शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

शनिबार, ०३ माघ २०८२, ०४ : ५२
शनिबार, ०३ माघ २०८२

म्याग्दी । मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिम तल्लो गाउँ पहिलो, पन्थोक राजदाङ दोस्रो र चिउरीबोट तेस्रो भएको नेपाल मगर संघ मालिकाका अध्यक्ष ओमकार रोकाले जानकारी दिए ।

उनका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने कलाकार समूहलाई क्रमशः रु। ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्षहरू पथबहादुर रोका, उदयबहादुर रोका लगायतले पुरस्कार वितरण गरेका थिए ।

“मगर समुदायको जन्म, मृत्यु, विवाह, छेवारमा अनिवार्य प्रस्तुत गर्नुपर्ने पुर्ख्यौली नाच संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्ने उद्देश्यले मालिकामा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो,” उनले भने “अग्रज र नयाँ पुस्ताका कलाकार सँगै पुर्ख्यौली प्रतियोगितामा सहभागी भएर पुस्तान्तरणको वातावरण बनेको छ ।”

पुर्ख्यौलीमा माया प्रेम, प्रकृति र सामाजिक घटनाहरूलाई सोरठी, यानीमाया, खेली, ठाडो खेली, दरखेली, भालै भाका, चुड्के खेली, लस्के खेलीको भाकामा गीत गाउने गरिन्छ । गीत मार्फत प्रकृति र देवी देवताको सम्मान गर्दा सरस्वती जागेर शरीर काम्ने यो नाचको अनौठो विशेषता रहेको मालिका गाउँपालिका–२ रुमका कलाकार तविलाल पुनले बताए ।

“पुर्ख्यौली गीत, नृत्यले देवी देवताहरुको सम्मान गर्छ,” उनले भने “लोककथाका विषयलाई गीत र नृत्यका माध्यमबाट प्रस्तुत गर्नु नै पुर्ख्यौलीको प्रमुख विशेषता हो ।” दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । गीतको भाका र नाच्नेहरूबिच मादलको ताल मिल्नुपर्छ । पुर्ख्यौली सात रात सात दिनसम्म पनि गाएर/ नाचेर नसकिने मान्यता छ ।

पुर्ख्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरू कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा–टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् ।

विशेष गरी यो नाच सुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरू एक्कासि काम्ने गर्छन् । वैदेशिक रोजगारीका कारण युवा र पुरानो पुस्ताबिचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा पहल गरेको मालिका गाउँपालिका–७ बिम तल्लोगाउँका बुद्धीबहादुर जुग्जालीले बताए ।

“केही वर्ष अघिसम्म बुढापाकाहरू मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेका छौ,” उनले भने “अघिल्लो पुस्ताले हामीलाई सिकाउनुभयो, हामीले पछिल्लो पुस्तालाई पुर्ख्यौली संस्कृतिको ज्ञान, सिप र मौलिकता हस्तान्तरण गरेर लोप हुन दिँदैनौ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप