म्यानचेस्टर सिटीको बिचल्ली, बोडो/ग्लिम्टको ऐतिहासिक जित
सारांश
- बोडो/ग्लिम्टले म्यानचेस्टर सिटीलाई ३-१ ले हरायो, च्याम्पियन्स लिगमा सनसनीपूर्ण नतिजा निकाल्दै।
- खेल माइनस ९ डिग्री सेल्सियसको तापक्रम र आर्टिफिसियल ग्राउन्डमा खेलिएको थियो, जसमा सिटी लगातार दोस्रो पटक पराजित भयो।
- बोडो/ग्लिम्टका लागि कास्पर हगले दुई गोल गरे, भने जेन्स पिटर हाउगेले अर्को गोल थपे।
म्यानचेस्टर । च्याम्पियन्स लिगको इतिहासमा एउटा ठुलो उलटफेर गर्दै नर्वेली टोली बोडो/ग्लिम्टले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ।
माइनस ९ डिग्री सेल्सियसको कठ्याङ्ग्रिदो जाडो र आर्टिफिसियल ग्राउन्डमा खेलिएको खेलमा सिटी ३–१ ले पराजित भएको हो। गत शनिबार म्यानचेस्टर डर्बीमा युनाइटेडसँग हारेको सिटीका लागि यो लगातार दोस्रो लज्जास्पद हार हो।
खेलको सुरुदेखि नै घरेलु टोली बोडो/ग्लिम्टले पेप ग्वार्डिओलाको युवा टोलीमाथि दबाब बनायो। २२औँ मिनेटमा ओले डिड्रिक ब्लोमबर्गको क्रसमा कास्पर हगले हेडमार्फत गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाए।
सिटीको रक्षापङ्क्ति सम्हाल्न सङ्घर्ष गरिरहेका म्याक्स एलेनको गल्तीको फाइदा उठाउँदै दुई मिनेट नबित्दै हगले व्यक्तिगत दोस्रो गोल थपे र खेल २–० को स्थितिमा पुर्याए।
आफ्नै देशको क्लबविरुद्ध मैदान उत्रिएका स्टार स्ट्राइकर एर्लिङ हालान्डका लागि यो खेल बिर्सनलायक रह्यो। लय समात्न सङ्घर्ष गरिरहेका हालान्डले पहिलो हाफको अन्त्यतिर गोल गर्ने सुन्दर अवसर खेर फाले।
दोस्रो हाफमा जेन्स पिटर हाउगेले उत्कृष्ट सोलो गोल गर्दै बोडो/ग्लिम्टको जित सुनिश्चित गरे। उनले प्रहार गरेको बल कर्नरबाट जाली चुम्दा सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्मा निरीह देखिए।
खेलको उत्तरार्धमा रायन चर्कीले सिटीका लागि एक गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन त्यो पर्याप्त भएन। त्यसपछि रोड्रीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित सिटी थप दबाबमा पर्यो।
यो ऐतिहासिक जितसँगै बोडो/ग्लिम्टले प्ले–अफ पुग्ने आशा जीवित राखेको छ भने सिटीलाई शीर्ष आठमा पर्न अब गालातासारेविरुद्धको अन्तिम खेल जित्नैपर्ने बाध्यता आइलागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण