प्रदेश त्यागेर प्रतिनिधि सभा ताक्नेको लर्को
सारांश
- राजनीतिमा चुनावको बेला पार्टी परिवर्तन र टिकट हत्याउने प्रवृत्ति सामान्य बनेको छ।
- प्रदेश सांसदहरूले कार्यकाल पूरा नगरी राजीनामा दिई प्रतिनिधि सभाको चुनाव लड्न थालेका छन्।
- विभिन्न प्रदेशका १२ जना सांसदले प्रतिनिधि सभा निर्वाचनका लागि राजीनामा दिएका छन्, जसमा कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सांसदहरू छन्।
काठमाडौँ । राजनीतिमा चुनावका बेला पार्टी परिवर्तन गर्ने र टिकट हत्याउने सामान्य प्रचलनजस्तै बनेको छ ।
चुनावको सम्मुखमा एक हातले पार्टी सदस्यता र अर्को हातले उम्मेदवारको टिकट लिने प्रवृत्तिका कारण राजनीतिक पार्टीहरूमा निष्ठा र लामो योगदान गर्नेहरू किनाराकृत हुने गरेको गुनासो पर्याप्त सुनिँदै आएको छ ।
पार्टी परिवर्तन गरेर चुनाव लड्नु सामान्य भए पनि कतिपय पाँच वर्षका लागि जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यकाल पूरा नहुँदै राजीनामा दिने क्रम बढेको छ । यो पङ्क्तिमा स्थानीय तहका जनप्रतिनिधि मात्र होइनन्, प्रदेश सांसद समेतको लर्को लागेको छ ।
पाँच वर्षका लागि निर्वाचित प्रदेश सांसदहरूले कार्यकाल नै पूरा नभई बिचमै राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने प्रतिस्पर्धामा उत्रनुले उनीहरूले जनतामाझ गरेको प्रतिबद्धताप्रति जवाफदेहिताको कमी देखिएको छ ।
एउटा पदमा निर्वाचित भएर पदावधि नसकिँदै अर्को पदको चुनाव लड्ने होडबाजी र प्रतिस्पर्धाले जनताको मतको कदर र विश्वासमाथि समेत प्रश्न उठ्न थालेको छ ।
जेनजी आन्दोलनपछि मुलुकमा यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ । यो निर्वाचनका लागि मात्रै अहिलेसम्म प्रदेश सभाका १२ जना सांसदले राजीनामा दिइसकेका छन् । तीबाहेक अन्य प्रदेश सांसदहरू समेत राजीनामा दिएर मंगलबार बिहानसम्म प्रतिनिधि सभाको चुनाव लड्ने प्रयासमा छन् ।
प्रदेश सभा सदस्यबाट राजीनामा गर्नेमा कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सांसद रहेका छन् । कोशी प्रदेशका प्रदेश सदस्य भक्ति सिटौलाले प्रदेश सदस्य पदबाट राजीनामा दिएर फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यका लागि झापा– ४ मा राप्रपाबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
त्यस्तै कोशीकै एमालेका रेवतीरमण भण्डारी पनि राजीनामा दिने मनस्थितिमा छन् । यद्यपि भण्डारीले यो समाचार तयार पार्दासम्म राजीनामा दिइसकेका छैनन् । भण्डारी प्रदेश सभाबाट राजीनामा दिएर सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवारका लागि आकांक्षी छन् ।
बागमती प्रदेशबाट सबैभन्दा बढी चार सांसदले राजीनामा दिएका छन् । अमन मास्के, युवराज दुलाल, कुन्दन काफ्ले र सुनिल केसी, पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ,बसन्त मानन्धर । मास्केले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट एमालेका तर्फबाट उम्मेदवारी मनोनयन गर्ने तयारीमा छन् । मास्के २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ को (२) बाट निर्वाचित भएका थिए ।
बागमतीबाटै तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य युवराज दुलालले पनि राजीनामा दिइसकेका छन् । उनी सिन्धुपाल्चोक २ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुलाललाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएर टिकट नै दिइसकेको छ ।
बागमती प्रदेशकै अर्का सांसद कुन्दन काफ्ले पनि प्रदेशबाट राजीनामा दिएर दोलखाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्ने तयारीमा छन् । उनी गत निर्वाचनमा दोलखा (२) बाट निर्वाचित भएर मन्त्रीसमेत बनेका थिए । त्यसबाहेक राप्रपाका सुनिल केसीले पनि सोमबार नै राजीनामा दिएका छन् । केसी रास्वपाबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
मधेस प्रदेशबाट तीन जना प्रदेश सभा सदस्यले राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनिसकेका छन् । मधेस प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्वमुख्यमन्त्री सतीश कुमार सिंह र पूर्वराज्यमन्त्री रहबर अन्सारीले राजीनामा दिएका हुन् । मधेस प्रदेशसभाका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजीनामा बुझाएका हुन् भने पूर्वमुख्यमन्त्री सतीश कुमार सिंहले माघ ५ गते बिहान सभामुख रामअशिष यादवलाई राजीनामा बुझाएका हुन् ।
निवर्तमान सभामुख मण्डल नेकपा एमालेबाट धनुषा क्षेत्र नं १, पूर्वराज्यमन्त्री अन्सारी रास्वपाबाट पर्सा–१ र सतीश कुमार सिंह सप्तरी–२ बाट स्वाभिमान पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।
लुम्बिनी प्रदेशबाट ३ जना सांसद राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । यो प्रदेशबाट लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, धनबहादुर मास्की र धर्मबहादुर चौधरीले राजीनामा दिएका हुन् ।
बनिया रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारीमा छन् । उनी रास्वपाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने भएकाले राजीनामा दिएको बताएका छन् ।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले सोमबार मात्र लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामासमेत दिएका हुन् ।
उनीबाहेक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दाङका धनबहादुर मास्की र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बर्दियाका धर्मबहादुर चौधरीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले दुवै प्रदेशसभा सदस्यको राजीनामा पत्र सचिवालयमा प्राप्त भएको जानकारी दिए । चौधरी यसअघि लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीको बर्दिया २ (२) बाट निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टी छोडेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मास्की दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट र उज्यालो पार्टीका चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन् । मास्कीले यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । उनी लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए । त्यस्तै बर्दिया–२ बाट प्रतिनिधि सभा उम्मेदवार बन्न लागेका चौधरी २०७९ को निर्वाचनमा बर्दिया २ (२) बाट विजयी भएका थिए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले पनि राजीनामा दिएका छन् । उनी रास्वपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारीमा छन् । यसअघि डडेल्धुरा प्रदेशसभा (२) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा. जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुराबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण