०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ शून्यमा सीमित कर्णालीमा एमालेले पुरानै अनुहारप्रति देखायो विश्वास
सारांश
- नेकपा एमालेले कर्णाली प्रदेशमा पुरानै अनुहारलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको छ।
- सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लामा युवा नेताहरूलाई पाखा लगाउँदै पुराना र पराजित नेताहरूलाई टिकट दिइएको छ।
- टिकट वितरणमा असन्तुलन देखिएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाकरी गर्ने नेतालाई प्राथमिकता दिएको आरोप लागेको छ।
सुर्खेत । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार टुङ्ग्याएसँगै असन्तुष्टि चुलिन थालेको छ । खासगरी कर्णालीमा एमालेले पुरानै अनुहारप्रति विश्वास देखाएका कारण युवा पंक्ति असन्तुष्ट देखिएका छन् ।
०७९ को निर्वाचनमा कर्णालीबाट एमालेले प्रत्यक्षतर्फ कुनै पनि सिटमा जित हासिल गर्न सकेको थिएन । उम्मेदवारी दिँदा यसअघि असफल भएकैहरूले समेत मौका पाएपछि असन्तुष्टि चुलिएको छ ।
१० जिल्ला रहेको कर्णालीमा प्रतिनिधि सभा अन्तर्गत १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र छन् । बाँकी ८ जिल्लामा प्रतिनिधि सभा अन्तर्गत एक–एक निर्वाचन क्षेत्र छन् ।
१२ निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि सम्भावित ३० जना नेताको नाम पार्टी केन्द्रमा पठाएकोमा युवा र जनतामा आशा गरिएका नेताहरूलाई पाखा लगाउँदै पुरानै नेताहरूलाई टिकट दिइएपछि असन्तुष्टि बढेको हो ।
एमालेले सुर्खेत–१ म ध्रुव शाही, सुर्खेत–२ मा कुलमणि देवकोटा, सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, कालिकोटमा नगीन्द्र शाही (नेसनल), जुम्लामा शान्तिलाल महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लंक रोकाया, जाजरकोटमा डम्बरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । यस्तै दैलेख–१ मा रविन्द्रराज शर्मा र दैलेख–२ मा लक्ष्मी पोखरेलले टिकट पाएका छन् ।
टिकट पाएका धेरैजसो नेता यसअघि स्थानीय, प्रदेशदेखि प्रतिनिधि सभाका चुनावमा पटक–पटक चुनाव लडेका नै हुन् । ०७९ को प्रतिनिधि सभा चुनावमा कर्णालीमा प्रत्यक्षतर्फ शून्य बनेको एमालेले कतिपय पराजित अनुहारलाई नै पुनः अघि सारेको छ । युवा तथा जनातामा आशा गरिएका नेतालाई पाखा लगाइएको भन्दै विशेषगरी दैलेख–२, जाजरकोट, हुम्ला लगायतका जिल्लामा सार्वजनिक रूपमै असन्तुष्टि बढेको छ ।
१२ निर्वाचन क्षेत्रमध्ये एमालेले ६ वटामा एकल उम्मेदवार सिफारिस गरेको थियो । बाँकी जिल्लामा आकाङ्क्षी धेरै देखिएका थिए, जसमा धेरैजसो युवा नेता थिए । पार्टी केन्द्रले युवा नेताहरूलाई पाखा लगाउँदै पुराना र पटक–पटक चुनाव हारेकाहरूलाई नै टिकट दिएको एमाले प्रदेश तहका नेताहरू बताउँछन् ।
एमाले प्रदेश तहका एक नेताले रातोपाटीसँग भने, ‘टिकट वितरण गर्दा निकै असन्तुलन देखिन्छ ।’ अहिले जेनजी आन्दोलन पश्चात् जताततै युवालाई प्राथमिकता दिनुपर्ने आवाज उठे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशबाट जुन नेताले धेरै चाकरी गर्न सक्यो, उसैलाई टिकट दिएर पठाएको ती नेताको आरोप छ ।
प्रदेशभित्र टिकट पाएकामध्ये अधिकांश यामलाल कँडेल निकट नेता छन् भने दुई जनामात्रै गोरख बोगटी समूहका छन् । कर्णालीमा एमालेभित्र कँडेल र बोगटी पक्षबिच ध्रुवीकरण छ ।
कुन क्षेत्रमा कस्ता उम्मेदवार ?
सुर्खेत–१ बाट टिकट पाएका ध्रुव शाही ०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । यो क्षेत्र कांग्रेसका नेता पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र हो । यही क्षेत्रबाट खड्काले लामो समयदेखि चुनाव लड्दै आएका छन् ।
०७९ मा कांग्रेसका खड्काले ४२ हजार ६०७ मत ल्याउँदा एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएका थिए । खड्कालाई उक्त चुनावमा माओवादीको साथ थियो । यद्यपि उक्त क्षेत्रमा माओवादीको खासै प्रभाव छैन ।
एमालेले शाहीलाई नै अघि सार्नुका पछाडि ०७४ को चुनावको नजिरले पनि काम गरेको एमाले जिल्ला तहका एक नेता बताउँछन् । ०७४ मा माओवादीको समर्थन पाएका उनै शाहीले खड्कालाई पराजित गरेका थिए ।
उक्त चुनावमा एमालेका शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए । अहिले माओवादी (हाल नेकपा)बाट जीतबहादुर राना यो क्षेत्रमा उम्मेदवार छन् ।
सुर्खेत–२ का एमाले उम्मेदवार कुलमणी देवकोटा सुर्खेतको पार्टी अध्यक्ष हुन् । यसअघि उनले संसदीय चुनाव लडेका छैनन् । यसअघि उनी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका अध्यक्ष थिए । सबैतिर चिनिएका देवकोटा यामलाल कँडेलका खास मान्छे हुन् ।
दैलेख– १ मा टिकट पाएका रविन्द्रराज ०७९ मा पराजित नेता हुन् । उनी ०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । शर्माले ०७९ मा १७ हजार ४०७ मत पाएका थिए । उनका प्रतिस्पर्धी तथा पूर्वसहकर्मी अम्मरबहादुर थापाले १८ हजार २५६ मत पाएका थिए । थापा लामो समय एमाले जिल्लाको नेतृत्वमा थिए । एमाले विभाजनपछि उनी माधव नेपालको एकीकृत समाजवादीतिर लागे । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलको एकतापछि गठित नेपाली कम्युनिस्ट पार्टीले थापालाई नै उम्मेदवार बनाएको छ ।
दैलेख–१ मा ‘फेलियर’ भइसकेका शर्माले नै टिकट पाउने देखेपछि सिफारिसमा परेका युवा नेता एनके बस्नेत एमाले छाडेर रास्वपामा गएका छन् । उनी रास्वपाबाट उम्मेदवार बन्दै छन् ।
यस्तै, दैलेख–२ मा सिफारिसमा क्रममा भएको आन्तरिक चुनावमा सबैभन्दा धेरै मत पाएका युवा नेता विष्णु रिजाल पाखा लगाइएका छन् । केपी ओलीले पुरानै नेता लक्ष्मी पोखरेललाई टिकट दिएको भन्दै कार्यकर्ताले सामाजिक सञ्जालमै प्रतिवाद गरेका छन् ।
पोखरेलले सिफारिसका क्रममा आन्तरिक प्रतिस्पर्धामा दोस्रो लोकप्रिय मत पाएका थिए । कार्यकर्ताको रोजाइको पहिलो नम्बरमा परेका रिजालले भने टिकट पाउन सकेनन् । यो पटक आफूले टिकट पाउनेमा रिजाल ढुक्क थिए, तर अध्यक्ष ओलीले उनलाई टिकट दिएनन् । ओलीको रोजाइमा यसअघि पटक–पटक चुनाव लडेका र पुरानै नेता पोखरेल परे । पोखरेल ०७९ मा कांग्रेसका दीक्पाल कुमार शाहीसँग पराजित भएका थिए ।
शाहीले २० हजार १५८ मत ल्याउँदा पोखरेलले २० हजार ५ मत पाए । पोखरेल ०७० मा यहीँबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी ०५६ तिर मालेबाट चुनाव लडेका थिए भने त्यसअघि एक पटक प्रधानपञ्ज समेत भइसकेका पुराना नेता हुन् । उनलाई केन्द्रमा केपी ओली र प्रदेशमा यामलाल कँडेल निकट मानिन्छ । केपी ओली समूहबाटै ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य लडेका उनी पराजित भएका थिए ।
एमालेको सबैभन्दा कमजोर जनाधार रहेको रुकुम पश्चिममा ०७९ मा पराजित नन्दराम देवकोटालाई नै टिकट दिइएको छ । देवकोटा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादी नेता जनार्दन शर्मासँग २६ हजारको मतान्तरले पराजित भएका थिए । रुकुम माओवादीको आधार इलाका हो ।
अहिले पुनः शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने माओवादीसहित मिलेको नेकपाबाट गोपाल शर्मा उम्मेदवार छन् । शर्मा–शर्माबिच नै रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको रुकुम पश्चिममा देवकोटा निकै कमजोर उम्मेदवार हुन् ।
हुम्लामा दल फडेराले टिकट पाए । उनी ०७४ मा गाउँपालिका अध्यक्ष जितेका, ०७९ मा पुनः अध्यक्षमा लडेर पराजित भएका नेता हुन् । यतिमात्र होइन, उनी ०७९ को प्रदेश सभा चुनावमा समेत टिकट पाएर पराजित नेता हुन् ।
उनी प्रदेशमा गोरख बोगटी समूहका नेता हुन् । बोगटीकै जोडबलमा उनले पुनः टिकट ल्याउन सफल भएको एक नेताले बताए । बोगटी समानुपातिकतर्फ छन् । यहाँ यामलाल कँडेल समूहका दल रावलले टिकट पाउने चर्चा गरिए पनि अन्तिममा फडेराले पाए । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
उता सल्यानमा पराजित नेता गुलाबजंग शाहले नै टिकट पाए । जिल्लाबाट एकल सिफारिस भएका एमाले प्रदेश अध्यक्ष शाह ०७९ मा प्रदेश सभामा पराजित हुन् । ०७४ मा प्रदेश सभा जितेका उनी सल्यानमा एमालेभित्र बलियै छन् । तर, पूर्वएमाले नेता प्रकाश ज्वालाको प्रभाव पनि बलियो छ । ०७९ मा यहाँ एकीकृत समाजवादीबाट चुनाव लडेका ज्वालाले एमालेका उम्मेदवार राजेन्द्रविर रायलाई झण्डै १५ हजार मतान्तरले हराएका थिए । सल्यानमा नेकपाबाट ज्वाला उम्मेदवार हुँदैछन् ।
उता जाजरकोटमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता निरज आचार्यले यो पटक टिकट पाएनन् । जिल्लाबाट आचार्यसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको थियो । आचार्य विशेषगरी एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् भने प्रदेशमा गोखर बोगटीतिरको नेताका रूपमा चिनिन्थे । अन्य भन्दा चिनिएका र जनमत भएका आचार्य यस पटक पाखा लगाइए । कांग्रेससहितको समर्थन पाएका माओवादीका शक्ति बस्नेतसँग ०७९ मा ९ हजारभन्दा बढी मतान्तरले आचार्य पराजित भएका थिए ।
जाजरकोटमा पुराना र पराजित नेता डम्बरबहादुर सिंहले टिकट पाए । उनी ०७० को संविधान सभा र ०७९ को प्रदेश (१) को प्रदेश सभामा पराजित नेता हुन् ।
मुगुमा युवा नेता राजु कार्की लगायतलाई पाखा लगाइँदा पुर्णबहादुर रोकायाले टिकट पाएका छन् । रोकाया एमाले जिल्ला अध्यक्ष हुन् भने ०७४ मा मुगुम कार्मारोङ्ग गाउँपालिका–४ को वडा सदस्य निर्वाचित भएका थिए । साथै, उनी जिल्ला समन्वय समितिको प्रमुखसमेत भइसकेका नेता हुन् ।
एमालेको कमजोर आधार रहेको जुम्लामा शान्तिलाल महतले टिकट पाए भने डोल्पाबाट स्थानीय तहमै पराजित लंक रोकायाले टिकट पाए । रोकाय मुड्केचुल्ला गाउँपालिकाको अध्यक्षमा ०७४ मा ५ र ०७९ मा ३७ मतले पराजित नेता हुन् ।
कालिकोटमा आन्तरिक लफडाकाबिच पुनः नगीन्द्र शाही ‘नेशनल’ नै टिकट पाए । ०७९ मा माओवादीका महेन्द्रबहादुर शाहीसँग ८ हजार ६४ मतान्तरले पराजित उनी एमाले जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य हुन् ।
कालिकोटमा ६० को दशकपछि माओवादीले एकछत्र वर्चस्व जमाउँदै आएको छ । यहाँ एमालेलाई चुनाव जित्न सजिलो छैन । त्यसमाथि पनि टिकट वितरणमै लफडा भएको छ । अर्का युवा नेता वकिल बमले आफ्नो नाम सिफारिसमा नपरेपछि पार्टी नै परित्याग गरेका थिए ।
पछि केन्द्रका नेताको दबाबमा उनी पार्टीमा फर्किएका थिए भने प्रदेश कमिटीले उनीसहितको नाम सिफारिस गरिदिए पनि टिकट भने शाहीले पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण