कर्णालीका ७ क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार, अन्य क्षेत्रमा रस्साकस्सी
सारांश
- नेकपाले कर्णाली प्रदेशका ७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ।
- रुकुम पश्चिम, जुम्ला, दैलेख, सुर्खेत र डोल्पामा उम्मेदवारहरू तोकिएका छन्, भने केही जिल्लामा अझै टुंगो लाग्न बाँकी छ।
- पुराना र नयाँ अनुहारहरूलाई समेट्दै नेकपाले आगामी निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कर्णाली प्रदेशका ७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रहरू रहेको कर्णालीमा सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्रहरू छन् ।
नेकपाका नेता तथा साविक माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले ७ क्षेत्रको उम्मेदवार टुंगिसकेको रातोपाटीलाई बताए । उनका अनुसार रूकुम पश्चिममा गोपाल शर्मा, जुम्लामा नरेश भण्डारी, दैलेख क्षेत्र नम्बर १ मा अम्बर बहादुर थापा, दैलेख क्षेत्र नम्बर २ मा योगेन्द्र बहादुर शाही, सुर्खेत क्षेत्र नम्बर १ मा जीतबहादुर राना, सुर्खेत क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पामा धनबहादुर बुढा उम्मेदवार बनेका छन् ।
टुंगो लागेका कतिपय उम्मेदवारलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट वितरण गरिसकेका छन् । हुम्ला, कालिकोट, जाजरकोट, सल्यान र मुगुको उम्मेदवार टुंगिन बाँकी रहेको नेता मल्लले बताए ।
‘यी जिल्लाको पनि छलफल चलिरहेको छ, भोलिसम्म टुंगिएला,’ उनले भने, ‘यी जिल्लाहरूमा आकांक्षीहरू धेरै भएकाले मिलाउन ढिलाइ भएको हो ।’
सल्यानमा साविक समाजवादीका नेता प्रकाश ज्वाला र लामो समय प्रचण्डको स्वकीय रहेका रमेश मल्लबिच टिकट फुत्काउन संघर्ष चलेको छ । ज्वाला सल्यानमा बलिया छन् । उनले २०७९ सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।
जाजरकोटमा शक्ति बस्नेतसहित अन्य नेताहरूको नाम पनि सिफारिस छ । लगातार बस्नेत चुनाव लड्दै आएकोमा यो पटक अन्य नेताहरूले समेत आकांक्षा देखाएका हुन् ।
कालिकोटमा सुरुमा प्रचण्ड चुनाव लड्ने भनेर एकल सिफारिस गरिए पनि उनी रुकुमपूर्व जाने भएपछि ११ जना आकांक्षीहरू देखिएका छन् । विशेषगरी पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई त्यहाँ नेता मिलाउन सकस भएको छ ।
उम्मेदवार टुंगो लागेका कतिपय जिल्लामा यसअघि नै जिल्लाबाट एकल नाम सिफारिस गरेका कारण पनि सजिलो भएको हो ।
टुंगो लागेका ७ क्षेत्रमा दुई जना साविक नेकपा (एकीकृत समाजवादी)बाट छन् भने बाँकी माओवादीबाट छन् । दैलेख क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका अम्मरबहादुर थापाले साविक एकीकृत समाजवादीबाट सोही क्षेत्रमा ०७९ को चुनाव जितेका थिए ।
यस्तै डोल्पाका धनबहादुर बुढा पनि साविक समाजवादीतर्फका नेता हुन् । उनी पनि ०७९ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा जितेका नेता हुन् । यी दुवै नेतालाई नेकपाले पुनः उम्मेदवार बनाएको हो । आ–आफ्नो क्षेत्रमा प्रभाव राख्ने नेताहरू हुन् थापा र बुढा ।
उम्मेदवार टुंगिएका सुर्खेतका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरू पहिलो पटक चुनावी मैदामा उत्रिँदै छन् । दुवै क्षेत्रमा पूर्वजनमुक्ति सेनाका लडाकुलाई उम्मेदवार बनाइएको छ । यहाँ ०७४ र ०७९ सालमा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिएनन् ।
रुकुम पश्चिममा उम्मेदवार बनेका गोपाल शर्मा ०७४ मा प्रदेश सभा सांसद बनेका थिए । उनी कर्णालीको अर्थमन्त्रीसमेत बने । उनी पहिलो पटक आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’ सँगै प्रतिनिधि सभा चुनाव लड्दै छन् ।
यस्तै दैलेख–२ मा उम्मेदवार बनेका योगेन्द्र शाहीले यसअघि ०७९ मा प्रदेश सभा चुनाव हारेका हुन् । बौद्धिक वर्गमा परिचित नेता शाहीले माओवादीको कमजोर संगठन भएको क्षेत्र भए पनि झिनो मतान्तरले पराजय भोगेका थिए । अहिले उक्त क्षेत्रमा नेकपाले उनैलाई उम्मेदवार बनाएको छ । यहाँबाट अन्य नेताहरूले पनि आकांक्षा देखाएका थिए, तर शाहीको नाममा नै टुंगो लागेको नेताहरू बताउँछन् ।
जुम्लाका भण्डारी ०६४ मा निर्वाचित सांसद हुन् । ०७४ मा प्रदेश सभा चुनाव जितेर कर्णालीको कानुनमन्त्री बनेका उनले ०७९ मा पनि उम्मेदवार बन्ने चाहना देखाएका थिए, तर पार्टीले गोमा गौतमलाई टिकट दिएपछि माओवादीले जुम्लामा पराजय भोगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण