मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन

सधैँको चर्चामा काठमाडौँ १: गर्भवती र समलिङ्गीदेखि कांग्रेसको बागीसम्म

बुधबार, ०७ माघ २०८२, ०३ : १२
बुधबार, ०७ माघ २०८२

सारांश

  • आगामी निर्वाचनमा काठमाडौँका विभिन्न क्षेत्रमा उम्मेदवारहरूको उत्साहजनक सहभागिता रह्यो, जसमा विविध पृष्ठभूमिका व्यक्तिहरू छन्।
  • काठमाडौँ १ मा रन्जु दर्शना गर्भवती हुँदाहुँदै पनि चुनाव लड्दै छिन्, भने समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाउन सफल सुरेन्द्र पाण्डेले पनि उम्मेदवारी दिएका छन्।
  • कांग्रेसभित्रको टिकट वितरणमा असन्तुष्टि देखियो, प्रकाशमान सिंहले टिकट नपाएपछि बाबुराम आचार्यले बागी उम्मेदवारी दिएका छन्, जसले पार्टीभित्रको कलहलाई उजागर गर्यो।

काठमाडौँ । नेपालको राजनीतिमा काठमाडौँ सधैँ चर्चाको केन्द्रविन्दुमा रहन्छ । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनले यति बेला देशैभर उत्साह र कौतुहलता जगाएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय तोकेसँगै देशका ७७ वटै जिल्लामा उम्मेदवारहरूको लर्को लाग्यो ।

मंगलबार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले तामझामका साथ मनोनयन दर्ता गराएका छन् । यसपटकको निर्वाचनमा पुरानै अनुहारहरूको दबदबा मात्र छैन, बरु समाजका विभिन्न क्षेत्र, वर्ग र पहिचानका प्रतिनिधिहरूले पनि राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाउने प्रयास गरेका छन् ।  तुलनात्मक रूपमा चलायमान मतदाता धेरै भएको काठमाडौँ क्षेत्र नम्बर १ मा यस पटक केहि रोचक दृश्य देखियो ।

गर्भवती उम्मेदवारको साहसिक कदम

काठमाडौँ क्षेत्र नम्बर १ मा यस पटक सबैभन्दा बढी चर्चा रन्जु दर्शनाको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी रन्जु यस पटक ‘दोहोरो’ लडाइँमा छिन् । उनी गर्भवती छिन्, तर उनको राजनीतिक जोस र जाँगरमा कुनै कमी आएको छैन ।

यसअघि रास्वपाको समानुपातिक सूचीमा नाम रहेकी रन्जुले अन्तिम समयमा आएर प्रत्यक्षतर्फ लड्ने आँट गरिन् । उनी भन्छिन् ‘महिलाहरू हरेक परिस्थितिमा पनि लड्न सक्छन् । यो मेरो व्यक्तिगत जीवन र राजनीतिक जीवन दुवैको निर्वाचन हो । मलाई विश्वास छ, म दुवैमा जित्नेछु ।’  एउटी महिलाले आफ्नो मातृत्वलाई शक्तिमा बदलेर निर्वाचनको मैदानमा उत्रिनुले नेपाली राजनीतिमा महिलाको अदम्य साहसको प्रतिनिधित्व गर्ने उनले बताइन् ।

समलिङ्गी विवाहदेखि संसद्को यात्रासम्म

दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाउन सफल जोडीमध्येका एक सुरेन्द्र पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

समावेशी समाजवादी पार्टीबाट उम्मेदवारी दिएका पाण्डेलाई पहिलो संविधानसभा सदस्य एवं नील हिरा समाजका संस्थापक सुनिल बाबु पन्तको पूर्ण समर्थन छ । सीमान्तकृत समुदायको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउने उद्देश्यका साथ पाण्डे मैदानमा उत्रिएका हुन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सडकमा सङ्घर्ष गरेका पाण्डे अब संसद्को रोस्ट्रमबाट आफ्ना कुरा राख्न चाहन्छन् ।

कांग्रेसभित्रको विद्रोह

यस अघि नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जितेको क्षेत्रमा सिंहले टिकट नै पाएनन् । उनको स्थानमा प्रबल थापा काँग्रेसबाट मैदानमा आए ।  परम्परागत दलहरूभित्रको टिकट वितरणलाई लिएर हुने असन्तुष्टि यस पटक पनि काठमाडौँमा छताछुल्ल भएको छ । नेपाली कांग्रेसको गढ मानिने काठमाडौँ १ मा पार्टीले टिकट नदिएपछि बाबुराम आचार्यले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

आचार्य क्षेत्रबाट सिफारिस भएका व्यक्तिको सूचीमा थिए ।  पार्टीले प्रबल थापालाई टिकट दिएपछि उनी रुष्ट बनेका हुन् । क्षेत्रबाट प्रकाशमान सिंह र आचार्यको नाम सिफारिस हुँदाहुँदै सिफारिसमै नपरेका थापालाई उम्मेदवार बनाइनुले कांग्रेसभित्रको आन्तरिक कलहलाई सतहमा ल्याइदिएको छ ।

प्रविधिदेखि संस्कृतिसम्म

काठमाडौँ १ मा उम्मेदवारहरूको विविधता यतिमै सकिँदैन । राप्रपाबाट वरिष्ठ नेता रविन्द्र मिश्र चुनावी मैदानमा छन्, जसले आफ्नो बलियो जनमत निर्माण गरिसकेका  अघिल्लो पटको निर्वाचनको नतिजाले देखाउँछ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट मेनका भण्डारी (कृतु), उज्यालो नेपाल पार्टीबाट मंगल श्रेष्ठ र श्रम संस्कृति पार्टीबाट समिर तामाङले पनि उम्मेदवारी दिएका छन् ।

यो निर्वाचनको अर्को रोचक पक्ष भनेको कर्पोरेट क्षेत्रको राजनीतिमा प्रवेश हो । लोकप्रिय राइड शेयरिङ एप ‘पठाओ’ का सिइओ असिममान सिंह बस्न्यातले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै राजकुमार बजागाईं (राजानन्द माण्डव्य) लगायतका स्वतन्त्र उम्मेदवारहरूले पनि यो प्रतिस्पर्धालाई थप बहुआयामिक बनाएका छन् ।

काठमाडौँका दश वटै क्षेत्रमा चुनावी उत्साह

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता उत्साहजनक रहेको छ । कुल १० क्षेत्रबाट २५४ जनाले मनोनयन दर्ता गराएका छन् । यसले राजधानीको राजनीतिमा मानिसहरूको चासो र सक्रियता कति उच्च छ भन्ने देखाउँछ ।

१ नम्बर निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै ३० जनाको उम्मेदवारी परेको छ ।  २ नम्बर क्षेत्रमा २२, ३ नम्बर क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४ नम्बर क्षेत्रमा २८, ५ नम्बर क्षेत्रमा २६, ६ नम्बर क्षेत्रमा २२, ७ नम्बर क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ ।  ८ नम्बर क्षेत्रमा २२, ९ र १० नम्बर क्षेत्रमा २६/२६ जनाको उम्मेदवारी परेको छ ।

samir tamang

काठमाडौँमा औसतमा एउटा क्षेत्रमा २५ जना उम्मेदवार रहेका छन् ।  आगामी फागुन २१ को निर्वाचन केवल जनप्रतिनिधि छनोट गर्ने माध्यम मात्र होइन, यो बदलिँदो नेपाली समाजको ऐना पनि हो । काठमाडौँ १ मा देखिएका दृश्यहरूले नेपाली राजनीति अब केवल ‘ठुला नेता र पुराना दल’ को कब्जामा मात्र सीमित छैन भन्ने पुष्टि गर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप