मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन चर्चा

गोरखा २ : जनयुद्धका कमान्डरको प्रतिस्पर्धामा चक्रेको इन्ट्री, दाउ हेर्दै दवाडी र बुर्लाकोटी

शुक्रबार, ०९ माघ २०८२, १० : ०५
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • लेखनाथले ३३ वर्षपछि चुनावमा टिकट पाएका छन्, भने बाबुराम भट्टराई र लेखनाथ गोरखा-२ बाट चुनावी प्रतिस्पर्धामा छन्।
  • जनयुद्धका कमान्डरहरू अहिले प्रतिस्पर्धी बनेका छन्, र गोरखा-२ को निर्वाचनमा विभिन्न दलका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
  • गोरखा-२ मा यसअघि माओवादीको प्रभाव रहे पनि अहिले रास्वपाको बढ्दो प्रभाव र एमालेको चर्चित अनुहारका कारण निर्वाचन रोचक हुने सम्भावना छ।
00:00 / NaN:NaN
Audio By AI

पोखरा । पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका लेखनाथ न्यौपानेलाई एकथान टिकटका लागि पूर्णकालीन राजनीति गरेको ३३ वर्ष कुर्नुपर्‍यो । ५२ वर्षीय लेखनाथले २०५२ देखि ०६२ को जनयुद्धलाई विद्यार्थीको मोर्चाबाट नेतृत्व दिए । त्यतिबेला जनयुद्धका उच्च कमान्डर बाबुराम भट्टराई थिए । दुवै जनाले जनयुद्धमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । 

शैलीमा केही फरकपन भए पनि उनीहरूबिच धेरै समानता पनि छन् । दुवैको राजनीतिक जग विद्यार्थी जीवन हो । बाबुरामले भारतमा अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष भएर काम गरे भने लेखनाथले नेपालमै अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष भएर विद्यार्थी आन्दोलनको नेतृत्व गरे ।

दुवै नेताले लामो समय भूमिगत जीवन बिताएका छन् । दुवैले गिरफ्तारी, हिरासत र जेल जीवन भोगेका छन् । बाबुराम भारत र नेपालमा पटक–पटक पक्राउ परे भने लेखनाथले जनयुद्धकालमा चार वर्ष जेल जीवन बिताए । दुवै जना वैचारिक नेता र लेखकका रूपमा स्थापित छन् । दर्जनौँ पुस्तकहरू उनीहरूले लेखेका छन् । ०७२ सम्म उनीहरूको राजनीतिक यात्रा पनि समान थियो, एउटै पार्टीबाट । बाबुराम राजनीतिमा नयाँपन खोज्दै माओवादीबाट अलग्गिए । लेखनाथले पार्टीभित्रै नयाँ विचारको निर्माण गरिरहे । कुनै समय एउटै यात्रामा साझेदारी गरेका जनयुद्धका कमान्डरहरू अहिले एकआपसका प्रतिस्पर्धी बनेर चुनावमा भाग लिँदैछन् । उनीहरू गोरखा–२ बाट उम्मेदवार बनेका हुन् ।

यिनै समानतासँगै उनीहरूबिच केही भिन्नता पनि छन् । बाबुराम ०६४ को निर्वाचन जितेर अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बने । ०७० मा गोरखा–१ बाट निर्वाचित उनी ०७४ मा गोरखा–२ बाटै निर्वाचित भए, तर ०७९ मा पार्टी एकता गरेर बाबुरामले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो क्षेत्र खाली गरिदिए । सोही क्षेत्रबाट निर्वाचित भएपछि प्रचण्डले देशको बागडोर सम्हाले । लेखनाथचाहिँ अहिलेसम्म संसदीय चुनावमा भाग नलिएका व्यक्ति हुन् ।

बाबुराम भट्टराई, हितराज पाण्डे, नारायणकाजी श्रेष्ठ र प्रचण्ड पालैपालो चुनाव उठेपछि लेखनाथले मौका पाएनन् । गोरखा माओवादीको आधारभूमि हो, तर प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस पनि कमजोर छैन । अहिले गोरखा–२ को चुनावी प्रतिस्पर्धाले देशको ध्यान खिचेको छ । 

बाबुराम र लेखनाथसँगै कांग्रेसका प्रकाशचन्द्र दवाडी यही क्षेत्रबाट उम्मेदवार छन् । उनी ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी र एमालेको गठबन्धनलाई हराएर निर्वाचित भएका थिए । उनी व्यवसायबाट समाजसेवा हुँदै राजनीतिमा छिरेका हुन् । सांसदमा निर्वाचित भएपछि राज्यबाट प्राप्त सबै सुविधा समाजसेवामा लगाएका उनी मतदातामाझ लोकप्रिय छन् ।

गोरखा २ ले यसअघि दुई जना प्रधानमन्त्री बनाइसकेको छ । माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई गोरखाबाट निर्वाचित भएपछि प्रधानमन्त्री बनेका हुन् ।

नेकपा एमालेले गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङलाई उम्मेदवार बनाएको छ । ‘चक्रे मिलन’ उपनामले चिनिने उनी मुद्दैमुद्दाले थिचिएका व्यक्ति हुन् । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पटक–पटक पक्राउ परेर छुटेका चक्रेलाई एमालेको कमजोर सङ्गठनका बाबजुद युवाहरूले समर्थन गर्ने अनुमान छ । प्रमुख दल अरूले गुरुङ समुदायबाट उम्मेदवार नबनाएका कारण चक्रेले जातीय भोट बोनस पाउने प्रक्षेपण छ । यद्यपि, पार्टीभित्रै उनलाई टिकट दिएको भन्दै आलोचना पनि कम छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार उठाएको छ । बुर्लाकोटी २०७९ को चुनावमा प्रचण्डविरुद्ध दोस्रो भएका थिए । सङ्गठनबिना चुनाव लडेका उनले १२ हजार ६ सय ३७ मत ल्याउँदा विजयी प्रचण्डले २६ हजार १ सय ३ मत पाएका थिए । प्रचण्ड कांग्रेससँग गठबन्धन र तत्कालीन नयाँ शक्तिसँग एकता गरेर चुनाव लडेका हुन् । 

अहिले गोरखा–२ मा रास्वपाले सङ्गठन विस्तार व्यापक बनाएको छ । तसर्थ, गोरखा २ को आम निर्वाचन अनुमानयोग्य छैन । यो थप रोचक हुने पक्का छ ।

यसअघिको नतिजा कस्तो छ ?

गोरखा २ ले यसअघि दुई जना प्रधानमन्त्री बनाइसकेको छ । माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई गोरखाबाट निर्वाचित भएपछि प्रधानमन्त्री बनेका हुन् । २०७० मा निर्वाचित हितराज पाण्डे पनि मन्त्री बनेका थिए । उनी ०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका हुन् । सोही क्षेत्रकी सांसद कमला पन्त पनि मन्त्री बनिन् । गोरखा–२ पञ्चायतको अन्त्यपछि भएका आम निर्वाचनमा कांग्रेसको पकड थियो । ०५१ र ०५६ को निर्वाचनमा यहाँबाट कमला पन्त निर्वाचित भइन् । त्यसयता माओवादीको एकछत्र राज छ । ०६४ सालमा माओवादीका बाबुराम भट्टराईले देशभरिमै सर्वाधिक मत ल्याए । उनले ४६ हजार २ सय ७२ अर्थात् करिब ८५ प्रतिशत मत ल्याएर विजय हासिल गरेका थिए ।

२०७० सालमा बाबुराम १ नम्बर क्षेत्रमा गएपछि हितराज पाण्डे उम्मेदवार बने, तर माओवादीको रजगज सुस्तायो । छ वर्षको अन्तरालमा यहाँ माओवादीले २६ हजार मत गुमायो । पाण्डेले २० हजार ७ सय ६१ मत मात्रै पाएका थिए । ०७२ मा माओवादीबाट बाबुराम अलग्गिएपछि गोरखामा माओवादीको विरासत गुम्न थाल्यो । ०७४ मा उनै बाबुराम २ नम्बर क्षेत्रमा नयाँ शक्तिबाट उम्मेदवार भए । तर, कांग्रेससँग मिल्दा पनि उनले ३२ हजार मत कटाउन सकेनन् । ३१ हजार ८ सय ७ मत ल्याएर विजयी हुँदा माओवादीका नारायणकाजी श्रेष्ठ निकटतम प्रतिस्पर्धी बने । श्रेष्ठले २४ हजार ९ सय ३३ मत मात्रै पाए । ०७९ मा माओवादी झनै खुम्चियो । कांग्रेस, माओवादी र नयाँ शक्ति मिल्दा पनि प्रचण्डले २६ हजार मत कटाउन सकेनन् ।

माओवादी जसरी गोरखामा उदायो, उसले आफ्नो विरासत जोगाइराख्न सकेन । अहिले पुरानो माओवादी नाम भएको पार्टी पनि छैन, पुराना मतदाता पनि उसले जोगाउन सकेको छैन । रास्वपा फैलँदो अवस्थामा छ । कांग्रेस आफ्नै मत जोगाउँदा पनि प्रतिस्पर्धामा रहन्छ । एमाले कमजोर सङ्गठन भए पनि चर्चित अनुहार उभ्याएर जित्नेमा ढुक्क छ । सबैलाई जुधाएर बाबुराम भट्टराई सांसद बन्ने दाउमा छन् । त्यसैले गोरखा २ को निर्वाचन सर्वाधिक चासोको केन्द्रमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप