोजगारीका कारण युवा र पुरानो पुस्ताबिचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा पहल गरेको मालिका गाउँपालिका–७ बिम तल्लोगाउँका बुद्धीबहादुर जुग्जालीले बताए ।
“केही वर्ष अघिसम्म बुढापाकाहरू मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौ,” उनले भने “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुर्ख्यौली संस्कृतिको ज्ञान, सिप र मौलिकता हस्तान्तरण गरेर लोप हुन दिँदैनौ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण